Subscribe Us

मुलुकको राजनीति विकासमा यमीको महत्वपूर्ण योगदान : पूर्वप्रधानमन्त्री डा भट्टराई


काठमाडौँ, २ भदौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीति विकासमा स्वर्गीय धर्मरत्न यमीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

राजनीतिज्ञ, लेखक एवं समाजसेवी स्व धर्मरत्न यमीको १०४ औँ स्मृति समारोहमा आज यहाँ धर्म हिरा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले स्वर्गीय यमी नेपालको इतिहासको विशिष्ट व्यक्ति भएको बताउनुभयो ।

“राणा शासनको विरुद्ध खरो रुपमा उत्रिनुभएका यमी देशभक्ति नेता हुनुहुन्थ्यो,”–उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री डा भट्टराईले स्व यमी एक जातीकोमात्र नभएर सिङ्गो राष्ट्र भएको बताउनुभयो ।

लोकतन्त्रको सबालमा काँग्रेस, समानताको अधिकारका लागि कम्युनिष्ट र राष्ट्रियताका लागि राजसंस्थासँग नजिक रहेर काम गर्नुभएका यमी नेपाली काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको संस्थापक नेतासमेत हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राडा उषा ठाकुरले स्वर्गीय यमी साहित्य साधक, दार्शनिक, भाषाविद् र संस्कृतिविद् भएको उल्लेख गर्नुभयो । “स्व यमी सच्च राष्ट्रभक्त र असल प्रजातन्त्रवादी हुनुहुन्थ्यो,”–उहाँले भन्नुभयो ।

उदारवादी साहित्यकारका रुपमा परिचित यमी असमानता र बाहुनवादको विरोधी भएको उहाँको भनाई थियो ।

पूर्वमन्त्री डा केशवमान शाक्यले स्वर्गीय यमी आँटिलो व्यक्ति र स्पष्ट वक्ता भएको बताउँदै उहाँको जीवनबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

विस १९७२ मा काठमाडौँमा जन्मनुभएका यमीको एक विभिन्न भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित भएको प्रतिष्ठानका अध्यक्ष तिमीला यमी थापाले जानकारी दिनुभयो । यमीको विस २०३२ सालमा निधन भएको थियो ।


Post a Comment

0 Comments