Subscribe Us

प्रधानमन्त्रीको नाम लिएर नेपाल स्काउटमा भण्डारीको ठगी


काठमाडौँ, ८ कात्तिक । नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको ठगी धन्दा झन् झन् मौलाउँदै गएको छ ।

विभिन्न शक्तिकेन्द्रमा धाएर पटकपटक स्काउटको नेतृत्वमा बाजी मार्न सफल भण्डारी नेपाल स्काउटभित्र कहाँकहाँ र कसरी अनियमितता गर्न सकिन्छ भन्ने कुरामा सबैभन्दा जानकार रहेका छन् ।

नेपाल स्काउटको सम्पत्ती कहाँ र कसरी रहेको छ साथै कसले उपयोग गरिरहेका छन् ती व्यक्तिहरु समेतलाई नजिकबाट चिन्ने निज भण्डारीले त्यस्ता व्यक्तिबाट समेत जबरजस्ती असुल गरेर पैसाको बलमा पटकपटक नेपाल स्काउटको नेतृत्वमा आएका छन् ।

आफ्नै व्यवसाय गर्ने व्यक्ति आफ्नो व्यवसाय छोडेर स्काउटको नेतृत्वप्रति यति लालयित हुनुमा के रहस्य रहेको छ भनी स्वयम् स्काउटरहरुसमेत छक्क परेका छन् ।
वर्तमान तदर्थ समितिका संयोजक भण्डारी जबजब स्काउटको नेतृत्वमा नियुक्त भएर आउँछन् तबतब स्काउटभित्र विवाद र स्काउटजस्तो पवित्र सामाजिक संस्थालाई बदनाम गर्ने गरेका छन् ।

स्रोतले जानकारी दिएअनुसार निज भण्डारीले नियुक्त लिएर आउनासाथ स्काउटको सम्पत्ती बहालमा लिएर उपयोग गरिरहेका व्यवसायीहरुबाट ठूलो मात्रामा रकमको असुली गर्न उर्दी जारी गर्ने र दिन इन्कार गर्ने व्यवसायीमाथि खनिने गरेका छन् । जसका कारण उनी नेतृत्वमा आउनासाथ विभिन्नखाले विवादहरु सतहमा आउने गरेको देखिन्छ । अहिलेको नेपाल स्काउटको विवादपनि निजको असुली धन्दाकै कारण भएको जानकारहरु बताउँछन् ।

वर्तमान सरकारका प्रधानमन्त्रीलाई बुबा र राष्ट्रपतिलाई आमा भन्ने भण्डारीले दुई तिहाईको सरकार छ मलाई कसले के गर्न सक्छ भन्दै सत्ताको चरम दुरुपयोग गर्दै ठगी धन्दा चलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारीसहित नेपाल स्काउटको तदर्थ समितिको संयोजक बनाएपनि अधिवेशन नगरी सत्ताको आडमा ठगी धन्दामा क्रियाशिल रहँदै आएका छन् ।

शक्तिको आडमा मनोमानी गरेर स्काउट परिसरभित्र भाडामा बसेकासँग ठगी गर्नमा व्यस्त रहेका छन् । भण्डारीले लामो समयदेखि स्काउटको जमिनलाई भाडामा लिएर अफिस सञ्चालन गर्दै आएका काङ्ग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्कालाई राजनीतिक प्रतिशोध साँध्नका लागि सत्ताको आडमा हटाउन र पैसा कमाउने दाउमा लागेका हुन् ।

स्काउटको पैसालाई दुरुपयोग गरेर विभिन्न पत्रपत्रिकामा प्रधानमन्त्रीको फोेटो छापेर प्रधानमन्त्रीलाई खुशी बनाएर करोडौँ रुपैँया ठगी गरेपछि स्काउटका कर्मचारीसमेत भण्डारीसँग रुष्ट बन्दै आएका छन् । पैशा र शक्तिको आडमा राजनीति लाभ लिएर लामो समयदेखि जमिन भाडामा लिएर सञ्चालन गरेका व्यक्तिलाई राजनीतिक प्रतिशोध साँध्न लागेपछि लामो समयदेखि स्काउटमा कार्यरत कर्मचारी आश्चर्यचकित भएका हुन्  ।

भण्डारी संयोजक रहेको तदर्थ समिति निर्वाचन गर्ने प्रयोजनका लागि नियुक्त भएको समिति हो । तदर्थ समितिले दैनिक प्रशासनका कामबाहेक अरु काम गर्न नमिल्ने भएपनि शक्ति र सत्ताको आडमा उनले कर्मचारी बर्खास्ती र निजका भरौटे नियुक्ति समेत गरेका छन् । यसबाट नेपाल स्काउट ऐन २०५० (संशोधित २०७५) तथा नेपाल स्काउट नियमावली २०६४ (संशोधित २०७१) समेतको ठाडो उलङ्घन गरेका छन् ।

अझ अचम्मको कुरा त के छ भने लामो समयदेखि काम गर्दै आएका श्रमजिवी कर्मचारीलाई समेत हटाएर नयाँ कर्मचारी भर्ना गरेर समेत लाखौँ रकम कुम्ल्याइरहेका छन् । 

लोकतान्त्रिक पद्दती अंगीकार गरेको नेपालजस्तो मुलुकमा कानूनको शासन, विधि र नियमलाई कसैले पनि लत्याउन सक्दैन । तर, निज भण्डारीले सम्मानित अदालतको आदेशलाई समेत अवज्ञा गरी जङ्गे शैलीमा आफुलाई प्रस्तुत गरिरहेका छन् । यसबाट कानूनी राज्य र सम्मानित अदालतको समेत अवहेलना भएको प्रष्ट देखिन्छ ।
नेपाल स्काउटले गर्ने हरेक निर्णय सदस्य र सल्लाहकार समितिलाई नसोधी आफुखुशी गर्ने गरेबाट नेपाल स्काउटलाई भण्डारीले व्यक्तिगत सम्पत्तिजस्तो गरी दूरुपयोग गरिरहेका छन् ।

संयोजक भण्डारी एकपछि अर्को गर्दै गलत र आर्थिक अनियमिततामा फस्दै हिँड्ने र प्रधानमन्त्रीको नाम दूरुपयोग गरी स्वयम् प्रधानमन्त्रीलाई समेत बदनाम गर्न थालेको कुरा प्रधानमन्त्री ओलीले जानकारी पाएपछि प्रधानमन्त्रीसमेत उनीसँग रुष्ट बनेका छन् ।

Post a Comment

0 Comments