Subscribe Us

नेकपामा कसले पिउला ‘कालकूट’ विष ?

मन्थनपछि निस्किन सक्ने संजीवनी अमृत लिन प्रचण्डका अनेक चलखेल 
 गौतम जबजमा उभिएपछि नेपालको प्रयोग गर्दै सचिवालयमा बहुमत जुटाउने कसरतमा प्रचण्ड

  • विभागीय जिम्मेवारी टुंगो लगाउने बेलामा नेपाललाई प्रचण्डले ‘स्कुल विभाग’मा दाबी गरे आफ्नो सहमति हुने ‘ललिपप’ खुवाए
  • संगठन र स्कुल विभागमा पूर्वमाओवादीले छिर्कनी हानेपछि गौतम ओलीकै सहमतिका आधारमा संगठन विभाग प्रमूख बन्ने रणनीतिमा  


काठमाडौं । एकीकरणको अन्तिम विन्दुमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि सैद्धान्तिक, वैचारिक र सांगठनिक जिम्मेवारी बाँडफाँटमा किचलो देखिन थालेको छ । त्यतिमात्र होइन, दुई केन्द्र रहेको बालुवाटार र खुमलटारबीचको टकराव सतहमा पनि देखा पर्न थालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरबाट फर्किनु अघिल्लो दिन आइतबार त्यहाँभित्रको किचलो सतहमा देखा परेको हो ।

ओलीनिकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबीचमा दिएका विभिन्न बयानबाजीका विषयमा टिप्पणी गरेपछि त्यसको कटाक्ष गर्दै प्रचण्डनिकट रहेका रामप्रसाद सापकोटाले थापालाई पार्टी छाड्न सुझाव दिएका थिए ।

यी दुईको भनाभन एकातिर चलिरहेका बेला प्रचण्डले खडा गरेको सचिवालयको एउटा क्याम्पमा पनि विभाजन आएको छ । प्रचण्ड क्याम्पमा पूर्वएमालेका तर्फबाट बामदेव गौतमको सहयोग थियो । अहिले गौतम पनि प्रचण्डविरुद्धको खेमामा उभिएपछि अब वैचारिक र सांगठनिक मन्थन सुरु भएको हो ।

‘एकीकरण अन्तिम विन्दुमा पुग्न लाग्दा तत्कालिन माओवादीका नेताले जिम्मेवारीका विषयमा किचलो गरेपछि तत्कालिन एमालेको साख नै नरहने अवस्था आउन लाग्यो, यसकारण माओवादीले एमाले निल्यो भन्ने सन्देश जान नदिन नेताहरूको खेमामा केही परिवर्तन देखिएको हो’, नेकपा उच्च स्रोतले भन्यो,‘यसमा जिम्मेवारी बाँडफाँटमा पनि प्रचण्डले मनोपोली प्रस्ताव गर्न थाले यसैले प्रतिरोधका लागि पनि एक ठाउँमा उभिनुपर्ने अवस्था आयो ।’

गौतमले प्रचण्ड खेमालाई परित्याग गर्दै ओली क्याम्पबाट संगठन विभाग प्रमूखमा दाबी गर्दैछन् । त्यसो त गौतमले जिम्मेवारी टुंगा लाग्नु अघि नै आफू नै संगठन विभाग प्रमूख हुने बताएका थिए । तर प्रचण्डले गौतमको विकल्पमा रामबहादुर थापा बादल अथवा नारायणकाजी श्रेष्ठलाई संगठन विभाग र स्कुल विभागमा प्रस्ताव गरेपछि गौतम छाँगाबाट खसेका थिए ।

नेकपामा यी दुई विभाग प्रमूख मानिन्छन् जुन तत्कालिन एमालेको भागमा परेको थियो । गौतमलाई पन्छाउँदै प्रचण्डले यी विभागमा आफ्नो बर्चश्व कायम राख्नका लागि अर्का बरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन थालेका छन् । यो मन्थनमा निस्कने कालकूट विष फ्याँकेर संजीवनी अमृत पिउने तयारीमा जुटेका प्रचण्डले नेपाललाई विदेश विभागको साटो स्कुल विभागमा समर्थन हुने आश्वासन समेत दिएको बताइएको छ ।

