Subscribe Us

ढुंगेलको मनमा ढ्याङ्ग्रो ,
इन्काउन्टर स्पेसियलिष्ट डिएसपीलाई इन्काउन्टरकै त्रासदी

काठमाडौं ।  इन्काउन्टर स्पेसियलिष्टका नामले चिनेने नेपाल प्रहरीका निलम्बित डिएसपी कुमोद ढुंगेललाई अहिले आफंै इन्काउन्टरमा पर्ने डरले सताएको छ । 

नेपाल प्रहरीले डिएसपी ढुंगेललाई आपराधिक गिरोहसँको सम्बन्ध रहेको पुष्टि गर्दै निलम्बन गरेर कारवाही प्रक्रिया अगाडि बढाएपछि अहिले फरार छन् ।

प्रहरीले ढुंगेललाई कानुनी कारवाही गर्न दुई साता अघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरिसकेको छ । डिएसपी ढुंगेल अहिले फरार छन् । 

ढुंगेललाई प्रहरीले इन्काउन्टरको तयारी गरेको हल्लाले अहिले बजार तातेको छ । २०६१ सालबाट प्रहरी संगठनमा प्रहरी निरक्षकको पदबाट जागिर खाएका डिएसपी ढुंगेल बिगत १२ बर्षदेखि आपराधिक गिरोहलाई चिर्दै कानुनको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका थिए । 

नेपाल प्रहरीमा सेलिब्रिटी प्रहरीका रुपमा चिनेने पूर्वडिआईजी तथा सांसद नवराज सिलवाल होस्, रमेश खरेल वा प्रहरीका एआईजी पुष्कर कार्कीलाई काठमाडौं प्रहरीमा सफल प्रहरी अधिकृतका रुपमा चिनाउन उनको महत्वपूर्ण भूमिका थियो । काठमाडौं परिसरमा सिलवाल र खरेल तथा अपराध महाशाखामा पछिल्लो समय कार्कीलाई ढुंगेलको टिमले सफल अधिकृतको रुपमा चिनाएको थियो । 

दिनेश अधिकारी (चरी) को इन्काउन्टरको आरोप डिएसपी ढुंगेललाई लागे पनि कानुनी रुपमा चरीको इन्काउन्टर तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीको आदेशमा मिरा चौधरीको टिमले गरेको थियो । त्यसबेला डिएसपी ढुंगेल काठमाडौं परिसरमा कार्यरत थिए । चरी इन्काउन्टरको केही समय पश्चात उनको काज परिसरबाट अपराध महाशाखामा भएको थियो ।

तर ढुंगेलले नै चरीको इन्काउन्टर गरेको दाबी तत्कालिन समयमा चरीका परिवारले गरेका थिए । प्रहरी संगठनमा ढुंगेललाई इन्काउन्टर स्पेसियलिस्ष्ट झंै बनाएर रामेछापबाट राता रात निमार्ण व्यवसायी शरद गौचनको हत्यारा मनोज पुनको ईन्काउन्टर गर्न रुपेन्देही खटाईको थियो । 

तत्कालिन समय कार्की नेतृत्व रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पुनलाई भारतबाट पक्राउ गरी ल्याएको थियो । तर पुनलाई संगठनमा गोली ठोक्ने हिक्मत अन्य प्रहरीमा नभएको झैं तत्कालिन आईजी प्रकाश अर्यालको नेतृत्वले रामेछापबाट डिएसपी ढुंगेललाई रुपेन्देही प्रहरीमा काज खटाएको थियो । 

संगठनले यति बिश्वास गरेका व्यक्ति, संगठनमा व्यवसायीक छवि भएका भनेर चिनिएका प्रहरी अधिकारीले विश्वास गरेका डिएसपी ढुंगेल अहिले आपराधिक गिरोहसँग साँठगाँठ गरेको ठहर गर्दै उनीमाथि अनुसन्धान सुरु भएको छ । 

आपराधिक गिरोहसँग नियमित सम्र्पक तथा आपराधिक कार्यमा सहयोग गरेर आर्थीक लाभ लिएको आरोपमा संगठनले डिएसपी ढुंगेलमाथि अनुसन्धान सुरु गरेको हो । शरद गौचन हत्याका अर्का मुख्य अभियुक्त समिरमानसिंह बस्नेत डिएसपी ढुंगेलका सानी आमाका भाई हुन् । 

उनीसँग मात्र नभई कुख्यात गुण्डा नाईके रमेश बाहुन भन्ने सुजन पौडेलसँग पनि दैनिक सम्बन्ध देखिएपछि ढुंगेल अनुसन्धानको दायरामा तानिएका थिए । गौचन हत्याका सुटर अमर राना मगरलगायतसँग पनि ढुंगेलको सम्बन्ध रहेको अनुसन्धानबाट देखिएपछि उनीबिरुद्ध गृह मन्त्रालय पनि शंकित भयो ।

यी अपराधिक गिरोहसँग उनको सम्बन्ध के हो भन्ने कुरा अनुसन्धान पछि खुल्ने अधिकारीहरू बताउँछन् । तर प्रहरी संगठनले भने गौचन हत्यादेखि कनकमणि दिक्षितसम्मको हत्या गर्ने योजनाका पर्दा पछाडीका खेलाडी ढुंगेल रहेको दाबीका साथ मिसिल तयार पारेर गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म ब्रिफिङ गरेको छ ।  

Post a Comment

0 Comments