Subscribe Us

‘पदकमन्त्री’का विवादास्पद सिफारिस

हजामदेखि सुरक्षा सल्लाहकारका चालकसम्मलाई तक्मा, एक व्यक्तिलाई दुई पदक

काठमाडौं । राज्यले दिने पदकको गरिमा राज्यलाई गरेको योगदानका लागि हुनुपर्नेमा सरकार उल्टो बाटो हिँडेको छ । राष्ट्रका लागि सिन्को पनि नभाँच्ने तर नेताका लागि मरिहत्ते गर्नेले पदक पाएका छन् ।  राजाका बेलामा दरबारको झाडु लगाउने, गुलामी गर्ने, निगाहमा गएर लम्पसार पर्नेलाई दिए जस्तै अहिले सरकारमा रहेका व्यक्तिको निगाहमा पदक बाँडिएको विवरणहरूले नै पुष्टि गरेको छ ।

पदक सिफारिस गर्ने व्यक्ति नै विवादमा तानिएपछि यस्तो तथ्य बाहिर आएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘पदकमन्त्री’ जस्तै हुन् । त्यसमाथि अन्य मन्त्रालयका सिफारिस उनले काट्न सकेनन् । काट्नु पनि कसरी जब आफ्नै कपाल काट्नेलाई पदक दिएपछि । पोखरेलका हजाम र गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राईले आफंै र गाडी चालक डोलराज पाण्डेलाई पदक सिफारिस गरेको भेटिएको हो ।

संविधान दिवसको सन्दर्भ पारेर ६ सय भन्दा बढी व्यक्तिलाई पदक सिफारिस गरिएको थियो । त्यस क्रममा रक्षामन्त्री पोखरेलले धनुषाका लक्ष्मी ठाकुरलाई समाजसेवीको विल्ला भिराएर पदक दिएका हुन् भने राईले आफैंलाई सिफारिस गरेका हुन् ।

राइले जनसेवाश्री तृतीय श्रेणीको पदक सिफारिस गरेका छन् । गत बर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी र उपराष्ट्रपति नन्दबहादुर पुनको छोरालाई पदक सिफारिस भएकोमा जनस्तरबाटै विरोध भएको थियो ।
यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न रहेका चार जना विदेशी डाक्टरलाई मापदण्ड विपरित सिफारिस गरिएकोमा विवाद भएको थियो ।

त्यसैगरी सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने मान पदवीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार हावी हुँदा सम्बन्धित निकायले सिफारिस गरेकालाई दिइएको छैन ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई हावी हुँदा सशस्त्र प्रहरीका डिआइजी सुरजकुमार श्रेष्ठको पदक काटिएको छ भने मापदण्ड विपरित एसएसपी किशोर प्रधान र गणेश ठाडा मगरलाई दिइएको छ । माघमा अवकाश पाउने भएकाले विभागले डिआइजी श्रेष्ठलाई सिफरिस गरेको थियो तर उनको नाम काटेर राईले प्रधान र मगरलाई दिलाएका हुन् ।  प्रधान र मगर दुवैले दुई वर्षअघि पनि पदक पाएका थिए । 

उनीहरूलाई पदक दिइएकोमा विभाग समेत असन्तुष्ट रहेको छ । सशस्त्र प्रहरीले उनीहरूलाई विभागबाट सिफरिस गरेको थिएन । त्यसैगरी सशस्त्र प्रहरी नीरिक्षक दिव्यराज कोइरालालाई पनि तीन वर्ष नपुगी पदक सिफरिस मात्र गरिएको छैन उनलाई बोर्डर आउट पोष्टमा दुई–दुई पटक पठाइएको छ । अरुले एक पटक पाउदैनन् तर उनलाई दुई पटक पठाइएको हो । रक्षामन्त्री पोखरेलको निगाहमा उनी दुई पटक विओपी पठाइएको स्रोत बताउँछ ।

त्यस्तै अर्को एकै व्यक्तिलाई दुई वटा पदक दिईएको छ । यातायात व्यावसायी सरोज सिटौलाको नाममा एउटा र अर्को समाजसेवी पूण्यप्रसाद सिटौलाको नाममा गरी दुई पदक दिलाएको स्रोत बाताउँछ । सिटौला सिन्डिकेटधारी यातायात व्यावसायीको पक्षमा हिँडिरहेका व्यक्ति हुन् । 

Post a Comment

0 Comments