Subscribe Us

एसईई परीक्षा भोलीबाट,
चिटिङ गरे एक लाख जरिवाना तथा ६ महिना कैद

काठमाडौं । शिक्षा मन्त्रालयले ‘बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन सचेत गराउँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ६ चैतबाट सुरु हुने परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सामेल हुँदै छन् ।

परीक्षा नियन्त्रण कार्यालयले कोरोना भाइरसबाट जोगिन विद्यार्थीलाई सचेत रहन आग्रह गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्षको व्यवस्था समेत गरेको छ ।  विद्यार्थीमा रुघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था समेत परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । 

कोरना भाईरसको कारण परीक्षा स्थगित गर्नेकी भन्ने बिषयलाई लिएर केही बिबाद समेत उब्जिएको थियो । तर सबै ब्यवस्थापन गरेर परिक्षा नियन्त्रण कार्यालयले तोकिएकै समयमा परिक्षा सुरु गर्न लागेको हो । सबैभन्दा बढी बागमती प्रदेशबाट १ लाख ३ हजार ७ सय ३६ जना विद्यार्थीले परीक्षा दिँदै छन् भने सबैभन्दा कम कर्णालीबाट ३६ हजार ७ सय १४ विद्यार्थी परिक्षामा सहभागी हुने छन् । 

परीक्षामा अवाञ्छित गतिविधि तथा चिटिङ गरेमा १ लाख जरिमाना सहित ६ महिना सम्म कैद सजाँई हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थीले पटक पटक चिट गरेमा पूरै परीक्षा समेत रद्द हुन सक्नेछ । परीक्षा रद्द गर्ने अधिकार केन्द्राध्यक्षलाई दिईएको छ । 

‘विद्यार्थीले पहिलो पटक चिट गरे सचेत गराउने, दोस्रो पटक गरे एउटा विषयको परीक्षा रद्द र तेस्रो पटकमा पूरै परीक्षा रद्द गरिने कानुनी व्यवस्था रहेको छ । परीक्षाको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीसहित ६५ हजार कर्मचारी परिचालन गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।

Post a Comment

0 Comments