Subscribe Us

मातहतलाई दबाब दिने एआईजी थापालाई आईजीपीको चेतावनी,
क्यासिनोमा कडाई गर्न निर्देशन

काठमाडौं । आईजीपी उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापालाई चेतावनी दिएका छन् ।  क्यासिनोमा नेपाली प्रवेशलाई खुकुलो बनाएको भन्दै आइजीपी अर्यालले अबदेखि क्यासिनोमा कडाई गर्न उनलाई चेतावनी दिएका हुन । दुई साता अगाडी नक्कली भारतीय परिचयपत्र बोकी क्यासिनो प्रवेश गरेका चार नेपालीलाई सोल्टीहोटलस्थित क्यासिनो माजोङबाट महानगरीय प्रहरी बृत कालिमाटीले पक्राउ गरेको थियो ।

 ति नेपाली जुवाडेहरुलाई क्यासिनोसँगको सेटिङका आधारमा एआईजी थापाले बृतलाई दबाब दिएर छाड्न लगाएको स्रोतको दाबी छ ।  मातहतका निकायलाई छाड्न दबाब दिएको समाचार बाहिर आएपछि आईजीपी अर्यालले थापालाई प्रहरी प्रधानकार्यलय बोलाई चेतावनी दिएको सचिवालय स्रोतको दाबी छ । अर्यालले कुनै पनि हालतमा नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाउन महानगरिय प्रहरी परिसर र बृत्तका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।

एआईजी थापासँगकै सेटिङका कारण सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङ खारेज हुनबाट जोगिदै आएको छ । नेपाली जुवाडेहरुलाई भारतीय रासन कार्ड बनाएर जुवा खेलाउँदै आएको उक्त क्यासिनोबाट कालिमाटी बृत्तका प्रहरीले पक्राउ गर्दा समेत एआईजी थापाकै कारण जुवाडे छुट्दै आएका छन् ।

क्यासिनो व्यवस्थापन नियमावलीमा क्यासिनोमा नेपालीलाई प्रवेश गराएको खण्डमा लाइसेन्स नै रद्द हुने प्रष्ट प्रावधान छ । तर, क्यासिनो जोगाउन पक्राउ परेका व्यक्तिलाई जुवा ऐनअनुसार मुद्दा नचलाई एआइजी थापाकै दबाबमा प्रहरीले सार्वजनिक अपराध मुद्दामा केही दिन थुनेर छाडेको थियो । महानगरीय प्रहरी वृत्त कालिमाटीले पुस २५ गते बेलुका क्यासिनो माजोङमा छापा हानी गुर्जुधाराका श्रवणकुमार शाहीलगाएत चार जनालाईलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

उनी अजय साहको नाममा बनाइएको भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्रका आधारमा क्यासिनो छिरेका थिए । उनलाई तत्काल छाड्न एआईजी थापाले मातहतका प्रहरीलाई दबाब दिएका थिए । पछि सार्वजनिक अपराध मुद्दा चलाएर छाडिएको थियो ।

शाहीलाई पक्राउ गर्ने क्रममा क्यासिनो माजोङका महाप्रबन्धक पूर्व एआईजी रोहित थापा र सेक्युरीटी इन्चार्ज गोविन्द अधिकारीलाई पनि नियन्त्रणमा लिएकोमा एआईजी थापाकै दबाबमा उनीहरु पछि तत्काल छुटेका थिए । राजधानीमा हाल चार वटा क्यासिनो सञ्चालनमा छन् । माजोङसहित बौद्धको हायात होटलमा क्यासिनो प्राइड, याक एण्ड यतीमा क्यासिनो रोयल र सांग्रिला होटलमा क्यासिनो मिलिनियर्स क्वल सञ्चालनमा छन् ।

सबै क्यासिनासँग एआईजी थापाले सेटिङ मिलाइसकेको स्रोतको भनाई छ । तर, आईजीपी अर्यालले बृत्तका प्रमुखहरुलाई गलत काममा हाकीमले दबाब दिए नटेर्न आदेश दिइसकेको हुँदा क्यासिनो प्रकरणमा थापाको सेटिङ कतिको सफल होला त्यो भने समयले नै बताउला । थापाले पछिल्लो समय हुण्डी कारोबारी र सुन तस्करसँग पनि सेटिङ मिलाईसकेको हुँदा प्रहरीले हुण्डी कारोबार र सुन तस्करी रोक्न खासै पहल गरेको छैन ।

Post a Comment

0 Comments