Subscribe Us

नुवाकोट किस्पाङ गाउँपालिकाका लागि पिपिई तथा एप्रोन सेट हस्तान्तरण


नुवाकोट २५ चैत । विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको किस्पाङ गाउँपालिकाका लागि १० थान पिपिई तथा एप्रोन सेट हस्तान्तरण गरिएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज० तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा किस्पाङ गाउँपालिका भित्र सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई तथा एप्रोन सेट उपलब्ध गराइएको हो । समाजसेवी अधिकारीका अनुसार, उक्त सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद माननीय बहादुरसिंह लामा मार्फत किस्पाङ गाउँपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रहरूमा वितरण गरिनेछ ।


हामीसँगको संक्षिप्त कुराकानीमा समाजसेवी अधिकारीले विपद्को घडीमा जनतासँग सुखदुःख साट्ने र सबैलाई सुरक्षित बनाउने आफ्नो अभियान अन्तर्गत स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराइएको बताए । अधिकारीले आफ्नो अभियानमा साथ दिई सहयोग गर्ने वरिष्ठ पर्यटन व्यवसायी तथा एक्सप्लोर हिमालय ( ठमेलका सञ्चालक सुमन पाण्डे प्रति विशेष आभार प्रकट गरे । यसका साथै, उनले पिपिई तथा एप्रोन सेटको वितरणको जिम्मा लिई कोरोना विरुद्धको अभियानमा साथ दिएका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाप्रति समेत आभार प्रकट गरे ।


यता, नुवाकोटमा विकास प्रेमी नेताको छवि बनाएका सांसद लामाले स्पाङवासीको सुरक्षाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा समाजसेवी अधिकारीलाई धन्यवाद दिँदै मानवसेवाको उनको अभियानमा आफूले सधैँ साथ दिने प्रतिबद्धता जनाए ।


अभियानका बीच यसअघि अधिकारीले नुवाकोटको तारकेश्वर गाउँपालिकामा घरघरै मास्क वितरण गरिसकेका छन् । उनको संयोजनमा हालै तारकेश्वर गाउँपालिकाकाका ६ वटै वडामा गरी कुल १० हजार ७०० थान मास्क तथा ३०० थान स्यानिटाइजर वितरण गरिएको छ ।


गाउँपालिकावासीलाई संकटमा साथ दिने अधिकारीको अभियानमा ठमेल पर्यटन विकास परिषद्की वरिष्ठ उपाध्यक्ष तथा युवानेत्री गीता गुरुड, समाजसेवी सीताराम विष्ट, ओआरटुके रेस्टुरेन्ट ठमेलका सञ्चालक तथा समाजसेवी कृष्ण पाण्डे, भिलेज टुरिजम नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेल तथा केन्द्रीय सदस्य सुधीरशमशेर जंगबहादुर राणा, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नुवाकोट जिल्ला अध्यक्ष रमेशकुमार पाठक, युवा व्यवसायी तथा समाजसेवी मनोजकुमार वस्ती लगायतले सहयोग गरेका छन् । आजै एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीले आफ्नो मानवसेवाको महाअभियानमा सँगसँगै दौडिएर साथ दिएकोमा सम्पूर्ण सहयोगी हातहरुलाई विशेष धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।


विगत एक दशकदेखि नुवाकोटमा समाजसेवाका कार्यमा सक्रिय अधिकारीको संयोजनमा लकडाउनअघि ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि २ दिने निस्शुल्क बसको व्यवस्था समेत गरेका थिए । त्यतिखेर यात्रुको सुरक्षाका लागि मास्क पनि वितरण गरिएको थियो । चैत १० गतेदेखि सरकारले लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाएपछि भने बस सेवा रोकिएको थियो ।


भूकम्पका वेला पनि नुवाकोटवासीलाई आफ्नो तर्फबाट सहयोग गरेको स्मरण गर्दै समाजसेवी अधिकारीले अप्ठ्यारोमा सहयोग गर्नु मानवीय धर्म भएकाले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताएका छन् ।

Post a Comment

0 Comments