Subscribe Us

नेकपा ‘इपिसेन्टर’ प्रचण्ड


  • पार्टीको विदेश नीति, सम्बन्ध र सम्पर्कसहित आन्तरिक सहमतिको वातावरणमा पनि प्रचण्डको सक्रियता हुनुपर्ने सहमति
  • सरकारका नीति, कुटनीतिक पहल र गतिविधिमा ओलीले एक्लौटी निर्णय लिन सक्नेमा प्रचण्ड सहमत तर विकासका मोडलमा समन्वय हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको इपिसेन्टर (केन्द्रविन्दु) पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीको नेतृत्वको जिम्मा प्रचण्डले लिएका छन् । सरकार सञ्चालनको जिम्मा भने ओलीलाई नै छाडेर ‘आलोपालो’को विषयलाई नउचाल्ने सहमति पनि भएको छ ।

पार्टीका अन्य नेताले अध्यक्ष वा प्रधानमन्त्रीको सपना देखिरहेका बेला ओली–प्रचण्डबीच यस्तो अर्को भद्र सहमति भएको छ । ‘सहमति लिखित छैन तर मौखिक रूपमाचाहिँ पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने कुरामा सहमत हुनुभयो’, बालुवाटार स्रोतले भन्यो,‘यो सहमतिअनुसार सरकारका काममा प्रचण्डको हस्तक्षेप हुँदैन, सहयोग रहन्छ । ओलीले पार्टीका विविध जिम्मेवारी देखिका कार्यक्रममा प्रचण्डलाई सहयोग गर्नेछन् ।’
सोमबार मात्रै धुमबहाराहीमा भएको पार्टीको कार्यक्रममा पनि प्रचण्ड सक्रिय थिए । उनले यस्तो सहमतिको संकेत गर्दै पाँच बर्षसम्म ओली सरकारलाई बलियो बनाउनुपर्ने धारणा पनि राखेका थिए ।

२० भदौमा उपचार सकी सिंगापुरबाट ओली काठमाडौं फर्किएका थिए । चार दिनमा हरेक जसो दिन ओली–प्रचण्डको भेट भइरहेको छ । ५ भदौमा सिंगापुर जानुपूर्व बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको अनुपस्थितिमा पनि एकीकरणका बाँकी काम सक्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

सोहीअनुसार नै प्रचण्ड पार्टीमा सक्रिय हुन थालेका छन् । पार्टीको विदेश नीति, सम्बन्ध र सम्पर्कसहित आन्तरिक सहमतिको वातावरणमा पनि प्रचण्डको सक्रियता हुनुपर्ने सहमति भएको उच्च स्रोतले जनाएको छ ।

१५ महिनासम्म दुवै अध्यक्षको अध्यक्षतामा हुँदै आएको निर्णयको क्रमभंग तोड्दै प्रचण्डले ९ भदौमा एकल अध्यक्षतामा पार्टीको बैठक चलाएका थिए । ‘मोटामोटी सहमति त्यहि बेला भएको थियो । पार्टीका निर्णय र सरकारका काममा समन्वय हुन्छन् । तर, जिम्मेवारी भनेअनुसार नै कायम रहनेछ’, उच्च स्रोतले भन्यो ।

माधव नेपाल पेण्डुलम 
पार्टीका विभिन्न विभागमा ओली हावी भएको भन्ने विवाद सतहमा देखिएको थियो । तर प्रचण्डसँगको सहमतिका आधारमा नै आफ्नो अन्तिम अध्यक्षतामा भनेका नेतालाई जिम्मेवारी दिनुपर्ने ओलीको माग पुरा गरिएको थियो ।
सो क्रममा नेता माधवकुमार नेपालसँग ओलीको भनाभन परेको थियो । तर, स्रोतहरूले दिएको जानकारी अनुसार ओली–प्रचण्डको सहकार्यले नेपाललाई पेण्डुलम बनाएको छ ।

नेपाल अध्यक्ष अथवा प्रधानमन्त्री मध्ये एक पदको अपेक्षामा थिए । त्यहि अपेक्षाअनुसार दुई अध्यक्षबीच खेल्न खोज्दा पार्टी एकीकरणका बेला दिइएको बरिष्ठताको मान्यता नै नेपालसँग खोसियो । जसको तुस ओली सिंगापुर जानेबेला सचिवालय बैठकमा नेपालले पोखेका थिए ।

‘ओलीले प्रधानमन्त्री छाडे अध्यक्ष वा प्रधानमन्त्रीको लोभमा नेता नेपाल रहेका थिए । तर, उनले अब कुनै मौका नपाउने भए । बरु, झलनाथ खनाललाई न्याय गरिएको छ’, ओलीनिकट स्रोतले भन्यो ।

पार्टीको सबै जिम्मा प्रचण्डलाई दिएपछि त्यहाँ उत्तराधिकारीका रूपमा नेता बामदेव गौतमलाई उपाध्यक्ष र विष्णु पौडेललाई महासचिवको जिम्मा दिन ओली सफल भएको चर्चा चल्न थालेको छ । सरकार र पार्टीका कार्यक्रमविरुद्ध बोल्ने भीम रावललगायतलाई कहिल्यै उठ्न नदिने गरी नै रणनीतिक तयारी गरिएको छ ।

त्यसो त पार्टीको जिम्मेवारी प्रचण्डले नै लिएको कतिपय नेताका अभिव्यक्तिले पनि प्रस्ट पारेको छ । तत्कालिन एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अबको अध्यक्षता र पार्टीको नेतृत्व प्रचण्डले नै निरन्तर गरिरहने सार्वजनिक गरेका थिए ।
ओली प्रचण्डबीच तेस्रो भेट आइतबार साँझ भएको थियो । स्रोतका अनुसार झन्डै २ घण्टा भएको भेटमा सचिवालय र स्थायी कमिटी बैठक बोलाउनेबारेमा छलफल भएको थियो । सोही क्रममा सरकारका गतिविधि, चुनौति र पार्टीको कार्यक्रमका विषयमा परामर्श भएको थियो ।

सोमबा बिहान अध्यक्षद्वयबीच चौथो भेट भयो । यो भेटमा कुटनीतिक तबरबाट भएका भ्रमण र त्यसले ल्याउने उपलव्धिका विषयमा सरकारको कामबारे ओलीले र पार्टीका बाँकी काम टुंगो लगाउने विधिबारे प्रचण्डले परामर्श गरेका थिए ।

नेकपामा आयोग, प्रवास, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका कमिटीको एकीकरण  टुँगिन बाँकी छ । केन्द्रीय विभागहरुको प्रमुख– उपप्रमुख तोके पनि विभागले पूर्णता भने पाउन सकेका छैनन् । यी सबै कामको नेतृत्व र निर्णय प्रचण्डले गर्नेछन् ।

Post a Comment

0 Comments