Subscribe Us

व्यवस्था भत्काउन प्रचण्ड र परिवारमाथि नानाथरी टिप्पणी !


नेकपा अध्यक्षको राजनीतिक हुर्मत लिन राजावादी र तिनका प्रायोजित अभियन्ताले सामाजिक सञ्जालदेखि अनेक ठाउँमा निर्वाचित जनप्रतिनिधिदेखि परिवारका कतिपय सदस्यलाई अश्लील, अभद्र र असामाजिक शव्दले प्रहार गरेका छन् 

काठमाडौं । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको राजनीति र अहिलेको व्यवस्था भत्काउने गिरोह सक्रिय भएको छ ।

एउटा कार्यक्रमका दौरान शुक्रबार मात्रै प्रचण्डले आफू र आफ्ना परिवारमाथि सामाजिक सञ्जालदेखि विभिन्न फोरममा सुन्नै, देख्नै नसकिने प्रचारबाजी भएको गुनासो सुनाएको भोलीपल्ट नै भ्रष्टाचारविरोधी अभियानकर्मी बताउने ज्ञानेन्द्र शाही, सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेको एउटा समूह तथा बहिर्गमित लडाकुका अध्यक्ष लेलिन विष्टका समर्थकले सामाजिक सञ्जालदेखि अनेक ठाउँमा अर्को बितण्डा गरेको थियो ।

भ्रष्टाचारविरोधी अभियानका नाममा राजतन्त्रको हुंकार लगाउनेको समूहले गर्न लागेको कार्यक्रम चितवनमा बिथोलिएपछि प्रचण्ड र उनका परिवारको सार्वजनिक बेइज्जती गर्दै सामाजिक सञ्जालमा अश्लील, भद्दा र अमर्यादित प्रचारबाजी गरिएको छ ।

प्रचण्डलाई हेग नै लैजान्छु भनी प्रायोजित अभियानमा लागेका विष्ट, राजावादी भण्डारी, सार्वजनिक फोरममा नै सभ्य बोली दिन नसक्ने शाहीको गठजोडले प्रचण्डको राजनीतिलाई धक्का दिने कोशीशमा चितवनमा कार्यक्रम तय गरेको थियो । नेपालका अन्य स्थानलाई छाडेर प्रचण्डको निर्वाचन क्षेत्रमा पुगी उनी र निर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको हुर्मत लिने तयारीका क्रममा नेकपाका कार्यकर्ताले कार्यक्रम बिथोलेका थिए भने अपरिचित व्यक्तिको समूहले शाहीमाथि आक्रमण गरेको थियो ।

राज्यलाई ५ रुपियाँ कर नतिर्ने, राजावादी ठेकेदार र व्यवस्थाविरोधीको प्रायोजनमा देशभर हल्ला र हुलदुंगा मच्चाउनेको समूहले शाहीमाथिको आक्रमणपछि प्रचण्ड, उनकी छोरी तथा मेयर दाहाललगायत परिवारका कतिपय सदस्यको तस्बिर राख्दै पढ्न, सुन्न नसकिने प्रचारबाजी गरिएको थियो ।

‘राज्य प्रणालीको काममा भएका कमजोरी भन्दा पनि नियतबस प्रचण्डको राजनीतिक अवस्था र चुनावी धरातल नै भत्काउने नियतले यो समूह चितवन प्रवेश गरेको पाइयो’, चितवनका सर्वसाधारण भन्छन्,‘राजनीतिक दलका नेताले कहीँ कमजोरी गरेका रहेछन् भने त्यसको समिक्षा वैचारिक हिसाबले हुनुपर्ने थियो । तर, केही दिन अघिदेखि नै नेकपा समर्थकलाई उत्तेजित बनाएर कार्यक्रम तय गरी प्रशासनलाई समेत जानकारी नदिई आएको बुझियो ।’

प्रचण्डको राजनीतिक साख र प्रतिष्ठामा धक्का दिन सके नेपालमा आएको गणतन्त्रकै हत्या गर्न सकिन्छ भन्ने मान्यताका आधारमा शाहीलगायतका पूर्वराजावादीको झुन्डकै कारण चितवनमा नियतबस् घटना गराइएको नेकपा कार्यकर्ताको आरोप छ ।

