Subscribe Us

‘अपराध नियन्त्रणका लागि स्थानीय तहको सहयोग हुन्छ’


काठमाडौँ, १८ भदौ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय तहको पूर्ण साथ र सहयोग रहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र गोँगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मानव बेचविखन तथा ओसारपसार विरुद्दको १३ औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘शान्ति सुरक्षा सुढृढ अन्तक्र्रिया’मा उहाँले समुदायबाट नै अपराध नियन्त्रण हुने भएकाले स्थानीय तहको अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

नगरप्रमुख अधिकारीले टोखा नगरपालिकाको शान्ति सुरक्षालाई मजबुद बनाउन नगरपालिकाले सिसि क्यामरा जडानलाई प्राथमिकता दिएर अगाडि बढेको उल्लेख गर्नुभयो । अपराधलाई जरैदेखि उखेल्नु जरुरी रहेको उहाँको भनाई थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले रोजगारी र व्यवसायको बहानामा वार्षिक सयौँ महिलाहरु विदेशमा बेचिने गरेको भन्दै यसलाई नियन्त्रणका लागि घरबाटै अभियान थाल्नुपर्ने बताउनुभयो ।

“खाजाघर, होटल रेष्टुरेन्टको नाममा यौन शोषणहरु भइरहेका छन्, यसको विरुद्धमा नेपाल प्रहरी खरो भएर लागेको छ,”–उहाँले भन्नुभयो । बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गती नियन्त्रण गर्नुपर्ने उहाँको भनाई थियो । परिसर प्रमुख सुवेदीले नेपालको राष्ट्रिय बसपार्कलाई नमूना बनाउनुपर्ने बताउनुभयो ।


ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले नयाँ बसपार्क मुलुककै गौरवको बसपार्क भएकाले यसको सुधारका लागि ल्होत्से बहुउदेश्यीय प्रालिले काम गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कुँवरले नयाँ बसपार्क हुँदै कतिपय महिला बेचिने सम्भावना भएको भन्दै यसलाई नियन्त्रणका लागि चालक, सहचालक र नेपाल प्रहरीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो । बसपार्कभित्र हुने विकृति अन्त्य गर्न विचौलियाको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीका बस प्रयोग गरेर कयौँ महिलाहरु बेचिने गरेको भन्दै यातायात व्यवसायीहरु चनाखो हुनुपर्ने बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंह, टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपाल, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख सन्तोषकुमार दाहाललगायतले खुला सिमानाका कारण मानव बेचविखन भएको भन्दै यसलाई नियन्त्रणका लागि समूदाय र प्रहरी एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा मानव बेचविखनसम्बन्धि २५८ मुद्दा दर्ता भएका थिए । मानव बेचविखन गर्नेलाई २० वर्ष कैद र दुई लाख जरिवनाको व्यवस्था गरिएको मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।





Post a Comment

0 Comments