Subscribe Us

प्रहरीका केही ठूला अप्रेशन हत्यारालाई हालियो, ठगलाई तानियो


-विभिन्न हत्यामा संलग्न रहेका बस्नेतलाई चितवनमा पक्राउ गरी काठमाडौं झिकाएको प्रहरीले करोडौं ठगी गरी भारतमा लुकेका ज्ञवालीलाई तान्यो 

काठमाडौं । नेपाल प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको जागिर कुन दिन सकिन्छ र राजनीतिक पहुँचका आधारमा अपराधको बर्को ओढ्न पाइने हो भन्ने गिरोह अहिले सक्रिय हुन थालेको छ । केही समयका लागि आउने अर्का आईजी जो भए पनि राजनीतिक पहुँचका आधारमा तह लगाउन सकिन्छ भन्ने ‘मनको लड्डु’ बाँड्न थालिएको छ ।

अझ, राजनीतिक रूपमा नेकपामा बामदेव गौतमको पहुँच अझ बलियो हुन थालेपछि युवा संघमा लागेका आपराधिक समूहसँगको सम्पर्कमा रहेका कतिपयले त आईजी खनाल गए तस्करी, धम्की, फिरौति उठाउनेलगायतका कामका टाउको उठाउन पाइने रहर पनि  पालेका छन् ।

त्यसमा अहिले तत्कालिन माओवादीका मानिसहरूको पनि उस्तै फूर्ती रहेको बताइन्छ । आईजी खनालले जुवा अड्डा, बैंकिङ र वित्तिय अपराधमा समेत कडाई गरिदिँदा, भनसुन नसुन्ने गरी कारबाहीमा पठाइदिँदा चिढिनेको संख्या कम छैन । अझ पूर्वसभामुख कृष्णबहादुर महरालाईसमेत पक्राउ गरी कारबाहीमा पठाएपछि आईजी खनालको जागिर अवधि सकियोस् भन्न चाहने पूर्वमाओवादीको गिरोह पनि रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आईजी खनालको कामबाट प्रशन्न छन् । उनको कार्यकालमा भएका कतिपय सफल कामका कारण पनि ओली खुशी देखिएका हुन् ।

पहिलो चरणमा त निर्माण व्यावसायी शरदकुमार गौचनको हत्या, बुटवल युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्याकाण्ड र दावा लामालाई गोली प्रहार गरी फरार रहेका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई १७ मंसिर ०७५ मा पक्राउ गरिएको थियो । उनीसँगै यो आपराधिक काममा सक्रिय लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई काँकडभिट्टाबाट मिति १२ कात्तिक ०७५ मा पक्राउ गरिएको थियो ।
‘अपराध गर्नेलाई छुट नदिने नीतिअनुसार नै प्रहरी संगठनले गति पाएको छ । कुनै गुन्डाले टाउको उठाउने मौका पनि नदिने संगठन प्रमुखको नीति सफल भयो’, प्रहरी स्रोतले भन्यो ।

यस्तै, २३ फागुन ०६२ मा नेपालगञ्जका सुनचाँदी व्यावसायी दिपक हेमकरसहित उनका परिवारका ५ जनाको घाँटी रेटी हत्या गर्ने अभियुक्त किशोरीलाल सोनीलाई प्रहरीले पक्राउ गरेको थियो । सोनीलाई नेपाल भारत सीमा नाका जमुनाहबाट १३ असोज ०७५ मा पक्राउ गरिएको थियो ।

प्रहरीले निकृष्ट अपराधमा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा उभ्याएको थियो । १० भदौ ०७५ मा महोत्तरी औरही–१ मा ८ महिनाकी नाबालिकालाई अपहरण गरी बलात्कार गर्ने भङ्गाहा–६ का २६ बर्षिय भरत साहलाई ३ कात्तिक ०७५ मा प्रहरीले पक्राउ गरेको थियो ।

‘कुनै पनि अपराधले प्रश्रय नपाउने गरी गम्भिर ढंगले अनुसन्धानसाथ कारबाही गर्नका लागि भएको निर्देशनअनुसार नै प्रभावकारी काम भयो’, स्रोतले भन्यो ।

किर्ते कागजात बनाई करिब ७० करोड रुपैयाँ बराबरको ठगी गर्ने मुख्य योजनाकार राजनप्रसाद लम्साल, निरजकुमार मानन्धर, जितबहादुर मगर, कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी तथा करारमा कार्यरत २ जना कर्मचारी सहित १२ जनालाई २० भदौ ०७५ मा प्रहरीले पक्राउ गरी कारबाही चलाएको थियो ।

प्रहरीको कामलाई प्रभावकारी बनाउने क्रममा आईजी खनालको सिधा निर्देशनमा ठूला घोटाला र ठगी प्रकरणका अभियुक्तले पनि लुक्न पाएनन् । किष्ट बैंकका प्रबन्धक संचालक कमल ज्ञवाली, जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभललपमेन्ट बैंकबाट खराब धितोमा  १२ करोड ऋण लिई बैकिंग कसुर गरेको अभियोगमा ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैंया जरिवाना तोकिएको थियो । जो लुकेर भारतमा बस्दै आएका थिए । उनीहरूलाई १० असोज ०७५ मा पक्राउ गरिएको थियो ।


निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीको अनुसन्धान फितलो जस्तो देखिएको भन्दै विरोध भए पनि निक्कै अपराधमा संगठनका अधिकारी अब्बल देखिए । साढे ३३ किलो सुन प्रकरणका दोषी पक्राउ, प्रहरी अधिकारीलाई निलम्बन र कारबाहीका काम पनि भएका थिए ।

Post a Comment

0 Comments