Subscribe Us

नेविसङ्घको महाधिवेशन एक हप्ताभित्र तोकिसक्न माग



काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् ।

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले आज पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेविसङ्घका नेता लिलाबल्लभ दाहाल ‘काका’ले वर्तमान पार्टी नेतृत्व इतिहासमै कमजोर भएको आरोप लगाउनुभयो । “पार्टी सभापतिमात्र नभई सिङ्गो काङ्ग्रेसको केन्द्रीय समिति नै असक्षम बनेको छ,”–उहाँले भन्नुभयो ।

नेविसङ्घका नेता क्षितिज भण्डारीले पार्टी नेतृत्वले समयमा नै निर्वाचनको मिति घोषणा गरेर अगाडि नबढे नेविसङ्घ आमरण अनसन बस्ने बताउनुभयो । नेविसङ्घको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टी बलियो बनाउनुपर्ने उहाँको भनाई थियो ।

नेविसङ्घका नेता मोती भण्डारीले भ्रातृ संस्थाको महाधिवेशन नगराएर पार्टी जागरण अभियानमा सान्दर्भिक कुरा नभएको बताउनुभयो । नेविसङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमालले काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेविसङ्घले आन्तरिक लोकतन्त्र खोज्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभयो ।

Post a Comment

0 Comments