Subscribe Us

मनकारी रामनारायण : जसले चन्द्रागिरीमा १४५ व्यक्तिलाई खाद्यान्न बाँडे



काठमाडौँ, २१ चैत । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरी नगरपालिकामा ३४ परिवारका १४५ जनालाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाल उद्योग सङ्घ चन्द्रागिरी चेम्बरले चन्द्रागिरीभित्र दैनिक मजदूरी गरेर जीवनयापन गर्दै आएका उनीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

चेम्बरका अध्यक्ष रामनारायण घिमिरेले विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै नेपालमा समेत लकडाउन गरेपछि दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्न समस्या परेका व्यक्तिलाई राहत सहयोग गरेको जानकारी दिनुभयो ।

चन्द्रागिरी चेम्बरले प्रतिपरिवार दश किलोग्राम चामल, एक  किलोग्राम दाल, एक किलोग्राम नुन, एक लिटर तेल, एक किलोग्राम दालमोठ, एक किलोग्राम चिनी, ४०० ग्राम मस्यौरा, एक पुरिया साबुन, दुई किलोग्राम च्यूरा, सानो एक÷एक प्याकेट मसला र खुर्सानी वितरण गरेको हो ।

यस्तै, चन्द्रागिरी चेम्बरले ग्याँस र भाडाँसमेत नभएका दुईजना दिदिबहीनीलाई ग्याँस र भाडाँकुडासमेत वितरण गरेको छ ।

चन्द्रागिरी चेम्बरका उपाध्यक्ष रोशन दानीले खानाको अभावले कोहीपनि व्यक्ति भोकभोकै नमरोस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरेको बताउनुभयो । “चन्द्रागिरीभित्रका मजदूर र विद्यार्थीलाई आगामी दिनमा पनि सहयोग गर्दै जान्छौँ,”–उहाँले भन्नुभयो ।

यसअघि चन्द्रागिरी चेम्बरले चन्द्रागिरी नगरपालिकाभित्र पाँच हजार ७०० थान माक्ससमेत वितरण गरिसकेको छ । चन्द्रागिरी नगरपालिकाले पनि राहत मापदण्ड तयार गरेको छ  । नगरपालिकाले कोभिड–१९ को कारण भएको लकडाउनले खाना नपाएका व्यक्तिलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको संख्या, आफुले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।

Post a Comment

0 Comments