Subscribe Us

कानूनी राज्य निर्माण गर्न प्रहरी दृढ सङ्कल्पित छ : महानिरीक्षक खनाल


काठमाडौँ, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक रुपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको स्पष्ट पारेका छन् ।

 ६४ औ प्रहरी दिवसको अवसरमा बोल्दै आईजीपी खनालले प्रहरी संगठनमा आवश्यकतानुसार सांगठनिक विकासको लागि नेपाल प्रहरी निरन्तर प्रयासरत रहेको र परिणामस्वरुप प्रहरीको सेवा हिजो भन्दा आज थप परिष्कृत, उत्तरदायी र सेवामुखी हुँदै गएको उल्लेख गरे ।

 आईजीपी खनालले भने ’प्रहरी यही समाजको एउटा हिस्सा हो र यसले समाजलाई प्रतिबिम्बित गरिरहेको हुन्छ, गैरकानूनी क्रियाकलाप पूर्ण निस्तेज गरी कानूनी राज्य निर्माण गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित छ । गतिशील समाजको विकास र परिवर्तनको गतिसंगै प्रहरी संगठनको समेत विकास र सुदृढीकरण हुन जरुरी छ ।’

 अपराध अकल्पनीय रुपले संगठित, अन्तर्देशीय एवं जटिल हुँदै गईरहेको बताउदै आईजीपी खनालले अपराध गर्ने व्यक्ति वा आपराधिक समूहले अपराध गर्ने परम्परागत शैलीलाई छोडेर प्रबिधिको अत्याधिक प्रयोग गरिरहेकोेले अब प्रहरीले प्रविधिलाई विशेष ध्यानमा राखेको स्पष्ट पारे ।

 आईजीपी खनालले लागू औषध, मानव बेचविखन, अवैध हात(हतियार ओसारपसार, बहुमुल्य सामाग्रिको तस्करी जस्ता अपराधहरु समग्र विश्व समुदाय र सभ्य समाजको लागि नै चुनौतिको रुपमा देखापरेको वताउँदै हरेक अपराध गर्न सूचना प्रविधि, सामाजिक सञ्जाल आदिको दुरुपयोग भइरहेको हुँदा त्यसलाई रोक्नका लागि नेपाल प्रहरीले प्रबिधीको उच्च प्रयोग गरिरहेको पनि वताए।

 नेपाल प्रहरीले आफ्ना सांगठनिक प्राथमिकताहरुमा संगठित अपराध, जघन्य अपराध र महिला तथा बालबालिका बिरुद्धका अपराधिक घटनाको द्रुत एवं प्रभावकारी अनुसन्धान र यसको अक्षरशस्पालनाले आगामी दिनमा यस्ता अपराध न्यूनिकरण हुने बिश्वास दिलाए ।

 अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक र समुदायको महत्वपूर्ण भूमिकालाई मनन् गर्दै समुदाय(प्रहरी साझेदारी प्रणाली स्थापित गरिएको बताए । स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था र नागरिकसंग सहकार्य गर्ने राष्ट्रव्यापी दीगो संयन्त्र स्थापना गरिएको उनको भनाई थियो ।

 देशभर २३,००० भन्दा बढी साझेदारी समितिहरू निर्माण भई अपराध सचेतना र शान्ति सुरक्षा कायम राख्न योगदान पुर्याईएको आईजीपी खनालले वताए । समुदाय(प्रहरी साझेदारी प्रारम्भ भएको करिब १ वर्षको अवधिमा ७३ लाख भन्दा बढी नागरिकहरुसंग प्रहरीले व्यवस्थित अन्तरक्रिया एवं अपराध रोकथाम सम्बन्धमा सचेतना जागृत गरेको आईजीपी खनालले जानकारी गराए।

 नेपाल प्रहरी संगठन कानुनी राज्यको अवधारणालाई सर्वोपरी रुपमा अंगिकार गर्दै शान्ति तथा अमनचयन र सामाजिक सद्भाव कायम राख्न एवं अपराध रोकथाम तथा अनुसन्धान गर्ने आफ्नो आधारभूत दायित्वबाट कहिल्यै विमुख नभएको तथ्य स्मरण गर्दै नेपाल सरकार र गृह मन्त्रालयबाट आगामी दिनमा यसको संस्थागत विकास र आधुनिकिकरणको लागि अझ सशक्त नेतृत्वदायी भूमिका निर्वाह हुनेछ भन्ने विश्वानस समेत उनले लिए ।

Post a Comment

0 Comments