Subscribe Us

छाडा बाच्छाको उद्धार गरी नुवाकोट पठाइयो


काठमाडौँ, ४ चैत । चन्द्रागिरी नगरपालिकाले सडकमा छाडा रुपमा हिँड्ने बाच्छाको उद्धार गरी नुवाकोट पठाएको छ ।

नगरपालिकाको पशु सेवा शाखाले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र भित्रि सडकमा छाडा रुपमा हिँड्ने बाच्छाको उद्दार गरेको हो ।

नगरपालिकाका प्रवक्ता, हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न सडकबाट उद्धार गरिएका २० वटा बाच्छालाई नुवाकोटको तादी गाउँपालिका पठाएको जानकारी दिनुभयो ।

“सडकमा बसेर जथाभावी रुपमा सवारी जाम गर्ने, किसानले लगाएको बाली खाएर दुःख दिने बाच्छालाई उद्धार गरी नुवाकोटको तादी गाउँपालिका पठाएका छौँ,”–उहाँले भन्नुभयो । नुवाकोट पठाईएका बाच्छालाई वर गोरुका रुपमा जोत्नका लागि प्रयोग गरिँदै आएको छ ।

नगरपालिकाले सडकमा जथाभावी छाडिएका २५ बाच्छीलाई समेत उद्दार गरेको छ । उद्धार गरिएका बाच्छीमध्ये १८ गौशाला र पाँच लगनखेल पठार्ईएको प्रवक्ता महर्जनले बताउनुभयो ।

यस्तै, चन्द्रागिरीले नगरपालिकाभित्र रहेका १७७ सुत्केरी गाई र बाच्छालाई पोषण तत्व वितरण गर्नुका साथै बाच्छाबाच्छी बस्नका लागि म्याट वितरण गरेको छ ।

चन्द्रागिरीले नगरपालिकाको ५,६,१० र ११ वडाभित्रका सडकमा हिँड्ने छाडा कुकुरको बन्ध्याकरण समेत गरेको छ । नगरपालिकाले महादेवस्थान, सतुङ्गल क्षेत्रबाट १४८ छाडा कुकुरको बन्ध्याकरण गरेको हो ।
नगरपालिकाले घरपालुवा तथा छाडा गाइवस्तु तथा कुकुरबाट रोग लाग्न नदिन सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ ।

Post a Comment

0 Comments