नेपाल प्रहरीको नेतृत्वमा सर्वेन्द्र खनाल आएपछि के भयो, के भएन ? भनेर लेखाजोखा हुन थालेको छ । प्रहरीभित्र एउटा ‘सर्वेन्द्र समय’ उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् । खनालले  नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए पनि आन्तरिक परिवर्तनका लागि संगठनभित्र भने ‘सर्वेन्द्र समय’का रूपमा भने चर्चा पाउन थालेको छ । 
खनाललाई प्रहरी संगठनभित्र ‘रोल मोडल’का रूपमा चित्रण गर्न थालिएको छ । आईजीपी खनाललाई विगतदेखि नै चासो र चर्चामा रहेको दाबी गर्नेहरूले सर्वेन्द्रले नामले होइन, कामले चर्चा र चासो पाएको दबी गर्नेहरुको पनि कमि छैन ।   
प्रहरीकोे शुद्धीकरण पनि खनालबाट सुरु गरेको दाबी गर्नेहरू खनाललाई पछिल्लोे समय आमजनता र प्रहरीभित्रै केही सुधारकका रूपमा चर्चा गर्न थालिएको बताउँछन् । कुनै समय गलत धन्दामा लागेका एक डीएसपीलाई नै एसएसपी खनालले फुुली थुतेर ‘डिमोसन’ गरी इन्स्पेक्टर बनाउनुभएको थियो । डिमोसनमा परेका अधिकारीले राजीनामा दिएको घटना पनि नेपाल प्रहरीभित्र चर्चा पाइरहने घटना हो । 
अपराध महाशाखामा होस् वा तराईका विभिन्न जिल्ला तथा अञ्चलमा प्रमुखको जिम्मेवारी सम्हाल्दा खनालले संगठित रूपमा हुने अपराध रोक्न चालेको कदमका कारण पनि अहिले आईजीपी खनाल चर्चाको केन्द्रमा रहनुको  कारण मानिने  गरेको छ ।  
तराईका जिल्लामा जालोका रूपमा फैलिएका बालविवाह र दाइजो प्रथा रोक्न पनि खनालले महत्त्वपूर्ण भूूमिका खेल्नुभएको थियो । पहिलो संविधानसभाको चुनाव २०६४ तथा गत वर्ष काठमाडौंमा भएको सार्क सम्मेलन सफल पार्न सुरक्षाको जिम्मेवारी पाउनुभएका खनाललाई त्यसबेला निकै प्रशंसा योग्य कार्य थिए । 
नेपाल प्रहरीको तर्फबाट विदेशमा भएका तालिममा पनि सर्वोत्कृष्ट हुने गरेको  इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृत सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषितसमेत हुनुुभएको थियो । 
राजधानीका कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैँटेको इन्काउन्टरदेखि फुटबलको म्याच फिक्सिङमा राष्ट्रिय खेलाडी पक्राउ, इन्धन ठगी प्रकरणमा सहसचिव पक्राउ गर्ने ‘हिम्मत’ नै  खनालको मूल्यांकन गर्ने विषयका रूपमा चर्चा गरिन्छ । 
केही समय अघि आईजीपी खनालले ३०–३२ वर्ष प्रहरी सेवा गरेर निवृत्त भएका आईजीपीदेखि अधिकृतसम्मलाई बोलाएर आफ्नो कार्यकाल मूल्यांकनका गरिदिन आग्रह गर्नु भएको बताइन्छ । उत्त भेटका क्रममा खनाल नेतृत्वको प्रहरीको काम कारवाहीबारे उनीहरूले मुक्तकण्ठले प्रशंसासमेत गरेका थिए । नेपाल पूर्वप्रहरी संगठनका संरक्षकदेखि पदाधिकारीहरूले आईजीपी खनालको कार्यकाल ‘ऐतिहासिक र अतुलनीय’ भएको निश्कर्ष अहिले नेपाल प्रहरीको संगठन भित्र चर्चामा रहेको छ ।  
नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको जनतासँग प्रत्यक्ष दैनिक जोडिने सरकारी कार्यालय हो । जनताको सुखदुःखको साथी, आपतविपत होस् वा खुसियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति हुन्छ । प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । 
