Subscribe Us

तगडा ओलीः आयु थपेर शुक्रबार स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आयु थपेर शुक्रबार स्वदेश फिर्ता हुने बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार भएको र मिर्गौलामा देखिने समस्या समाधानको उपचार सोमबार अन्तिम दोस्रो पटक सफलताका साथ गरिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतहरूका अनुसार बुधबार अन्तिम पटक एन्डिबडी उपचार भएपछि ओली तन्दुरुस्त हुनेछन् र शुक्रबारसम्ममा स्वदेश फर्किनेछन् ।

उपचार प्रक्रिया सफल भएपछि ओली अहिले अझ खुशी छन् । तन्दुरुस्त भएको महशुस गरिरहेका छन् । धेरैले प्रधानमन्त्री ओलीको अवस्था ‘डेन्जर जोन’मा रहेको अनुमान गरेका थिए भने कतिपयले अमानवीय हुँदै टिप्पणी गरेका थिए । तर, यी सबै अनुमान चिर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाको कार्यक्षमता बढाएर स्वदेश फर्किन लागेका हुन् । ‘उहाँले अझै तगडा भएको अनुभव गर्नुभएको छ । र अरुबेला भन्दा फ्रेस पनि देखिनु भएको छ । उहाँको स्वास्थ्यको सुधार चामत्कारिक हिसाबले भएको छ’, उनलाई भेटेकाहरूले भनेका छन्,‘अब सरकारको काम र मूर्छित परेका सपना ब्युँझाउन प्रधानमन्त्रीले तदारुकताका साथ काम गर्नुहुनेछ ।’

त्यसो त प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधारमात्र नभएर निक्कै राम्रो भएको जानकारी नेकपाका उनका विश्वासपात्रलाई गराइएको थियो । संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए । आइतबार राती उनले ओलीसँग रहेका चिकित्सक र अधिकारीलाई टेलिफोन गरेका थिए । सो क्रममा प्रधानमन्त्रीको उपचार बुधबार सकिने र शुक्रबार फर्किने जानकारी पार्टी र सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइदिन भनिएको थियो ।

त्यसअघि ओलीको स्वास्थ्य अवस्था बुझेका उर्जामन्त्री बर्षमान पुनले नै बुधबारसम्ममा उपचार सकिने र चामत्कारिक हिसाबले भएको सुधारले खुशी भएको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमार्फत नै उनले प्रधानमन्त्री ओली चाँडै स्वदेश फर्किने जानकारी गराएका थिए ।

उपचार, त्यसको पद्दती र समयका सन्दर्भमा अघिल्लो महिनाको अन्त्यमा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा जानकारी लिएर पार्टी र सरकारका केही निर्णय सक्नका लागि प्रधानमन्त्री स्वदेश फर्केका थिए । सोही क्रममा उनले विविध फोरममा आफूलाई डाक्टरले १५ बर्ष बाँच्छस् भनेको र आफू २५ बर्षसम्म नमर्ने बताएका थिए ।

उपचार सकेपछि केही महिनासम्म भने प्रधानमन्त्री ओलीले धपेडीमा काम गर्न नहुने डाक्टरहरूको सल्लाह छ । मिर्गौलाको रोगबाट लामो समयदेखि पीडित ओलीले यसअघि थाइल्यान्डमा नियमित उपचार गराउँदै आएका थिए । बाँकी उपचारका लागि थाइल्यान्डको अस्पतालले नसक्ने भएपछि सिंगापुरमा रहेको अत्याधुनिक उपचार प्रणालीका लागि ओली त्यहाँ पुगेका हुन् । उनका साथमा पत्नी राधिका शाक्य, नीजि चिकित्सक र केही आफन्त छन् । 

Post a Comment

0 Comments