Subscribe Us

‘टियू गोल्ड मेडलिष्ट’ भण्डारी सम्मानित


काठमाडौँ, ८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हाँसिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।

नवोदित कलेज सामाखुशीले आज कार्यक्रमको आयोजना गरी चार वर्षे स्नातक तहमा नेपालभरबाट आफ्नो कलेजका विद्यार्थी राजु भण्डारी प्रथम स्थान हाँसिल गर्न सफल भएकाले सम्मान गरेको हो ।

भण्डारीले स्नातक तह २०७३ देखि ०७६ चारवर्षे व्यवस्थापन सङ्कायमा ७८.६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले वर्तमान अवस्थामा सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक शिक्षामा राज्यले जोड दिनुपर्ने बताउनुभयो । विद्यार्थीको शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध मजबुद हुनुपर्ने उहाँको भनाई थियो ।

कलेजका प्राचार्य राजेन्द्र अधिकारीले गुणस्तरीय शिक्षाका लागि नवोदित कलेजले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतका कारण नै नवोदित कलेजले प्रथम स्थान हाँसिल गरेको उहाँको भनाई थियो ।

विस २०५० सालमा नीजि लगानीमा स्थापना भएको नवोदितले नर्सरीदेखि स्नाकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त कलेजमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Post a Comment

0 Comments