प्रहरीको अठोट नै अपराध नियन्त्रण गर्नु हो । संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यका रूपमा पूरा गर्नु र राज्यले दिएको अधिकार नै प्रहरीको शक्ति हो ।
प्रहरी–समुदाय साझेदारी 
खनाल आईजीपी भएपछिको नेपाल प्रहरीको सबैभन्दा राम्रो काम भनेको समुदाय–प्रहरी साझेदारी भएको मानिन्छ ।  यो कार्यक्रमले प्रहरीसँग आमजनतालाई नजिक ल्याउन महत्त्वपूर्ण मद्दत मिलेको छ । जब प्रहरी र नागरिकबीच सकारात्मक सम्बन्ध कामय हुन्छ, त्यसको परिणाम पक्कै पनि सकारात्मक आउँछ । अहिले धेरैजसो स्थानमा समुदाय प्रहरी साझेदारी कार्यक्रमले जनता र प्रहरीबीचको सम्बन्ध सुधारउन्मुख हुँदै गएको छ । 
२०७५ कार्तिक ११ गते सुरु भएको कार्यक्रमको नौ  महिना बितिसकेको छ । यस अवधिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गर्न ७५३ वटै स्थानीय तहसँग सहमति भएको छ भने त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस, नेपाल स्काउटसँग समेत संस्थागत समझदारीपत्रमा हस्ताक्षर भएर अघि बढिसकेको छ । विगत एक वर्षबाट भने प्रहरीले समुदायसँग साझेदारी गरेर अघि बढ्ने जनउपयोगी कार्यक्रम सार्वजनिक गर्‍यो । व्यवहारमा कार्यान्वयन नै गर्‍यो । 
जब हरेक सवालमा समुदायको साथ प्राप्त हुन्छ, हरेक विषयको सफलतासँग जोडिन्छ नै । समुदायले नै हो समाज सुधार्ने । समुदायले नै हो असल र खराब छुट्याउने । त्यसैले प्रहरीले समुदायसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनायो । सोही योजनाअनुसार देशभर समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरियो । नेपाल प्रहरीले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग बढ्न थालेको छ । विश्वका धेरै मुलुकमा यो कार्यक्रमको सफलता पश्चात नेपालमा सुरु गरिएको हो । 
सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, समुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट समेत अपराध नियन्त्रण र रोकथाम गर्ने प्रहरीको मूलभूत दायित्व पनि हो । यसबीचमा सामञ्जस्य कायम गर्दै नेपाल प्रहरी र स्थानीय तहबीचमा समझदारी कायम गरी साझा संयन्त्रको माध्यमबाट सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय–प्रहरी साझेदारी धारणा अवलम्बन गरिएको नेपाल प्रहरीले दाबी गर्दै आएको छ । 
समुदाय–प्रहरी साझेदारी अभियान कार्यान्वयन गर्न देशभर स्थानीय स्तरमा समितिहरू बनेका छन् । देशभर यस्ता समितिको संख्या २१ हजार ७५० समिति बन्नु महत्त्वपूर्ण उपलब्धि मानिएको छ । समितिहरू बन्ने काम मात्र भएन, यी समितिहरू चलायमानसमेत रहेको प्रहरीको भनाई रहँदै आएको छ । यसको फलस्वरूप साझेदारी केन्द्रित दुई हजार ३२२ अभिमुखीकरण कार्यक्रम  समेत सञ्चालन गरिसकेको छ । 
त्यस्तै, समुदाय–प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण कार्यक्रम, विषय केन्द्रित अनुशिक्षण तालिम, अवधारणा केन्द्रित प्रशिक्षणसमेत सम्पन्न भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट बालबालिकादेखि वृद्धवृद्धासम्म लक्षित रहेको छ । सडक सफा गर्नेदेखि अस्पतालको फोहोर उठाउने काम पनि यो अभियानमा समेटिएका विषय हुन । 
