Subscribe Us

बोधिसत्व विहारले लकडाउनको समयमा एक लाख बढीलाई खाना खुवायो


काठमाडौँ, १२ जेठ । यतिखेर पूरै विश्व कोरोना महामारीले आक्रान्त छ । नेपाल पनि यो महामारीबाट नराम्ररी प्रभावित भइसकेको छ । एकातिर महामारी फैलने त्रास र यसलाई रोक्नैपर्ने चुनौती छ, जसका कारण दुर्ई महिनादेखि सम्पूर्ण रुपमा बन्द मुलुक तेस्रो महिना पनि बन्दाबन्दीमै बस्नुपर्ने बाध्यता छ ।

अर्कातिर तन्किँदै गएको लकडाउनले अर्थतन्त्रमा गम्भीर संकट ल्याइसकेको छ । उद्योग, व्यवसाय ठप्प छन्, लाखौँले रोजगारी गुमाएका छन् । निम्न आय भएका र दैनिक आर्जनमा गुजारा गर्नेहरु त लकडाउन सुरु भएदेखि नै संकटमा थिए, अब त राम्रै सञ्चिति हुनेहरुको पनि गुजारा कठिन बन्न थालेको छ । कसैलाई भोकै मर्न नदिने सरकारको बोली व्यवहारमा उत्रिन सकिरहेको छैन ।

यस्तोमा केही धार्मिक तथा सामाजिक संघसंस्थाले भने मानवसेवामा राम्रै क्रियाशीलता देखाइरहेका छन् । तीमध्ये अग्रपंक्तिमा देखिएको एक संस्था हो बोधिसत्व विहार, जसले लकडाउनयता मात्रै एक लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको छ ।

बोधिसत्व विहार मानवसेवामा समर्पित बैद्धमार्गीहरुको अन्तर्राष्ट्रिय समूह हो । ताइवानमा मूल विहार रहेको बोधिसत्वका नेपाल, चीन, हङकङ, मलेसिया, भारत, अमेरिका, क्यानडा, सिंगापुर लगायत मुलुकमा शाखा छन् ।

यतिखेर बोधिसत्वका मूल गुरु हेगुवाङ शी नेपालमा छन् । लकडाउनअघि नेपाल आएका उनी अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यतै अड्किएका हुन् । यसै मौकामा नेपालमा समाजसेवी शान्त शर्मा लगायतको पहलमा ुलकडाउन सपोर्ट फुड च्यारिटीु सञ्चालन गरिएको हो, जसअन्तर्गत १७ अप्रिलदेखि उपत्यकाका १८ स्थानमा निःशुल्क भान्सा सञ्चालनमा छन् ।

फुड च्यारिटीको नेतृत्व गरिरहेका शान्त शर्माका अनुसार १७ अप्रिलदेखि बोधिसत्वले बाँसवासीस्थित सेन्ट्रल किचेनबाट मात्रै टिचिङ, कान्ति र गंगालाल अस्पतालका दैनिक १५ सयदेखि ३ हजार बिरामी तथा कुरुवालाई खाना र पानी खुवाइरहेको छ । यसका अतिरिक्त उपत्यकाका विभिन्न स्थानमा श्रमिकहरुलाई लक्षित गरी ५ वटा ठूला र १३ वटा पकेट किचेन सञ्चालनमा छन् ।

ठूला किचेन सबैका लागि खुला रहन्छ भने पकेट किचेन निश्चित समूहकेद्रित छ । बोधिसत्व विहारले आफ्ना किचेनमा आउनेजति सबैको प्राथमिक स्वास्थ्यपरीक्षण गर्छ । उनीहरुलाई स्वास्थ्य शिक्षा तथा परामर्श दिन्छ । हालको महामारीबाट कसरी बच्नेदखि लिएर व्यक्तिगत अनि घरवरपरको सरसफाइबारे सचेत गराउँछ । मास्क लगाउनु र हात धुनुको महत्व सिकाउँछ । कुपोषणबारे चेतना र गर्भवतीलाई चाहिने स्वास्थ्य परामर्श दिइरहेको छ ।

बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्तिदेखि ठूला किचेन बन्द गरिएका छन् । यसअघि, २३ मार्चसम्ममा सबै किचेनबाट गरी १ लाख ३ छाक खाना खुवाइएको तथ्यांक शान्तसँग छ । शान्तका भनाइमा पकेट किचेन भने चलिरहने छ र त्यसलाई अझ विस्तार गर्ने उनीहरुको योजना छ ।

