Subscribe Us

डीएसपीद्वारा आफ्नै श्रीमतीलाई गोली प्रहार

एजेन्सी । भारतको पञ्जाब प्रहरीमा सिंघमको नामबाट चिनिएका डिएसपी अतुल सोनीमाथि हत्याको प्रयास गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

सोनीले आफ्नै पत्नीमाथि गोली चलाएको आरोप लागेको छ । घटना शनिबार रातिको हो । शनिबार अबेर राति अतुल सोनी एक पार्टीबाट घर फर्किए ।


मध्यरात भइसकेकाले पत्नीले पनि ढोका खोल्न अबेर गरिन् । पत्नीले ढिलो ढोका खोलेपछि रिसाएका पतिले आफ्नै पत्नीमाथि गोली चलाएका थिए । तर गोलीबाट पत्नी जोगिइन् ।

घटनापछि डिएसपीकी पत्नी मोहाली प्रहरी चौकी पुगिन् र डिएसपीविरुद्ध उजुरी दर्ता गरिन् । प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

सोनीले आफ्नो सर्भिस रिवल्भरबाट नभएर अवैध रिवल्भरबाट गोली चलाएका थिए । सोनीकी पत्नीले घटनामा प्रयोग भएको हतियार र त्यसको खोल पञ्जाब प्रहरीलाई बुझाएकी छन् । अतुल सोनी अहिले फरार छन् ।

५० वर्षीय डिएसपी अतुल सोनीले १९९२ मा सहायक इन्स्पेक्टरको रुपमा जागिर शुरु गरेका थिए । उनी २०१८ मा डिएसपीमा प्रोमोसन भएका थिए । उनले तीनपटक अन्तर्राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरेका थिए ।

अतुल सन् २००६ संयुक्त राष्ट्रसंघको शन्ति मिसनका लागि कोसोवो गएका थिए । उनी पटकपटक कन्ट्रोभर्सीमा आएका प्रहरी अधिकृत हुन् । विमानस्थलमा अवैध बन्दुकको गोली ल्याएको अभियोगमा पक्राउ गरिएको थियो । यसअघि उनीमाथि अपहरण मुद्दा पनि चलेको थियो ।

Post a Comment

0 Comments