Subscribe Us

आतंकवादीकी श्रीमतीलाई २ करोड जरिवाना

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । 

गिरीका पति निरञ्जन होजाई भन्ने भारतीय नागरिकलाई भने सर्वोच्च अदालतले ८ करोड रुपैयाँ जरिवाना गरी ४ बर्ष कैद गरेको छ । उनी निर्मल राई नामले नेपाली नागरिकता लिई नेपालमा बस्दै आएका थिए ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई नै सदर गरी ती दुईलाई उक्त सजाय गरेको हो । 

भारतीय नागरिक होजाईले नेपालमा बसी हाउजिङ कम्पनि र गाडीको कारोबार गर्ने कम्पनि खोलेको र सोबमोजिम उल्लेख्यरुपमा घर र गाडीको कारोबार गरेको बताइएको छ । त्यस्तो कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह भएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

भारतीय नागरिक भएको थाहा भएपछि होजाईलाई नेपाल प्रहरीले पक्राउ गरी केही बर्षअघि भारत पठाएको थियो । भारतीय उग्रवाम संगठन ब्ल्याक विडो ग्रुप आसामका सैन्य कमाण्डरका रुपमा कार्यरत रहेको बेला नेपाल प्रहरीले उनलाई भारतीय प्रहरीको जिम्मा लगाएको थियो ।

Post a Comment

0 Comments