Subscribe Us

नेपाल प्रहरीलाई एक लाखको जीवन बीमा

काठमाडौँ । नेपाल प्रहरीको छ दशक लामो इतिहासमा पहिलोपटक प्रहरी कर्मचारीका लागि रु एक लाखको जीवन बीमाको व्यवस्था गरिएको छ । 

सरकारले गत कात्तिक २३ गते प्रहरीलाई रु एक लाखको जीवन बीमाको व्यवस्था गर्ने निर्णय गरेसँगै सोहीबमोजिम प्रहरी नियमावलीमा त्यसको व्यवस्था गर्न लागेको हो । 

मन्त्रिपरिषद्ले गरेको सो निर्णयअनुसार बीमाका लागि प्रत्येक प्रहरीको मासिक तलबबाट कट्टा गरिने रु २०० र सरकारका तर्फबाट रु २०० थप गरी जम्मा रु ४०० कोषमा जम्मा गरिने प्रहरी प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले जानकारी दिए ।  

जीवन बीमा कार्यक्रमअन्तर्गत जम्मा भएको रकम सहभागी प्रहरी कर्मचारीलाई सेवाबाट निवृत भएमा र प्रहरी कर्मचारीको मृत्यु भएमा भुक्तानी दिइने व्यवस्था गर्न नियमावली संशोधनका लागि पठाइसकेको प्रवक्ता बमले बताउनुभयो । यो कार्यक्रम चालु आर्थिक वर्षबाट लागू हुने बताइएको छ । 

कोषमा रकम कट्टा गर्न सुरु गरेको २० वर्ष अवधि नपुगी कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको परिवारले रु एक लाख बीमा रकम पाउनेछ  । सो कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारी सेवाबाट अवकाश भएमा भने रकम कट्टी गरेको वर्षका आधारमा रु १० हजारदेखि रु एक लाखसम्म भुक्तानी पाउने व्यवस्था रहेको छ । 

त्यस्तै प्रहरी कर्मचारीले जम्मा गरेको कोषको वार्षिक प्रतिफल भने आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिने उनले बताए । यसअघि प्रहरीको कल्याणकारी महाशाखाले २०६९ सालदेखि प्रहरी कर्मचारीका लागि आफैँ विशेष कल्याणकारी योजनाअन्तर्गत सोही प्रकृतिको व्यवस्था गर्दै आएको छ । सो योजनाअनुसार प्रत्येक कर्मचारीको तलबबाट प्रति महिना रु २५० जम्मा गर्ने र कार्यकालभर मृत्यु भएमा रु तीन लाखको बीमा रकम दिने तथा अवकाश हुँदा ब्याजसहितको रकम पाउने व्यवस्था छ । 

कल्याणकारी योजनामा दर्जाअनुसार रु एक लाखदेखि रु दुई लाख ५० हजारसम्म सहुलियत ब्याजदरमा कर्जा र कडा प्रकृतिको रोग लागेका वहालवाला कर्मचारीलाई रु एक लाखसम्म उपचार सहयोग दिने व्यवस्था रहेको प्रवक्ता बमले बताए । यसबाहेक प्रहरीको कल्याणकारी कार्यका लागि संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति कार्यमा खटिने प्रहरीको पारिश्रमिकबाट जम्मा हुने ‘नेपाल प्रहरी कल्याण कोष’समेत रहेको छ । 

Post a Comment

0 Comments