ओली फर्कनु एक दिन अघि खुमलटारमा नेपालसँग लामो वार्ता गरी प्रचण्डले आगामी महाधिवेशनबाट अध्यक्ष अथवा ओलीको पालो सकिनासाथ आफूले पाउने प्रधानमन्त्री पदको ललिपप पनि नेपालसामु राखेको खुमलटार स्रोतले जनाएको छ ।

प्रचण्डलाई एकल अध्यक्षको प्रस्ताव गरेका गौतम पछिल्लो पटक जनताको बहुदलीय जनवादका पक्षमा उभिएका छन् । गौतमले प्रचण्डको जनताको जनवादलाई सुरुका दिनमा सहमति गर्दै सहयोग गरे पनि संगठन विभाग प्रमूख र सांसद बनाउने विषयमा प्रचण्डबाट धोका पाएका थिए ।

युद्धकालदेखि नै सहयोगी बनेका गौतमलाई ‘जोकर’ जस्तो बनाउने रणनीति थाहा पाएपछि ओली खेमामा उभिएका हुन् । उनलाई ओलीले संगठन विभाग प्रमूख र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल विभाग प्रस्ताव गर्ने सम्भावना रहेको छ ।

ओली सोमबार सिंगापुरबाट फर्किएका छन् । केही दिनमा नै सचिवालयको बैठकमा ओलीले उक्त प्रस्ताव लैजाने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । ‘अन्तिम अवस्थामा आएपछि प्रचण्डबाट धोका पाइयो’ भन्दै गौतमले आफूनिकटका कतिपय नेतासँग गुनासो पनि गरेका थिए । स्रोतले भन्यो,‘त्यसबेला विभिन्न पटक प्रचण्डले तत्कालिन एमालेका नेतालाई राष्ट्रपति पद बाँडी रामराजाप्रसाद सिंह बनाएको स्मरण पनि गर्नुभयो ।’

यता प्रचण्डले ओलीविरुद्धको मोर्चाबन्दीका लागि नेता झलनाथ खनाललाई पनि भड्काएको तत्कालिन एमालेवृत्तमा चर्चा छ । खनाललाई तत्कालिन नौलो जनवाद र अहिलेको जनताको जनवादमा समान धारणा रहेको भन्दै ओलीविरुद्धको मोर्चामा उभिनका लागि प्रचण्डले फकाएको उनीहरूको अनुमान छ । खनाल निरन्तर ओलीविरुद्धको खेमामै रहेका कारण पनि उनलाई फकाउन सजिलो हुने प्रचण्डले निकटवर्तीसँग चर्चा गर्दै आएको खुमलटारमा हल्ला छ ।

नेकपाभित्र भाजपा पस्यो
त्यसो त नेकपाको राजनीतिक ताकतलाई विभाजित गर्नका लागि भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टी छिरेको कतिपयको बुझाई पनि छ । युएईमा पत्नी उपचारका शिलशीलामा पुगेका बेला प्रचण्डसँग भारतीय अधिकारीले भेट गरी एकताका बेला भएको सहमतिको विषयअनुसार प्रधानमन्त्रीका लागि लड्न सुझाव दिएको बताइएको छ ।

प्रचण्ड आफैंले पनि कतिपय सार्वजनिक कार्यक्रममा नेकपाको एकता भत्काउनका लागि विदेशी शक्तिले आफूलाई प्रधानमन्त्री पदमा दाबेदारी गर्नका लागि सुझाव दिएको खुलासा गरेका थिए । यसको प्रमाणका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा नयाँ दिल्लीमा प्रधानमन्त्री ओली रहेका बेला यता प्रचण्डले आलोपालो सरकार चलाउने विषयलाई चर्चामा ल्याएका थिए ।

Post a Comment

0 Comments