Subscribe Us

नयाँ बसपार्कबाट २० हजार यात्रुले लिए अग्रीम टिकट


काठमाडौँ, ७ असोज । नेपालीहरुको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रीम बस टिकट लिएका छन् ।

असोज ५ गते आइतबारबाट टिकट बुकिङ खुला गरिएकोमा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रीम बस टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधीबीच भदौ २६ गते भएको निर्णयअनुसार असोज ५ गतेदेखि लामो दुरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दुुरीका सवारी साधनलाईलाई मात्र अग्रीम टिकट खुलाइएकोमा आइतबार १४ हजार र सोमबार ६ हजार यात्रुले अग्रीम टिकट लिएको जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बाग्लुङलगायत क्षेत्रमा जाने सवारी साधनका लागि भने असोज १० गतेदेखि अग्रीम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताउनुभयो । टिकट विहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो ।

“दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रुहरु उपत्यका बाहिरीने भएकाले हामीले सवारी साधनको राम्रो व्यवस्था मिलाएका छौँ,”–उहाँले भन्नुभयो । यसपटक भने दशैँमा यातायात भाडा बढेको छैन ।

Post a Comment

0 Comments