‘क्षेत्रमा आएर जनता भड्काउने, भएका कामको उल्टो प्रचारबाजी गर्ने र सामाजिक सञ्जालमा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने यो समूहको नियोजित, प्रायोजित पूर्वतयारी थियो’, नेकपा ३ नम्बर प्रदेशका एक सदस्य भन्छन्,‘चितवनमा कार्यक्रम गरी प्रचण्डविरुद्धको माहौल बनाउन यो समूहले रवि लामिछाने प्रकरणको भिड उत्रिन्छ भन्ने तयारी पनि गरेको रहेछ ।’

यहि समूहलाई सहयोग गर्ने राज्यदण्डित ठेकेदारलगायतका व्यक्तिले भौतिक रूपमा नै प्रचण्ड र परिवारमाथि गम्भिर हिसाबका आक्रमणको तानाबाना समेत बनाएको आरोप लगाइएको छ । घटनापछि भण्डारीलगायतले दिएको अभिव्यक्तिले पनि त्यहि पुष्टि गरेको सर्वसाधारणको बुझाई छ । शाहीमाथि आक्रमण गर्नेविरुद्ध कुनै जाहेरी नदिई भण्डारीलगायतको समूहले प्रचण्ड, मेयर दाहाल र पर्यटनमन्त्री योगेश भट्टराईलगायतको योजनामा आक्रमण भएको आरोप लगाएका थिए । जबकि, यी घटनासँग प्रचण्ड र परिवारका सदस्यको कुनै सम्पर्क र सम्बन्ध कतै देखिँदैन ।

‘आक्रमणकारी समूहलाई नियन्त्रणमा लिनका लागि प्रहरी घटनास्थल पुगेको थियो, प्रहरीका कारण नै शाहीको उद्दार भएको प्रचार छैन । बरु, प्रहरी प्रमूखदेखि राजनीतिज्ञका चरित्र हत्या गर्ने, हुर्मत लिने प्रचार गरियो’, सर्वसाधारण भन्छन्,‘आक्रमण गलत थियो तर त्यस्ता गम्भिर घाइते भएका शाहीले उपचारका लागि जानुपूर्व नै योजनाबद्ध ढंगले प्रचण्ड, मेयर दाहाल र मन्त्री भट्टराईको नाम झोसेर नियत प्रस्ट पारे ।’

विवादीत अभियन्ता शाहीलाई भारतीय गुप्तचर संस्थाका लागि काम गरेको आरोप समेत लाग्ने गरेको छ । नेपालको राजनीतिक व्यवस्थाविरुद्ध दरबारबाट उनी परिचालित भएको अभियोग समेत लाग्दै आएको छ । उनीहरूको अभियान नेपालका लागि नेपाली पनि राज्यको कुनै निकायमा दर्ता नभई नेता, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत व्यवस्थाका पक्षधरको हुर्मत लिनेगरी सक्रिय रहेको देखिन्छ ।

राजनीतिक दलप्रति, व्यवस्थाप्रति विश्वास भएकाहरूले विस्तारै यो अभियानको साथ छाडीरहेका छन् । भ्रष्टाचारविरुद्धका मुद्दामा यो समूहको अभियानमा रेखा थापालगायतका कतिपय व्यक्तिको सहभागीता रहने गरेको थियो । राजतन्त्रका विषयमा पर्चाबाजी गर्न थालेपछि यो समूहबाट गणतन्त्रवादी अलग भए पनि प्रचण्डविरोधी जोडिए । जसका उदाहरण विष्ट हुन् ।

स्रोतका अनुसार यो समूहलाई अमेरिका, अस्ट्रेलियालगायतका मुलुकबाट माओवादीपीडितका झूठा विवरण बनाई पुगेका नेपाली शरणार्थीले रकम दिने गरेका छन् । देशभित्र र बाहिरका तत्कालिन माओवादीविरोधी, अहिलेको सत्ताविरोधीको प्रायोजनमा सामाजिक सञ्जालदेखि सडकसम्म प्रचण्ड र परिवारका बारेमा नानाथरी टिप्पणी गर्न रकम खर्चेर नै उक्साइएको छ ।

Post a Comment

0 Comments