Subscribe Us

उपत्यकाका दुई प्रहरी वृत्तको उद्घाटन


काठमाडौँ, १४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताउनुभएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौर, र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले कानून कार्यान्वयन गर्दै अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताउनुभएको हो । “प्रविधिले मात्र अपराध नियन्त्रण हुन सक्दैन, प्रहरी पनि चनाखो हुनुपर्छ,”–उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न नेपाल प्रहरी दृढसंकल्पका साथ लागेको उल्लेख गर्नुभयो । समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा २६ हजार नागरिक जोडिसकेका छन् ।

उहाँले सरकारले राखेको नीतिअनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई नेपाल प्रहरीले अरु नागरिकभन्दा छिटोे, छरितोे सेवा प्रदान गरेको बताउनुभयो । भूकम्पपछि त्रिपालमुनी बसेर पनि नेपाल प्रहरीले नागरिकको सुरक्षामा खटिएको स्मरण गर्नुभयो ।

महानिरीक्षक खनालले सुन्दर भवनबाट सुन्दर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउनुभयो । प्रहरीमा बढुवा र चलचित्रमा इन्सपेक्टरको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दिपक केसीलगायतले पछिल्लो समय नेपाल प्रहरीले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्नुभयो ।

महानगरीय प्रहरी वृत्त लैनचौरको भवन एक वर्षअगाडि निर्माण भएपनि जग्गा नेपाल प्रहरीको नाममा नामसारी नभएकाले उद्घाटन भने आज गरिएको हो ।

झण्डै आठ करोड लागतमा निर्माण भएको उक्त भवन ३१ कोठा र महिला, पुरुष र तेस्रोलिङ्गी समुदायलाई थुन्नका लागि छुट्टाछुट्टै थुनुवा कक्ष रहेको वृत्तका प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । सोही अवसरमा वृत्तको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज भने दुई महिना अगाडिमात्र सम्पन्न भएको हो । संयुक्त राष्ट्रसङ्घको (युएनओपिएस) परियोजनाअन्तर्गत सम्पन्न भएको उक्त वृत्त अन्डरग्राउण्ड पार्किङसहित पाँचतल्ले रहेको छ ।

१८ महिनामा सम्पन्न भएको उक्त भवन निर्माणका लागि रु ११ करोड रुपैँया लागेको वृत्तका प्रमुख उमेश लम्सालले बताउनुभयो ।

युएनओपिएस परियोजनाले नेपालका विभिन्न जिल्लामा ५६ वटा प्रहरी कार्यालय निर्माण गरिसकेको परियोजना देशीय निर्देशक चाल्र्स कलाननले जानकारी दिनुभयो । जसमध्ये २५ वटा भवन निर्माण गरिसकेको छ भने बाँकी भवनपनि निर्माणाधिन अवस्थामा रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले भवन निर्माणसँगै प्रहरी कर्मचारीको मनोवल वृद्धि हुने र उपत्यकाको शान्ति सुरक्षा थप मजबुद हुँदै जाने बताउनुभयो ।


Post a Comment

0 Comments