Subscribe Us

कोटेश्वर क्षेत्रका यातायात मजदूरलाई पोशाक वितरण


काठमाडौँ, २६ भदौ । कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ ।

अखिल नेपाल यातायात मजदूर सङ्घ कोटेश्वरले आज एक कार्यक्रमको आयोजना गरी यात्रुमैत्री वातावरण निर्माणका लागि कोटेश्वर क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताउनुभयो ।

“परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,”–उहाँले भन्नुभयो । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेबारी बढ्ने उहाँको भनाई थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोशाक र परिचयपत्रको शुरुवातसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्ने बताउनुभयो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले देशको राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यातायात मजदूरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

उपत्यकाको ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउन सरकारले उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती जडान गर्ने उहाँको भनाई थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“चाडवाडको समयमा यात्रुलाई गन्तव्यसम्म सुरक्षित स्थानसम्म लैजानको लागि पूर्वाधार निर्माणमा सरकार लाग्नुपर्छ,”–उहाँले भन्नुभयो । व्यवस्थित यातायात निर्माणका लागि महासङ्घ लागेको उहाँको भनाई थियो ।

अखिल नेपाल यातायात मजदूर सङ्घका केन्द्रीय अध्यक्ष सोम तामाङले सरकारले कोटेश्वर क्षेत्रमा हुने ट्राफिक जाम हटाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

मजदूर सङ्घले ट्राफिक प्रहरीको सहकार्यमा यसअघि नयाँ बसपार्क र  कलङ्की क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिसकेको छ ।


Post a Comment

0 Comments