प्रहरीसँग एक दिन 
नेपाल प्रहरीको अर्को महत्त्वपूर्ण कार्यक्रम भनेको प्रहरीसँग एक दिन हो । सानै उमेरदेखि विद्यार्थीहरूलाई प्रहरीसँग परिचित गराउँदै नागरिक सुरक्षामा प्रहरी सेवाको महत्त्वको सम्बन्धमा अवगत गराउने अभियान हो यो । प्रहरीको अवलोकन गराउने तथा प्रहरी सेवाप्रति सकारात्मक धाराणाको विकास गर्न यो कार्यक्रम सफल रहेको नेपाल प्रहरीको दावी रहँदै आएको छ ।  प्रहरीसँग एक दिन कार्यक्रमअन्तर्गत हालसम्म ६३४ कार्यक्रम सञ्चालन भइसेका छन् । 
प्रहरीले अभद्र व्यवहारविरुद्धको अभियान पनि सञ्चालन गर्‍यो । यो अभियानअन्तर्गत विद्यालय र क्याम्पसहरूमा नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी हुने अभद्र व्यवहार न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्य रहेको थियो । एक हजार ६३८ कार्यक्रम भएको यो अभियानले विद्यालय तथा क्याम्पसमा सञ्चालन गरिसकेको छ । 
हिंसाविरुद्ध कठोर
पछिल्लो समय नेपाल प्रहरी मुलुकमा भइरहेका हिंसात्मक क्रियाकलापका विरुद्ध कठोर बन्दै गएको छ । हिंसात्मक गतिविधिमा संलग्न विप्लव समूहविरुद्ध प्रहरीले विभिन्न कठोर कदम चालेको र जसका कारण एक हजार ५१४ जनालाई पक्राउ गरिसकेको जानकारी दिएको छ । पक्राउ पर्नेमा पोलिटव्युरोदेखि केन्द्रीय सदस्यहरू समेत रहेका छन् । 
विप्लव समूहसँग रहेका केही स्वचालित हतियारहरू बरामद गरिएको दाबी प्रहरीको छ । यसरी नै अन्य हिंसात्मक गतिविधि गर्दै आएका व्यक्ति र समूहलाई नियन्त्रणमा लिने र हिंसात्मक गतिविधि निस्तेज पार्ने कामलाई नेपाल प्रहरीले जारी राखेको दाबी गर्ने गरेको छ ।
नीतिगत स्पष्टता 
सर्वेन्द्र खनाल आईजीपी भएर आएपछि  नीतिगत अस्पष्टतालाई केही हदसम्म स्पष्ट हुँदै गएको बताइन्छ । प्रहरीलाई संघीय संरचनामा व्यवस्थित रूपमा परिचालन गर्ने बाटो  जस्ले खोलेको छ । मुलुकको बदलिँदो संरचनाअन्तर्गत आफूलाई समाहित गर्ने क्रममा प्रहरीसँग सम्बन्धित नीतिगत सवालमा एकरूपता ल्याउन पनि प्रहरी केही हदसम्म सफल भएको छ । 
प्रहरीले गर्ने विशेष अनुसन्धानका लागि चारवटा व्युरो विगतमा थिए भने दुईवटा व्युरो थप्ने काम भएको छ । यसअघि आतंकवादसम्बन्धी हेर्ने विशेष व्युरो, संगठित तथा अन्तर्देशीय अपराधसम्बन्धी हेर्ने केन्द्रीय अनुसन्धान व्युरो, लागुऔषधसम्बन्धी हेर्ने लागुऔषध नियन्त्रण व्युरो, महानगरीय क्षेत्रको अपराध हेर्ने महानगरीय अपराध महाशाखा थिए । 
पछिल्लो समय भयावह हुँदै गरेको साइबर अपराध हेर्ने साइबर अपराध व्युरोको स्थापना भएको छ । त्यस्तै, मानव बेचविखनसम्बन्धी अपराध अनुसन्धान र नियन्त्रण गर्न मानव बेचविखन अनुसन्धान व्युरोको स्थापना भएको छ । 
सार्कमा पहिलो 
प्रहरी संगठनमा अझै पनि साधन स्रोतको अभावका कारण उल्लेख्य उपलब्धी हुन सकेको छैन्  । एक जना प्रहरीमाथि ४३५ जना नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति छ, जबकि संयुक्त राष्ट्रसंघले एक जना प्रहरी बराबर ३३३ जनाको मापदण्ड हालसम्म कार्यान्वयन हुनसकेको छैन ।
