Subscribe Us

७० कटेकालाई भाइटल रोल सूर्य थापाको तुजुग, रावलको हातमा चाबी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक पनि विवादरहित भएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले सुझाव दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुट चलाएको आरोप नै लगाए, लिखित रुपमा ।

यो आरोपपछि बैकठमा विवाद समेत भएको थियो । प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुझाव दिँदै थापाले गुट र उपगुटका विषयमा बामदेव गौतमको निवास भैंसेपाटीदेखि जावलाखेल बैठक र खुमलटारमा हुने नेताहरूको भेलालाई गुटको संज्ञा दिए । जसका कारण प्रचण्ड खेमा र पूर्वमाओवादी पक्ष रुष्ट भयो । कतिसम्म भने थापाको छुच्चो बानी भएको भनी टिप्पणी समेत भयो ।

त्यसो त थापा एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै मनपरी लेखेका कारण विवादमा आउने नेता नै बनेका थिए । उनले निरन्तर प्रचण्डविरुद्ध सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा पनि लेख्ने, बोल्ने गरेका थिए । उनैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारको जिम्मेवारी दिएपछि प्रचण्ड झस्किएका पनि थिए ।
एक त सचिवालयले गरेको निर्णयविपरित थापाले प्रचण्डमाथि गर्ने कटाक्षमा कमी आएन, त्यहाँमाथि सरकारी सुविधासहित प्रधानमन्त्रीकै सचिवालयमा प्रभावकारी जिम्मेवारी दिएपछि झस्किनु स्वभाविक भयो ।

‘पार्टीका नेता र पार्टीका सम्बन्धमा अनुशासन कायम गर्ने, सामाजिक सञ्जालमा नलेख्ने’ भनी सचिवालय बैठकले निर्णय गरेको थियो । थापा रोकिएका थिएनन् । उनले केन्द्रीय कमिटीको बैठकमा पनि सो विषयमा खरोसाथ सुझाव लेखिदिए । प्रचण्डले नै गुट चलाएको भन्ने सन्देश दिएपछि थापालाई हेर्ने दृष्टि अर्को बनेको स्रोतले जनायो ।
नेकपा स्रोतले भन्यो,‘पूर्वमाओवादीमा पनि त्यस्ता अनेक व्यक्ति छन् । जसले अध्यक्ष ओलीको हुर्मत लिनेगरी नै लेख्थे । त्यहि भएर आचारसंहिता लगाइएको थियो । तर त्यो लगाममा को आउने ?’
पूर्वमाओवादीतिर भने केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटालाई उदण्ड बोल्ने, मर्यादा कायम नराख्ने, भाषामा लौकिकता नभएको र पाण्ड कुरा धेर गर्ने व्यक्तिका रुपमा चित्रित गरिन्छ । खासगरी पूर्वएमालेले यसरी चित्रण गर्दै आएको छ । कतिसम्म भने युवा संघका सह संयोजक रमेश पौडेलले पनि उनका बारेमा टिप्पणी गरेका थिए ।

यी विषयमा केन्द्रीय कमिटीको बैठकमा राम्रैसँग मन्थन भएको एक नेताले बताए । ‘अब केही नेताले मर्यादा नाघेको थाहा पाए कारबाहीसम्म हुने कुरा भएको छ । यसले थापा, सापकोटाजस्ताको मुख कतिसम्म बन्द गर्छ हेर्न बाँकी छ’, एक केन्द्रीय सदस्यले भने ।

त्यसो त बैठकले धेरैका मुख बन्द गराउनका लागि त्यस्तै त्यस्तै जिम्मेवारी दिएको छ । एमसीसी सम्झौतको विरोधमा उफ्रिने नेकपा स्थायी कमिटीका सदस्य भिम रावललाई त्यसैको समाधान गर्ने कार्यदलमा राखिएको छ । झलनाथ खनाल संयोजक रहेको कार्यदलको सोमबार पहिलो बैठक पनि बस्यो । ‘एमसीसी पास गर्ने नै विषय भएपछि रावललाई चुप गराउनका निम्ति अध्यक्ष ओलीको सुझावका आधारमा नै कार्यदलको सदस्य राखिएको हो’, स्रोतले भन्यो ।

नेकपामा विविध समिकरण बन्दै गरेको थियो । सोही बीचमा ओलीविरुद्धको एउटा मोर्चा नेता बामदेव गौतमको घरमा बैठक बसेपछि अर्को चस्का पसेको थियो । त्यो चस्का समेतलाई निरुपण गर्नका लागि सचिवालयले निक्कै अघि प्रस्ताव गरेको गौतमलाई उपाध्यक्ष बनाउने निर्णयलाई केन्द्रीय कमिटीमा पेसियो र सर्वसम्मत निर्वाचित गरियो । यो निर्णय पनि केन्द्रीय कमिटीमा आएको सुझावविरुद्धको थियो । बैठकमा ७० बर्ष नाघेकालाई विश्राम लिनका लागि प्रस्ताव गरिएको थियो । तर गौतमलाई त्यहि सुझावविपरित निर्वाचित गरि भाइटल रोलको जिम्मेवारी दिनु उचित नभएको पनि बहस हुन थालेको छ । 

Post a Comment

0 Comments