Subscribe Us

एसपीहरुको सरुवा ; पर्सामा गंगा पन्त , चितवनमा गरुङ


काठमाण्डौं । एक महिना अगाडी चितवन सरुवा भएकी एसपी गंगा पन्तलाई चुनौतीपूर्ण जिल्ला पर्सामा सरुवा गरिएको छ । विभिन्न कारणले चितवन सरुवा भएर पनि जान नपाएकी एसपी पन्तलाई प्रहरी प्रधान कार्यालयले आज पर्सा जिल्लाको जिम्मेवारी दिएको हो । उनी प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

 एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रधान कार्यालयले  एसपी नातीराज गुरुङलाई पठाएको छ ।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना एसपी को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो र चितवनमा पन्त पठाइन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री को आडमा मल्लले प्रहरी हेडक्वार्टरको आदेश लत्याएका थिए । प्रचण्डलाई भनेर उनी सरूवा थमौती माग्नतिर लागेपछि विवाद भएको थियो ।


मल्लले प्रदेश प्रहरीको निर्देशन पनि लत्याएका थिए । तर, व्यापक दबावपछि २४ घन्टामा रमाना बुझे ।

प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा पन्तले फेसबुक कमेन्टमा ‘रिप’ लेखेपछि उनको केही अघि आलोचना भएको थियो । त्यही विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

गंगालाई पर्साको जिम्मेवारी

पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले उनलाई अत्यन्तै संवेदनसिल मानिएको पर्सा जिल्लाको जिम्मेवारी दिएको छ । फेसबुकमा लेखेको कमेन्टका कारण विवादमा आए पनि उनी प्रहरीभित्र व्यवसायिक अधिकृत मानिन्छिन् ।

पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ । उनीले अपराध अनुसन्धानमा पोख्त अधिकृतका रुपमा आफ्नो छवी बनाएका छन्   । राठौरसँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा काम गरेको अनुभव छ ।

बारामा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाइने भएको छ । यसअघि पन्तको विकल्पमा उनको नाम चितवनका लागि चर्चामा आएको थियो ।

काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं- प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ ।


Post a Comment

0 Comments