यस्तो अवस्थामा पनि रुल अफ ल इन्डेक्स, २०१९ (वल्र्ड जस्टिस प्रोजेक्ट)का अनुसार नेपाल प्रहरी सार्क मुलुकहरूमा पहिलो स्थान हासिल गर्न सफल भएको छ भने विश्व सूचकमा ५९ स्थानमा छ । त्यसो त ग्लोबल पिस इन्डेक्स, २०१९ अनुसार नेपालले विगतको तुलनामा थप उचाइ हासिल गरेको छ । विश्व सूचकांकमा नेपाल ७६औँ स्थानमा छ । गत साल ८८ स्थानमा थियो । पर्याप्त जनशक्ति, स्रोत साधनको अभावका बीचमा पनि प्रहरीले आफूलाई अब्बल सावित गर्दै आएको छ ।
स्वीकृत दरबन्दीः जनशक्ति अभाव 
सरकारले केही समयअघि स्वीकृत भएको दरबन्दी पनि पाउन सकेको छैन । नेपाल प्रहरीमा ७५ हजार ९२७ स्वीकृत दरबन्दी हो तर अहिले ६४ हजार ३२३ कार्यरत छन् । प्रहरीले केही समयअघि २२ हजार प्रहरी अभाव रहेको बताएको थियो तर सरकारले सात हजार स्वीकृत गरेको भए पनि अहिले तीन हजार १०० मात्रै भर्ना अनुमति दिएको छ । 
बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्टता 
बेरुजु फछ्र्यौटमा पनि नेपाल प्रहरीले सर्वोत्कृष्टता हासिल गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ सम्म कायम कुल बेरुजुको ८५.१४ प्रतिशत फछ्र्यौट गरी पुरस्कृत हुनुले प्रहरीमा पारदर्शिता र व्यवस्थापकीय उत्कृष्टता बढेको स्पष्ट देखिएको छ ।
हस्तक्षेप अस्वीकार 
स्वभावले आईजीपी खनाल स्पष्ट वक्ता मानिन्छन् । संगठन, देश र जनताको हितका विषयमा जसका सामु पनि आफ्ना धारणा प्रष्ट राख्नुहुन्छ । हुँदै नहुने कुरामा कसैको कुरा नसुन्ने गरेको आरोप लाग्ने गरेको छ । आफ्नो पद वहालीसँगै रोडम्याप सार्वजनिक मात्र होइन सोही रोडम्यापलाई निरन्तर ‘फलो’ गरेर अघि बढेका कारण आन्तरिक रुपमा सुदृढ हुँदै गएको बताइन्छ ।  
निर्मला पन्त हत्या प्रकरणः घाँटीमा काँडा  
कञ्चनपुर भीमदत्त नगरपालिकामा गत वर्ष निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या बलात्कारको मुद्दामा करिब ९० प्रतिशत अनुसन्धान सफल बनाउँदै आएको नेपाल प्रहरीलाई भने यो घट्ना घाँटीको काँडाझैँ अड्कियो ।  प्रकरणले केही नगरेजस्तो पनि बनाइदिएको छ । प्रहरीको अनुसन्धानले भन्दा पनि सडकबाट अपराधी करार गर्ने प्रवृत्तिले प्रहरी यो घटनामा अलमलिएको छ । सम्पूर्ण प्रमाणका साथमा खनालकोे करिब सात महिने कार्यकालमा निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्‍याउने अपेक्षा गरिएको थियो  । 
अहिलेसम्मकै आईजीपीमा उनले मात्र राजनीतिक हस्तक्षेपको सिकार हुनुपरेको छैन । हरेक निर्णयमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवको परामर्शमा खनाल नै हावी हुुने गरेको बताइन्छ ।  यसका कारण आफ्नो संगठनको हितमा खनालले अतुलनीय काम गर्ने मौका पाएको दाबी गरिदैछ । विगतमा जस्तो एउटा मोटर किन्नका लागि पनि गृहमन्त्री र अन्य शक्ति केन्द्रमा भेटी बुझाउनुपर्ने अवस्था नआएको र प्रहरीको भौतिक संरचना निर्माणमा होस् वा सवारी साधन खरिदमा निर्बाध अघि बढ्ने अवसर खनाललाई प्राप्त रहेको बताइन्छ । (साभार : लोकसम्बाद )

Post a Comment

 
Top