Subscribe Us

प्रधानमन्त्रीलाई नयाँ मिर्गौला ! अकास्मात् नेपालमै फेर्नुपर्ने अवस्थाको गुह्य कारण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भोली (बुधबार) हुने भएको छ । 

सोमबारदेखि प्रधानमन्त्री ओली प्रत्यारोपणको पूर्वतयारीसहितको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा छन् । 

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले आइतबार प्रधानमन्त्री अ‍ोलीको स्वास्थ्य लाभको कामना गरेको थियो । यस्तै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्दै पशुपतिनाथले कृपा गर्ने सन्देश जारी गरेका थिए, जसको प्रत्युत्तरमा ओलीले धन्यवाद भनेका पनि थिए । 

लामो समयसम्म मिर्गौलाको परिक्षण सिंगापुर, थाइल्यान्डसम्म गरिरहेका उनको पहिलो प्रत्यारोपण भने भारतमा गरिएको थियो । बेलामौका सोही समस्याका कारण थाइल्यान्ड, सिंगापुरसम्म नियमित उपचार गरेका प्रधानमन्त्रीले अकास्मात् मिर्गौला प्रत्यारोपण नेपालमै गराउने निर्णयभित्रको खास कारण जनप्रहारले पत्ता लगाएको छ । 

अघिल्लो महिनासम्म उनको मिर्गौला सिंगापुरको अस्पतालमा फेर्ने तयारी गरिएको थियो । सोही कारण प्रधानमन्त्रीका लागि मिर्गौलादाता उनकी नातेदारलाई पनि सिंगापुर लगिएको थियो । तर अकास्मात् ओलीलाई एपेन्डिसाइट भएपछि प्रत्यारोपण धकेलिएको थियो । 

उच्च स्रोतका अनुसार मिर्गौला प्रत्यारोपणका लागि पूर्वस्वास्थ्य अवस्थाको पूर्ण जानकारी लिएपछि मात्र अस्पतालले उचित निर्णय लिने गरेको छ । उनका लागि मिर्गौला दिनेको स्वास्थ्यमा कुनै समस्या नदेखाएको सिंगापुरको अस्पतालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य रिपोर्टमा भने कुनै ‘रिस्क’ लिन मानेन । यसैकारण सिंगापुरमा गरिने भनिएको मिर्गौला प्रत्यारोपणको पूर्वयोजनामा प्रधानमन्त्री ओली र उनका निकटस्थहरूलाई धक्का पुग्यो । 

सिंगापुरको अस्पताल हच्किएपछि प्रत्यारोपणको सम्भावना बुझ्नका लागि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह अमेरिका पुगेकी थिइन् । ओलीको रिपोर्टमा देखिएको समस्या र प्रत्यारोपणको सम्भावनाका विषयमा बुझ्नका लागि अमेरिका पुगेकी शाह नेपाल फर्किएपछि ओलीलाई ब्रिफिङ भयो,‘प्रत्यारोपण गर्ने सम्भावना छ तर कुनै देशका कार्यकारी प्रमुखको प्रत्यारोपण गरिने भएकाले त्यस्तो गम्भिर रिस्क अमेरिकाले उठाउन सक्तैन ।’

तर प्रत्यारोपणका लागि डाक्टरलाई नेपालसम्म उपलब्ध गराउन सकिने आश्वासन भने शाहले पाएकी थिइन् । यसैकारण पनि ओलीको स्वास्थ्यअवस्थालाई प्रत्यारोपणको विन्दुसम्म पु¥याउन्जेल सातमा तीन पटकसम्म डायलासिस गर्ने व्यवस्था मिलाइएको थियो । 

त्यसो त भारतीय प्रधानमन्त्री मोदीले पनि ओलीको मिर्गौला प्रत्यारोपणका लागि उपयुक्त अस्पताल र उपकरणमा सहयोगी हुने, नयाँ दिल्ली वा भारतका नाम चलेका अस्पतालमा हुन सक्ने भन्दै सहयोगको अपिल नै गरेका थिए । जब, प्रधानमन्त्री ओलीको स्वास्थ्यका विषयमा अस्पतालले रिस्क लिन नसक्ने कुरा आयो, त्यसपछि उनी पनि मौन बसेका थिए ।

‘हाम्रो प्रधानमन्त्रीको स्वास्थ्यमा पर्न सक्ने जोखिम र सम्बन्धित अस्पतालले देखाएको गाम्भिर्यता दुवै जायज भएका कारण नेपालमै प्रत्यारोपणको निर्णयमा हामी पुगेका हौं’, बालुवाटार स्रोतले भन्यो,‘तर आवश्यक परेको खण्डमा भारतका मिर्गौला रोग विशेषज्ञको एउटा टोली नै स्ट्यान्डबाई राखिएको छ ।’

यस्तो खतराको संकेत पाएको भारतीय सरकारले पनि प्रधानमन्त्री ओलीका लागि जस्तोसुकै आकस्मिक सेवा दिनका लागि तयार रहेको बताइसकेको छ । भारतीय अधिकारीको यो विवरणले पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रतिशतका आधारमा सम्भव र असम्भव भन्ने चरणमा रहेको व्याख्या गरिएको छ । 
किन त्रिवि नै रोजियो ?
प्रधानमन्त्री ओलीका मिर्गौला प्रत्यारोपण नेपालमा गर्दा उनकी नीजि चिकित्सक डा. शाह समेत विभागीय प्रमुख रहेको ग्रान्डीमा हुने बताइएको थियो । तर प्रधानमन्त्रीको शल्यक्रिया रहेको र त्यसमा कम रिस्क लिनका लागि अन्त्यमा ग्रान्डी रोजिएन । 
विदेशमा समेत नजाने निर्णय भएपछि मिगौंला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता भएका कारण त्रिवि शिक्षण अस्पताल रोजिएको बालुवाटार उच्च स्रोतले जनाएको छ । 
मिर्गौला रोग विशेषज्ञ प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले उनको मिर्गौला प्रत्यारोपणको तयारी भएको छ । तर, ज्ञवालीसहितलाई सहयोगका लागि भारतको एपोलो अस्पतालका चिकित्सक पनि तयारी अवस्थामा राखिएको छ । पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको एपोलो अस्पतालका चिकित्सकको टोली तयारी अवस्थामा राखिएको हो ।    

मिर्गौला दाता भान्जी 
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने युवतीको नाम खुलाइएको छैन । नातामा भान्जी पर्ने उनी ३२ बर्षकी युवती हुन् । उनैलाई लामो समयसम्म सिंगापुरमा पनि राखिएको थियो । सचिवालयका सदस्यलाई पनि मिर्गौलादाता युवती प्रधानमन्त्री ओली आफैंले चिनाएका थिए । झापाकी ति युवतीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

 झापा, चारआलीकी उनी ओलीलाई अघिल्लो पटक मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी भएको खुलेको छ । ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको ति युवतीको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गर्ने तयारी भएको हो । चिकित्सकहरू गत मंसिर अन्तिमतिर नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका थिए । तर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि प्रत्यारोपणको मिति धकेलिएर अहिले आइपुगेको हो । 
प्रधानमन्त्रीमा आत्मविश्वास
मिर्गौला प्रत्यारोपणको निर्णय आफैंले गरेका प्रधानमन्त्री ओलीमा आत्मविश्वास बलियो रहेको पाइएको छ । सचिवालय बैठकमा पनि मिर्गौला प्रत्यारोपणको तयारी भएको जानकारी ओलीले नै गराएका थिए । प्रत्यारोपणपछि ५ दिन रेस्ट गरेपछि आफू सक्रिय हुने उनले सचिवालयमा बताएका थिए । त्यसो त सार्वजनिक फोरम रकतिपय ठाउँमा आफूले सक्रियताका साथ ५ बर्षसम्म सरकार चलाउने दाबी गर्ने प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सफल हुने र विश्वमा ५ पटकसम्म परिवर्तन गरिएको इतिहास रहेको सुनाउने गर्दथे । 
प्रधानमन्त्री ओलीलाई नजिकबाट चिन्ने बामपन्थी नेता राधाकृष्ण मैनालीका अनुसार आत्मविश्वास बलियो भएको मानिस हुन्, प्रधानमन्त्री । त्यसकारण विविध समस्यामा पनि उनले जीत निकालेका कारण स्वास्थ्यमा पनि उनको जीत हुन सक्ने आँकलन गर्दै आएका छन्, मैनाली ।  

Post a Comment

0 Comments