Subscribe Us

नेविसंघमा को–को भिड्दैछन् ?

काठमाडौं । सात पटकसम्म मिति तोकिएर स्थगित हुँदै आएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन हुनेमा अझै शंका भएपनि विद्यार्थी नेताहरु भने महाधिवेशनको तयारीमा जुटेका छन् । यही कात्तिक ३० गतेदेखि काठमाडौंको कीर्तिपुरमा महाधिवेशनको मिति तय भएको छ । 

मंगलबार बसेको नेपाली काँग्रेस पार्टी पदाधिकारी बैठकले कात्तिक ३० देखि मंसिर २ गते महाधिवेशन गर्ने नेबिसंघको प्रस्ताव अनुमोदन गरी प्रस्तावित विधान समेत संसोधन गरेपछि महाधिवेशनमा केही रौनक थपिएको हो । प्रस्तावित विधानअनुसार १ अध्यक्ष निर्वाचित र मनोनित गरि २ महामन्त्री, ७ उपाध्यक्ष ८ सहमहामन्त्री, १ कोषाध्यक्षसहित १ सय २१ सदस्यीय केन्द्रीय समिति हुने जनाइएको छ ।
 
नेबिसंघको अध्यक्षका लागि संस्थापन पक्षबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराई, केदार कार्की, निलकण्ठ रिजाल, क्षितिज भण्डारी, दीपक अधिकारी, बाबुराम कोइरालालगायत आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट एउटा मात्र प्यानल बनाउने प्रयासमा कांग्रेस नेताहरु गगन थापा, गुरु घिमिरे, गोबिन्द भट्टराईलगायतका नेताहरु खटिए पनि प्यानल बन्ने अवस्था भने देखिएको छैन । नेता थापाले काफ्ले र आचार्यमध्ये एकलाई अध्यक्ष बनाउनुपर्ने अडानमा छन् भने भट्टराई चाहिं दिपक भट्टराईलाई अध्यक्ष बनाउनुपर्ने अडानमा छन् । दिपक पनि नेविसंघमा चर्चित नेतामा गनिन्छन् ।
 
यसैगरी देउवा पक्षमा जितजङ्ग बस्नेत, नैनसिंह महर, शुभराम बस्नेतलगायतले नेबिसंघको नेतृत्वमा दावी गरेका छन् । आकांक्षीहरुलाई सहमतिमा ल्याउन विमलेन्द्र निधी, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरुले प्रयास जारी राखेका छन् ।  देउवा पक्षबाट जितजङ्ग बस्नेतको नेतृत्वमा एउटा मात्र प्यानल बन्ने सम्भावना छ ।
 
त्यस्तै महिलाबाट अध्यक्षका लागि नेतृ श्रृजना अधिकारीले पनि आकांक्षा देखाएकी छन् भने महामन्त्रीमा उर्मिला थपलियाले प्रचार प्रसारलाई तिव्र बनाएकी छन् । त्यसैगरी महामन्त्रीमा रामप्रसाद अधिकारी, मोतिलाल भण्डारी, मनोज कोइराला, रत्न कार्की, सरोज थापालगायतले दावी गरिरहेका छन् । नेबिसंघले महाधिवेशनमा भ्रष्टाचार, कालोबजारी, नेपाल बन्द, चक्काजाम र शिक्षण संस्था बन्द नगर्ने तथा चन्दा नउठाउने लगायतका एजेण्डा तय गरे पनि अध्यक्ष रञ्जित कर्णले आफ्ना भरौटेमार्फत विभिन्न शैक्षिक संस्थामा अनावश्यक माग राखी लाखौं रुपैयाँ वार्गेनिङ गरिरहेका छन् ।

Post a Comment

0 Comments