Subscribe Us

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद दवाडीको माग


पोखरा, १३ जेठ । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले भारत र विभिन्न मुलुकबाट नेपाल आउन चाहने नेपालीलाई नेपालमा ल्याएर उचित क्वारेन्टाइनमा राख्न माग गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा शुन्य समयमा बोल्दै उहाँले कोरोना भाइरसका कारण विश्वका विभिन्न देश र भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद दवाडीले लकडाउनका कारण गोरखाका उत्तरी क्षेत्र बारपाक–सुलिकोट, अजिरकोट, सिरानचोकलगायत क्षेत्रका किसानहरु विउ, मलको अभाव हुनुका साथै दैनिक गुजारा टार्नसमेत मुस्किल परेको बताउनुभयो । “कृषि क्रान्तिको नारा दिने सरकारले कृषकलाई विचल्लीमा पारेको छ,”–उहाँले भन्नुभयो ।

उहाँले कोरोनाको उपचारका लागि प्रदेश सरकारले दिएको बजेट जिल्ला अस्पताललाई रु १० लाख  र जिल्ला प्रशासन कार्यालयलाई रु १५ लाख दिएर विभेद गरेको उल्लेख गर्नुभयो ।

Post a Comment

0 Comments