Subscribe Us

समाजसेवामा प्रहरी : काभ्रेमा निशुल्क स्वास्थ्य शिविर (तस्बिरसहित)


काभ्रे, १० असोज । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा काभ्रे, नमोबुद्ध नगरपालिका ४ मेथिनकोटस्थित जनक माध्यामिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंज, जिल्ला प्रहरी कार्यालय काभ्रे र नमोबुद्ध नगरपालिकाको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।


उक्त अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख टंक प्रसाद शर्मा तिमल्सिनाले नेपाल प्रहरीसँगको सहकार्यमा संचालित निस्शुल्क स्वास्थ्य शिविरको प्रशंसा गर्नुभयो । जनमैत्री सेवाभावमा समर्पित नेपाल प्रहरीसँगको सहकार्यमा नमोबुद्ध नगरपालिका सदैव हातेमालो गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायव महानिरीक्षक डा मिनराज पाठकले स्वास्थ्य शिविर सम्बन्धी जानकारी दिँदै स्वास्थ्य सेवाजस्तो आधारभूत सेवाबाट कुनै पनि नागरिक टाढा नहुन भन्ने उद्धेश्य अनुरुप शिविर संचालन गरिएको बताउनुभयो । समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानिय तहसँग सहकार्य गर्दै अगाडि बढ्न नेपाल प्रहरी अस्पताल सदैव क्रियाशील रहेको उहाँले चर्चा गर्नुभयो ।


विभिन्न रोगसँग सम्बन्धित नेपाल प्रहरी अस्पतालका विशेषज्ञ तथा चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसुति, शल्य चिकित्सा, चर्म तथा यौनरोग, बालरोग, दन्तरोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, ड्रेसिङ, इसिजी लगायतका सेवा प्रदान गरिएको थियो ।

शिविरमा कुल ९ सय ६ जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । साथै सो अवसरमा डेंगु रोग सम्बन्धी नेपाल प्रहरी अस्पतालद्वारा जारी जानकारीमूलक पर्चा समेत वितरण गरिएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, मेथिनकोट अस्पतालका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधिहरु, स्थानिय स्वयंसेवक, समाजसेवी लगायत स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments