Subscribe Us

‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’


काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ ।

जननायक विपी कोइरालाको १०६ औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वर्गीय कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो ।

कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताउनुभयो । “मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ,”–उहाँले भन्नुभयो ।

पूर्व रक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताउनुभयो । दुई तिहाईको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उहाँको भनाई थियो । उहाँले नेपाली काङ्ग्रेसभित्र जनतामा भन्दापनि नेतामा जागरण अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाले जिल्ला, प्रदेश र वडामा पार्टीको सङ्गठनलाई उर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “कार्यकर्ता नेतासँग भन्दापनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काङ्ग्रेस बलियो हुन सक्दैन,”–उहाँले भन्नुभयो ।

पार्टीको तर्फबाट जागरण अभियानमा खटिनुभएका केन्द्रीय प्रतिनिधी दयाराम पाण्डेले वडा र गाउँमा काङ्ग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताउनुभयो । काङ्ग्रेसको सिङ्गो सङ्गठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उहाँको भनाई थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालाई सिङ्गो देशले सम्झनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारी, काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ का सचिव गणेश रिजाललगायतले विपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्ने बताउनुभयो ।

Post a Comment

0 Comments