Subscribe Us

तारकेश्वरका केहि जनप्रतिनिधि र अमुक व्यक्तिको दम्वको कुनै अर्थ छैन : शिव अधिकारी


काठमाडौँ, २६ जेठ । नुवाकोटमा कोरोनाप्रतिरोधी अभियान चलाइरहेका गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी अविरलले तारकेश्वर गाउँपालिकाभरिका सबै क्वारेन्टिनमा स्वास्थ्य सामग्री पठाएका छन् । अधिकारीले पठाएको मास्क, ग्लब्स, स्यानिटाइजर, साबुन लगायत स्वास्थ्य सामग्री तारकेश्वरका पिमलटार, पिपलडाँडा, नेवारपानी, कालीमाटी र दाङसिङका क्वारेन्टिनलाई हस्तान्तरण गरिसकिएको छ भने फलाँटेसहित केही क्वारेन्टिनमा सामग्री पुग्ने क्रममा छ ।

भारतबाट सकसपूर्ण रुपमा गाउँ आइपुगेका साथीहरुलाई क्वारेन्टिनमा बस्दा केही सहज होस् भनेर स्वास्थ्य तथा सरसफाइका सामग्री पठाइएको अधिकारीले बताएका छन् । आफ्नो विशुद्ध मानवसेवाको कार्यमा राजनीतिक प्रतिशोधको भावना राखेर केही जनप्रतिनिधिबाटै बिथोल्ने प्रयास भएको भन्दै अधिकारीले सबै मिलेर गाउँको सेवामा लाग्नुपर्ने यो संवेदनशील अवस्थामा यस्ता हर्कत आफैँमा निन्दनीय हुने, तर यिनको कुनै अर्थ नरहने प्रतिक्रिया दिएका छन् । ूपूर्वाग्रहले भरिएका र राजनीतिक कुन्ठा पालेर बसेका केही अमुक व्यक्तिले हाम्रो अभियानमा अवरोध पुर्याउने चेष्टा गरिरहेका छन् । केही जनप्रतिनिधि समेत यसमा सामेल हुनु खेदपूर्ण र निन्दनीय विषय हो,ू हामीसँगको संक्षिप्त टेलिफोन संवादमा अधिकारीले भने, ूयस्ता हर्कतहरुको कुनै अर्थ छैन । यसबाट हामी कत्ति पनि बिचलित हुँदैनौँ ।ू

यसअघि घरघरै मास्क वितरणको अभियानमा पनि यस्तै अवरोधको प्रयास भएको स्मरण गर्दै उनले हीन मनोभावनाले प्रेरित यस्ता हर्कतबाट आफू कत्ति पनि बिचलित नहुने र आफ्नो अभियान जारी रहने बताए ।

सामग्री पुगिसकेका क्वारेन्टिनमा पनि आवश्यक परे थप सामग्री पठाउन तयार रहेको बताउँदै अधिकारीले क्वारेन्टिन बसेका साथीहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह गरेका छन् ।
कोरोना महामारी सुरु भएदेखि नै तारकेश्वरसँगै छिमेकी गाउँपालिकाहरुमा समेत कोरोना प्रतिरोधी अभियान चलाइरहेका अधिकारीले पछिल्लो समय भारतमा रहेका नेपालीको उद्धार र उनीहरुका लागि व्यवस्थित क्वारेन्टिनका विषयमा चासो देखाइरहेका छन् । गत साता एक वक्तव्य जारी गर्दै उनले भारतबाट फर्किन चाहनेहरुलाई घर फर्किने वातावरण मिलाउन स्थानीय सरकारसँग अपिल गरेका थिए । त्यसका लागि केन्द्र, प्रदेश र विभिन्न संघसंस्थासँग समन्वय गरी दवाव सिर्जना गरिरहेको भन्दै उनले अप्ठेरोमा परेका तारकेश्वरवासीको घर फिर्तीका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताएका थिए । अहिले स्थानीय सरकारको समन्वयमा भारतमा रहेकाहरु घर फर्किने क्रम सुरु भए पनि उनीहरुको यात्रा निकै कष्टकर भएको र गाउँका क्वारेन्टिन व्यवस्थित नहुँदा आएपछिको बसाइँ पनि सकसपूर्ण बनेको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

ूहामीले भारतमा रहेका साथीहरुलाई तत्कालै गाउँ फर्किने वातावरण बनाउन अपिल गरेका थियौँ, आवश्यक सबैखाले सहयोग उपलब्ध गराउने वचन पनि दिएका थियौँ । हामी सीमादेखि गाउँसम्म सजिलोसँग आउने गरी बसको व्यवस्था गर्न पनि सक्थ्यौँ । हामीले भनेका पनि थियौँ । साथीहरुसँग समन्वय भइरहेको पनि थियो,ू लकडाउनअघि र बिचमा लकडाउन खुकुलो भएका बेला राजधानीबाट गाउँ फर्कन चाहनेहरुका लागि दर्जनौ बस निःशुल्क पठाएका अधिकारीले भने, ूतर, यसमा हामीले चाहेर मात्र केही हुने अवस्था थिएन ।

 स्थानीय सरकारले नै समन्वय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको अग्रसरताविना केही गर्न सकिने कुरै भएन । गाउँ ल्याउने विषयमा ढिलै भए पनि काम त सुरु भयो, तर आउनेहरुको यात्रा भने ज्यादै कष्टपूर्ण भएका गुनासाहरु आइरहेका छन् । त्यति लामो यात्रामा बाटामा पानीसम्म पिउने वातावरण मिलाइएको देखिएन । खाना खाजाको त कुरै छाडौँ । किनेर खान पनि दिइएन भन्ने छ । यस्तो हरिबिजोगको यात्रा गरेर आएपछि बस्ने क्वारेन्टिनको हालत पनि उस्तै छ ।ू
प्रवासी तराकेश्वरवासीको उद्धार र क्वारेन्टिनमा भइरहेको लापरबाहीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको अधिकारीले बताएका छन् ।

नाकामा अझै थुप्रै अलपत्र रहेका भन्दै अधिकारीले नाकामा अड्किएकालाई सजिलोसँग गाउँ आउने र आएकालाई सजिलोसँग क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन गाउँ सरकारसमक्ष पुनः अपिल गरेका छन् ।

Post a Comment

0 Comments