Subscribe Us

सिंघानिया–गोइतमानदेखि राजेन्द्र यादवसमेतको हत्यामा एउटै समूहको संलग्नता,
मध्य र पूर्वी तराईमा आतंक मच्चाउने चन्द्रदिप उर्फ धर्ती सिंह समूहका सात जना पक्राउ

मदन भण्डारी काठमाडौं, फागुन ९जनकपुरका सञ्चारकर्मी अरुण सिंघानिया, धनुषाका विनोद गोइतमान तथा गत माघ २२ गते धनुषाको बालाबखरमा गोली प्रहार गरी हत्या गरिएका राजेन्द्र प्रसाद यादवको हत्यामा एउटै समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

गत माघ २२ गते राति करिब पौने नौ बजेको समयमा धनुषा बालाबखर वडा नम्बर ४ बैरिया टोलस्थित सडकखण्डमा गोली प्रहार गरी हत्या गरिएका राजेन्द्र प्रसाद यादवको हत्याकाण्ड अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मध्य र पूर्वी तराईमा भूमिगत संगठनको नाममा आतंक मच्चाएका चन्द्रदिप यादव उर्फ धर्तीसिंह नेतृत्वको जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका सात जना कार्यकर्तालार्ई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा गरेको अनुसन्धानमा यादवको हत्यामा चन्द्रदिप यादव उर्फ धर्ती सिंह समूहको नेतृत्वको संलग्नता देखिएपछि उक्त घटनामा संलग्न रहेको आरोपमा सात जनालार्ई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले जानकारी दिए ।  

एसपी लोहनीका अनुसार पक्राउ पर्नेहरुमा सिराहा राजपुरका अजय भन्ने रामरिझन यादव र जसलाल यादव, धनुषा गणेशमान चारनाथ–२ का अनिल डाक्टर भन्ने जोगीन्द्र महतो, प्रमोद कुमार पुर्वे, नागे शाह, दिलिप भन्ने शुभ नारायण यादव र सिरहा मिर्चैयाका बेचन पासवान रहेका छन् । पक्राउ परेका सातै जनालार्ई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको एसपी लोहनीले बताए ।  

पक्राउ परेकामध्ये रामरिझन यादव गोली प्रहार गर्दा प्रयोग गरिएको मोटरसाइकलको चालकको भूमिकामा देखिएको खुल्न आएको छ भने बाँकी अन्य अभियुक्तहरु उक्त भूमिगत समूहको लागि सूचना संकलन गर्ने, फिरौती उठाएर चन्द्रदिप यादवसम्म पु¥याउने, टेलिफोनबाट धम्क्याउने घटनामा संलग्न रहेको खुल्न आएको धनुषा प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार यादवको हत्या जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका चन्द्रदिप यादवको निर्देशनमा भएको र गोली प्रहार गर्ने सुटर चन्द्रदिप समूहकै पृथ्वीसिंह भन्ने कैलाश ठाकुर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्यामा संलग्न सात जना कार्यकर्ता पक्राउ परे पनि मुख्य योजनाकार चन्द्रदिप र कैलाश हाल फरार छन् ।

“पक्राउ परेकाहरुको बयानबाट चन्द्रदिप यादव र कैलाश ठाकुरको संलग्नता रहेको खुल्न आए पनि उनीहरुलार्ई पक्राउ नगरी घटनामा उनीहरुको संलग्नताबारे एकीन भन्न नसकिने धनुषा प्रहरी प्रमुख एसपी रामदत्त जोशीले बताए । अर्कोतर्फ माघ २३ गते बिहान करिब ९ बजेको समयमा धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा अवस्थित नगरपालिका कार्यालयअगाडि नसिव राइन मियाँमाथि भएको गोली प्रहार र धनुषाकै कमला नदीको पुलमा सिराहा बडहरामालका राम सोगारथ महतोमाथि गोली प्रहार भएको घटनामा समेत सोही समूहको संलग्नता रहेको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको धनुषा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रदिप यादवले २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा सोही पार्टीको तर्फबाट धनुषा क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ संविधानसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उक्त चुनावमा पराजित भएका उनी विभिन्न आपराधिक घटनामा आबद्ध रहेको खुल्न आएपछि त्यसलगत्तै फरार भएका थिए । 

धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीको नेतृत्वमा भएको अनुसन्धानमा अरुण सिंघानिया हत्याकाण्ड र विनोद गोइतमानको हत्यामा समेत चन्द्रदिप मुख्य योजनाकारको रुपमा देखिएपछि धनुषा प्रहरीले उनीविरुद्ध धनुषा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । 

तत्कालीन समयमा प्रहरीले जनकपुर बमकाण्डको अनुसन्धान सुरु गरेलगत्तै फरार भएका उनी भारतको जयनगरमा बसेर पूर्वी तथा मध्यतराईमा आपराधिक घटना घटाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । हालका उपप्रधानमन्त्री विजय कुमार गच्छदार र जनकपुर बमकाण्डमा मुख्य योजनाकारको आरोपमा पक्राउ परेका संजय टकलासँग अत्यन्तै निकट सम्बन्ध रहेका उनी तराईमा रहस्यमय रहेका थुप्रै घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments