Subscribe Us

चन्द्रागिरीले नगर–प्रहरी राख्ने, प्रहरीका लागि भ्यान खरीद गर्दैै


काठमाडौँ, २ चैत । काठमाडौँको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । चन्द्रागिरीले नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड वजेट विनियोजन गरेको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्नका लागि ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर चाँडै नगर प्रहरी भर्ना गर्न लागेको जानकारी दिनुभयो ।

चन्द्रागिरीले सुरुमा २५ जनाको संख्यामा नगर प्रहरी भर्ना गर्न लागेको छ । “चन्द्रागिरीले नगर प्रहरीका लागि आवश्यक पर्ने भ्यान समेत खरीद गर्न लागेको छ,”–उहाँले भन्नुभयो ।

चन्द्रागिरी नगरपालिकाले दमकल र एम्बुलेन्स पनि खरिद गर्न लागेको हो । चन्द्रागिरीले नगरपालिकाभित्र आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि चालू आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाका प्रमुख, घनश्याम गिरीले चन्द्रागिरीमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद लागेको जानकारी दिनुभयो ।

उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको ८ नं वडामा १५ शैयाको नगरस्तरिय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । सोही अस्पतालमा विरामी ओसारपसारका लागि एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख गिरीले बताउनुभयो । 

यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड वजेट विनियोजन गरेको छ ।

नगरपालिकाले चन्द्रागिरीको मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । उक्त नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेश द्धारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्धार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसिटीभी समेत जडान गर्न लागेको जनाएको  छ । सिसिटीभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ ।
नगरपालिकाले सिसिटीभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ ।

चन्द्रागिरी नगरपालिका बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

Post a Comment

0 Comments