पकेट किचन विशेषगरी श्रमिकहरुका छाप्रे बस्तीमा केन्द्रित छ । बस्ती बस्तीमा रहेका यस्ता किचेनका लागि ग्यास, रासन, तरकारी लगायत सबै आवश्यक वस्तु विहारले उपलब्ध गराउँछ । पकाएर खाने काम भने उनीहरुले नै गर्नुपर्छ । यसभित्र सामाजिक दुरी कायम गर्नुपर्ने सुझावसहित स्वयंसेवकहरुले त्यसको निगरानी गर्ने गरेका छन् ।

हरेक पकेट किचेनमा शिशुहरुलाई उमेरअनुसार ल्याक्टोजिन र लिटो दिइन्छ । बालक तथा वृद्धलाई विहारले घरमै बनाएको २० पौष्टिक तत्वयुक्त सर्वोत्तम पिठो दिने गरेको छ । अहिले सुत्केरीलाई चाहिने जडीबुटीयुक्त औषधिको तयारी चल्दै छ । छिटै त्यसको वितरण सुरु हुने शान्त बताउँछन् ।

अर्कातिर बोधिसत्वले स्वास्थ्य शिक्षा र सुरक्षामा पनि काम गरिरहेको छ । ठाउँठाउँमा मानिसहरुको आधारभूत परीक्षण गरी स्वास्थ्य शिक्षा र परामर्श दिइरहेको छ । विभिन्न जिल्लामा पुगेर फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेको छ । लकडाउनका बेला सानो साने स्वास्थ्य समस्यामा अस्पताल धाउनु नपरोस् भनेर ठाउँ ठाउँमा आपत्कालीन प्राथमिक उपचार किट पनि वितरण गरेको छ ।

यसक्रममा बोधिसत्व विहारले नेपालगञ्जमा ५० सेट पिपिई, २० लिटर स्यानिटाइजर, स्यानिटाइजर स्प्रे मेसिन र २ थान थर्मल गन पठाएको छ । परासीको पृथ्वीचन्द्र अस्पताललाई लागि ५ सेट पिपिई, ५०० थान मास्क र ५०० थान ग्लब्स सहयोग गरेको छ । थापाथलीस्थित प्रसूति गृहलाई ५ सेट पिपिई, १३०० मास्क र १०० जोडा ग्लब्स तथा सुन्धारास्थित केन्द्रीय कारागारलाई २ सेट पिपिई, ३०० मास्क, ३०० जोडा ग्लब्स, १०० लिटर फिनाइल, ६० लिटर हार्पिक र एउटा थर्मल गन उपहार दिएको छ ।

शान्तकै नेतृत्वमा विहारले उपत्यका छिर्ने सबै मुख्य नाकामा खटिएका सुरक्षाकर्मीलाई पिपिई, मास्क लगायत सुरक्षा सामग्री वितरण गर्दै छ । नागढुंगा र मुड्खु चेकपोस्टमा सिडियो कार्यालयका प्रतिनिधि राखेर सामग्री वितरण गरिसकिएको छ भने भक्तपुर र दक्षिणकाली नाकामा वितरण हुन बाँकी छ ।
बोधिसत्वले स्वास्थ्य तथा राहत सामग्री वितरण गर्दा स्थानीय जनप्रतिनिधि वा सिडियो कार्यालयका प्रतिनिधिको रोहवरमा गर्ने गरेको छ । सरकारले लिएको एकद्वार नीतिलाई असर नपर्ने गरी प्रशासनसँगको समन्वयमा मात्रै काम गरिरहेको शान्त बताउँछन् ।

शान्त नेतृत्वको आपत्कालीन सेवा सञ्चालक समूहमा अनुप थापा, सागर थापा, एन्जेलिना थापा, निश्चल क्षेत्री, प्रमिला कार्की सिम्रन केसी लगायत छन् । उनीहरु यतिखेर किचेन सञ्चालनदेखि स्वास्थ्य तथा राहत सामग्री वितरणका काममा विभिन्न जिल्लामा खटिइरहेका छन् ।

खासमा बोधिसत्व विहारको उद्देश्य मानव मात्र नभएर सम्पूर्ण प्राणीजगत्को सेवा हो । अहिलेको लकडाउनमा विहारले स्वयंभू क्षेत्रका बाँदरहरुलाई दैनिक चना, बिस्कुट, फलफूल खुवाइरहेको छ । पाँच वर्षअघि महाभूकम्पपछिको राहतमा पनि विहारले सम्झन लायक काम गरेको थियो ।

Post a Comment

0 Comments