Subscribe Us

२१ अर्बमा निर्माण हुन लागेको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास


रसुवा, १५ पुस ।  रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेसी रुङ्गामा १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ ।

९० प्रतिशत विदेशी लगानी रहेको उक्त आयोजनामा नेपाली दिपक खड्काको १० प्रतिशत लगानी रहेको छ । चिनियाँ कम्पनी सिचुवान हुवानी ईनर्जी ईनभेष्टमेन्ट कोअपरेशन प्रा.ली.को ९० प्रतिशत लगानी रहेको छ । आगामी ३ वर्ष्भित्र आयोजनाको काम सम्पन्न गरिसक्ने विश्वास लिईएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत चिलिमे हबमा जोडिने छ ।

२० अर्ब ३८ करोड ९८ लाख ९४ हजार लगानी रहने उक्त आयोजनाले देशको उर्जा विकासमा ठूलो टेवा पुर्याउने विश्वास लिईएको छ । पूर्वमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिपक खड्काले १२ वर्षअघिदेखि देखेको सपना आज आएर साकार भएको छ ।

शिलान्यास कार्यक्रमपछि संक्षिप्त सम्बोधन गर्दै नेता खड्काले आफ्नो १२ वर्षदेखिको अथक प्रयासले आज सार्थकता पाएको सुनाए । उनले भने,‘देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनको लागि मैले उर्जाको विकासमा हात हाल्ने योजना बुनेको थिएँ । हिजोको हाम्रा दिनहरु कहालीलाग्दा थिए, दैनिक १८ घण्टासम्म हामीले लोडसेडिङ भोगेका थियौं । त्यो अवस्था देखेर मैले उर्जामा लगानी गर्नुपर्छ भन्ने सोच राखेको थिएँ ।’

उनले यो आयोजना निर्माणको लागि आफूले चिनियाँ लगानीकर्तासँग दर्जनौं पटक वार्ता तथा छलफल गरेको पनि सुनाए । त्यतिमात्रै नभएर उनले यही आयोजनाको लागि आफूले धेरै पटक चीनको भ्रमणसमेत गरेको सुनाए ।
खड्काकाअनुसार उक्त आयोजनाले २०७० सालमा स्विकृति पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । नेपालको समृद्धिको लागि उर्जा, कृषि, पर्यटन क्षेत्र भरपर्दो आधार भएको पनि उनको भनाई छ ।

उनले विकास र समृद्धिको लागि राजनीति गर्न नहुने तर्क गरे । नेपाल विद्युतमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको बताउँदै यहाँ उत्पादित जलविद्युत बंगलादेश र दुवईमा निर्यात गर्न सकिने पनि बताए । उनले भने,‘आज बंगलादेश र दुवईजस्ता मुलुकबाट विद्युतको माग बढेको छ । हामी यहाँ उत्पादित विद्युत बेच्छौं ।’

उनले नेपाल अब विस्तारै सम्पन्न हुने बाटोतर्फ अघि बढेको सुनाए । खड्काको कम्पनी लाङटाङ भोटेकोशी हाईड्रोपावर प्रा.ली. उक्त आयोजनाको प्रर्वद्धन कम्पनी हो । उनले उक्त परियोजना तोकिएकै समयावधिभित्र सम्पन्न गरिसक्ने पनि विश्वास दिलाए ।

कार्यक्रममा नेपाली कांग्रेसका रसुवा जिल्ला सभापति छिरिङ तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष कर्णेल लामा, गाउपालिका प्रमुख कैसुन नोर्वु तामाङ, उपप्रमुख कड्ल्यामु श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले पनि उक्त परियोजनाको बन्न लागेकोमा खुशी व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments