Subscribe Us

हड्डी खुड्डी नछाड्नेलाई ‘पाप’को पहिरो

क्रुरताको पराकाष्ट नाघी त्यसरी व्यक्ति हत्या गरिएको ठाउँमा अहिले धानखेती लगाइएको छ
काठमाडौं । पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान अहिले चरितार्थ हुन थालेको चर्चा राजनीतिक वृत्तमा चलेको छ, नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री महोम्मद अफताव आलम पक्राउ प्रकरणसँगै । 

चुनावमा जित्न र पदमा पुगी आतंक मच्चाउने सनसनीपूर्ण प्रकरणमा दानवीय रुप देखाएको अहिले आलमलगायतमाथि भएको विस्फोट, व्यक्ति हत्या र प्रमाण लुकाउने प्रकरणको मुद्दाले खुलाएको छ । 

रौतहटको राजापुरमा १२ बर्षअघि भएको प्रकरणमा आलमलगायत तानिएको र त्यसको अनुसन्धानले व्यापकता पाएपछि यो चर्चा सुरु भएको हो । बम विस्फोटमा घाइते र मारिएका परिवार तथा त्यसका सबुत प्रमाणका रुपमा रहेका जीवित व्यक्तिको हत्या गरी इटा भट्टाको भुंग्रोमा हड्डी खुड्डी नभेटिने गरी मारिएको तथ्य सतहमा आएको हो । 

क्रुरताको पराकाष्ट नाघी त्यसरी व्यक्ति हत्या गरिएको ठाउँमा अहिले धानखेती लगाइएको छ । तर प्रहरीले यस प्रकरणमा बलियो प्रमाणसहित सरकारी वकिलको कार्यालयमा त्यसबेलाका प्रहरी प्रमुख ओमविक्रम राणा, प्रहरी अधिकारीलगायतको लिखित बयानसहित मुद्दाका लागि राय दिएको थियो । सोही आधारमा सोमबार मुद्दा दर्ताको प्रक्रिया अघि बढ्यो । 

२७ चैत, २०६४ मा भएको घटनामा आलमसहित ११ जनालाई जन्मकैदको मागदाबी भएको छ । सो घटनामा घाइते भएका तथा पीडित सफी अहमदको बयान प्रमुख प्रमाणका रुपमा पेस गरिएको छ । अहमदले त्यसबेला आलमको निर्देशनका आधारमा काम गरेका थिए । घटनामा उनी पनि घाइते भएका थिए । सफीले त्यसैबेला भारतको मोहितहारीका डा. तबरेज र प्रवेज आलमको क्लिनिकमा उपचार गराएको प्रमाण पनि पेस गरेको छ । 

योसँगै स्थानीयको बयान, पीडित परिवारको उजुरी, पीडित मध्येकी महिलाको हत्या भएको विषय पनि अनुसन्धानको घेरामा ल्याई बयान तयार पारिएको छ, जुन ७ सय पृष्ठ लामो छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आलमसहित ११ जनालाई जन्मकैदसहितका सजाय हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई शुक्रबार बुझाएको थियो । 

आलमका भाई महताब, सेख भईद, मोबिन आलम, शेख सराजलगायतविरुद्ध ज्यान मुद्दा लगाउने राय प्रहरीले बुझाएको छ । 
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा केहीको मृत्यु भएको थियो भने सो क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह र आसी अख्तरलाई आलमको इटा भट्टामा लगी जिउँदै जलाइएको थियो । 

प्रहरीले अनुसन्धानका क्रममा घटनाबारे तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्रका एसपी राकृष्ण लामाले बयान नदिएको खुलाएको छ । तत्कालिन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने टिकापुर घटनामा हत्या गरिएको थियो । 
प्रहरीले अनुसन्धान अगाडि बढाएर मुद्दाको प्रक्रिया सुरु गरेपछि पीडित परिवारले राहत महसुस गरेका छन् । उनीहरूले न्याय ढिलै भए पनि पाउन सकिने आश गरेका छन् । 

अर्कातिर उक्त प्रकरणमा सघाउनेले पनि जस्तो पाप गरेका थिए त्यस्तै नै सजाय भोगीरहेको भनी चर्चा गरिरहेका छन् । खासगरी तत्कालिन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको मधेस आन्दोलनका क्रममा टिकापुरमा भाला घोपेर गरिएको हत्या र प्राणघातक रोग लागी हङकङमा उपचारमा रहेका सशस्त्र प्रहरीका उपरिक्षक रामकृष्ण लामाको अवस्थालाई अरुले ट्रोल गरेका छन् । 


Post a Comment

0 Comments