Subscribe Us

ओलम्पिकमा ऐतिहासिक पदक विजेता इरानी खेलाडीद्वारा देश छोड्ने घोषणा

काठमाडौं । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् ।
उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् ।
इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदैनँ ।’
किमिया हाल कहाँ छिन् भन्नेबारे आधिकारिक जानकारी छैन । तर इरानी मिडियाहरुले उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुनसक्ने उल्लेख गरेका छन् ।
इरानी सैनिकले १७६ जना सवार युक्रेनको विमानलाई रकेट प्रहार गरेर खसालेको विरोधमा सरकारविरुद्ध प्रदर्शन भइरहेको बेला ओलम्पिक खेलाडीको यो भनाइ बाहिर आएको हो । इरानको आक्रमणबाट युक्रेनको विमान दुर्घटना हुँदा चालक दलका नौ सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।
सुरुमा इरानले विमानमा आक्रमण नगरेको बताएको थियो । तर पछि सेना प्रमुखले अमेरिकाले प्रहार गरेको ड्रोन ठानेर भुलबस युक्रेनी विमानमा आक्रमण गरेको भन्दै गल्ती स्वीकारेका थिए । त्यसपछि सरकारी अधिकारीले झूठ बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन् ।

Post a Comment

0 Comments