Subscribe Us

मान्छेकै तस्करी !


  • प्रविधिको प्रयोग गरी दलालहरूद्वारा मानव तस्करी, यातना र परिवारलाई दिएको पीडाको कथा भयावह छ 
  • मानब बेचबिखन नियन्त्रण व्युरो गठन भएपछि प्रहरीले सक्रियताका साथ मानव तस्करीका घटनामाथि निगरानी, कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ


काठमाडौं । चीन, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा लैजाने भन्दै दलालहरूले फरक–फरक शैलीमा मान्छेको व्यापार गर्न थालेका छन् । यसरी मार्गबाट मानब तस्करीको नयाँ शैली र प्रविधिको प्रयोगबारे प्रहरीले नयाँ तथ्य फेला पारेको छ ।

चिनियाँ व्यक्तिसँग बिहे गराउँदै लाखौं रकम कमिशन लिने गरेको मानव तस्करीको एउटा पाटो केलाउँदै गर्दा प्रहरीले महिनौंसम्म बन्धक बनाएर लाखौं असुलेको, धम्कीका भरमा इन्डोनेशीयालगायतका मुलुकमा नेपाली प्रताडित बनाएको तथ्य फेला पारेको हो । 

जाकार्ता र पर्यटकीय गन्तव्य बालीमा करिब १० महिनासम्म बन्धक बनाइएका तीन नेपाली युवक र एक नेपाली युवतीको प्रहरीको मानब बेचविखन व्युरोले फर्काएको छ । उद्दार गरिएका नेपालीको बयानका आधारमा प्रहरीले मान्छेको तस्करीका नयाँ मार्ग फेला पारेको हो । पीडित अहिले प्रहरीको संरक्षणमा छन् । ‘अस्ट्रेलिया लैजाने भने लाखौं रकम असुल समेत गरेको अनुसन्धानका क्रममा खुलेको छ’, प्रहरी स्रोतले भन्यो,‘पीडितलाई धम्की दिएर अस्ट्रेलिया पुगेको भनी बालीबाटै आफन्तलाई फोन गर्न लगाएका विवरण पनि फेला परेका छन् ।’ प्रहरीले त्यसरी गिरोहका रूपमा काम गर्ने दुई नेपाली र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।

भारतको बाटो हुँदै मान्छेको तस्करी हुने गरेको थियो । तर तस्करहरूले अहिले पर्यटकीय मुलुकहरूको मार्ग प्रयोग गर्दै आएका छन् । प्रहरी र सरकारको पहुँच भारतीय बाटोमा भएपछि तस्करले अन्य मार्गलाई बेचबिखनको मुख्य विन्दु बनाउन थालेको प्रहरीको भनाई छ ।

वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाका आवरणमा नेपालबाट मानव बेचबिखन बाक्लो हुने गरेको छ । भारतबाहेक बंगलादेश, म्यान्मार, थाइल्यान्ड, इन्डोनेशीयाका नयाँ बाटा प्रयोग गरी मानव बेचबिखनको काम झनै तिव्र भएको हो ।

मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुने गरेको पाइएको छ । दलाल तथा अन्य संलग्न व्यक्तिहरूले पीडित सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको प्रयोग र इमो, वीच्याटजस्ता सम्पर्क माध्यमहरूको प्रयोग भइरहेको छ ।

मानव बेचबिखनको चंगुलमा फसेका नेपाली युवतीहरूलाई श्रीलङ्का, माल्दिभ्स, मलेशिया, खाडीका विभिन्न देश र अफ्रिकी महादेशका केन्या र तान्जानियामा वयस्क मनोरञ्जनको क्षेत्रमा काममा लगाइएको छ । कैयौं युवायुवती संयुक्त राज्य अमेरिका लाने बहानामा अवैध र घुमाउरो बाटो दक्षिण अमेरिकाका विभिन्न देश पुराएर अलपत्र पारिएका थिए ।

३५ हजार जना बेचबिखनमा शिकार !
राष्ट्रिय मानव अधिकार आयोगको गत बर्षकै प्रतिवेदनमा यस्ता विविध माध्यमबाट मान्छेको तस्करी हुने गरेको उल्लेख थियो । यस्तो तस्करीमा कम्तिमा ३५ हजार प्रभावित भएको तथ्यांक बाहिर आएको थियो । अहिले यो क्रम बढेको पनि हुनसक्ने अधिकारीहरू बताउँछन् ।

कतिपयले कन्सल्ट्यान्सीमार्फत पनि राम्रो जागिरको प्रलोभन देखाएर तस्करीमा बढावा दिएका छन् । यसरी मान्छेको तस्करी गर्दा विविध कारण देखाउने गरिएको छ । वैदेशीक रोजगारी, डान्स बार, बालश्रमलगायतका क्षेत्रमा पनि नेपालबाट मानव शक्तिको तस्करी हुने गरेको पाइएको हो । अहिले पनि नेपालका करिब १५ लाख मानिस मानव बेचबिखनको जोखिममा छन् । तीमध्ये १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरीहरू बेचबिखनको जोखिममा छन् ।

देशमा रोजगारी नभएको, विदेशमा आकर्षक आम्दानीको प्रलोभन देखाउने र बहकाउमा पीडित पर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । पीडित हुनुअघि अपरिचित र विविध अफर दिनेलाई विश्वास गर्नु, राम्रोसँग बुझ्नुभन्दा पनि लहडमा हिँड्नु मानव तस्करका लागि मौका बनिरहेको प्रहरीको ठम्याई छ ।

म्यान्मार, थाईल्यान्ड, इन्डोनेशिया, टर्की र यूएई लगायतका खाडीका देशका विभिन्न नयाँ बाटाहरू प्रयोग हुन थाले पनि गन्तव्यहरू एकै किसिमका छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा पु¥याउने बाहनाका लागि यी मुलुकमा नेपाली युवा युवतीको तस्करी हुन्छ । पीडकले सोही मुलुकमा बन्धक बनाएर विविध ठाउँमा काममा लगाउने, नचाउने, यौनधन्दामा लगाउने काम पनि गरेका तथ्य फेला परेका छन् । प्रत्येक युवा युवतीबाट १५ लाख देखि २२ लाखसम्म असुल गरिएको त प्रहरीले नै पत्तो लगाइसकेको छ ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण व्युरो गठन भएपछि उसको सक्रियतामा कतिपयको सहयोग रहेको छ । ‘नेपालमा रहेको यो भयाबह अवस्थालाई नियन्त्रण गर्नका लागि नै यो ब्युरोको गठन भएको हो । अहिले प्रभावकारी हिसाबले काम भइरहेको छ’, नेपाल प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनाल जनप्रहारसँग भन्छन्,‘अझ प्रभावकारी काम गर्नका लागि साइबर व्युरो पनि गठन भएको छ । यी दुवै व्युरोले समन्वयमा अन्तरदेशीय अपराधका रुपमा मौलाएको मानव बेचबिखनको जालो नस्ट गर्नेछ ।’

Post a Comment

0 Comments