Subscribe Us

सातै प्रदेशमा आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुदै

काठमाण्डौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा आज बिहान १० देखि अपराह्न ४ बजेसम्म
हुदैछ ।


१८ पदका लागि आज निर्वाचन हुदैछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसक्नुभएको आयोगले जनाएको छ।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ।


 निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता भएको निर्वाचन आयोगले बताएको छ । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।



उनन्साठी सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो। एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ।

Post a Comment

0 Comments