Subscribe Us

संस्कृतिको संरक्षणमा सरकारले ध्यान दिनुपर्छ : नेत्री कोइराला


काठमाडौँ, १५ भदौ । हिन्दू नारीहरुको महान् पर्व तीजको उपलक्ष्यमा ‘तीज चित्रकला प्रदर्शन–२०७६’ सुरु भएको छ ।

मिथिला येँ आर्टको आयोजनामा हरितालिका तीजको उपलक्ष्यमा आज  तीसजना महिला चित्रकलाद्धारा कोरीएको तस्बिर प्रदर्शन गरिएको हो । प्रदर्शनको नेपाली काङ्ग्रेसकी नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नेत्री कोइरालाले देशको पहिचान संस्कृति भएकाले संस्कृतिको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

“संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सकेमात्र देशको विकास हुन्छ,”–उहाँले भन्नुभयो । बुद्ध जन्मेको देश नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरे धार्मिक पर्यटनको विकास हुने उहाँको भनाई थियो ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्षसमेत रहनुभएकी नेत्री कोइरालाले फाउण्डेशनले संस्कृति विभाग निर्माण गरेर नेपालको कलालाई विदेशमा चिनाउने काम गरेको उल्लेख गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं चित्रकला विभाग प्रमुख सुष्माराज राजभण्डारीले कलाको विकास भएमात्र मुलुकको विकास हुने भन्दै सरकारले कलाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कलाको विकास गर्नु आवश्यक रहेको उहाँको भनाई थियो । मिथिला येँ आर्टका संरक्षक ज्ञानेन्द्रमान अमात्यले महिला कलाकारको कलालाई चित्रमार्फत प्रस्तुत गरिएको बताउनुभयो ।

१४ वर्ष अगाडि स्थापना भएको मिथिला येँ आर्टमा हाल स्वदेश तथा विदेशका २५० भन्दा बढी प्रदर्शन गरिसकिएको आर्टका निर्देशक श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

आगामी वर्षदेखि हरेक वर्ष तीज चित्रकला प्रदर्शन आयोजना गरिने निर्देशक यादवको भनाई छ ।

प्रदर्शनमा नेपालका चर्चित महिला कलाकार चन्दा श्रेष्ठ, डा सिमा शाह, सुष्माराज राजभण्डारी, सुनिता राणा, जया शर्मा, सुषमा श्रेष्ठ, कविता प्रधान, अनिता खनाललगायत तीस कलाकारको कला प्रदर्शन गरिएको छ । प्रदर्शन चारदिनसम्म चल्नेछ ।

Post a Comment

0 Comments