Subscribe Us

आईजी अर्यालले जोगाएका हुन त गृहसचिव मलेगोलाई ?

काठमाडौं । जसलाई अनेक पापड पलेर सहयोग गरियो उसैबाट असहयोग भयो भन्दै नेपाल प्रहरीका आईजी उपेन्द्रकान्त अर्याल अहिले आफ्ना सहयोगी र शुभचिन्तकसँग मुर्मुरिन थालेका छन् ।  गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट क्लिन चिट दिलाउन आफूले अनेक पापड पेलेको दाबी गर्दै आईजी अर्यालले आफू निकटसँग गुनासो गरेका हुन् । 


अख्तियारले गत बर्ष सचिव मलेगो लगायत ६३ उच्चपदस्थ कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान अघि बढाएको थियो । अख्तियारको छानबिनको दायरामा रहेका सचिव मलेगोले गत महिना आयोगबाट क्लिन चिट पाएका छन् । मलेगो माथि भष्ट्राचार गरी सुकेधारमा आलिशान महल बनाएको आरोप लगाउँदै अख्तियारले छानबिन थालेको थियो ।

गणतन्त्र दिवसको दिन प्रहरी प्रधान कार्यालयबाट सिफारिसमा नपरेका प्रहरी अधिकृतले गृह मन्त्रालयको सिफारिसमा पदक हत्याउन सफल भएपछि आक्रोशित बनेका आईजी अर्यालले सचिव मलेगोबिरुद्ध यो आरोप लगाएको स्रोतको दाबी छ । 

पदक वितरणको भोलीपल्ट पोखरा पुगेका आईजी अर्यालले अनेक पापड पलेर सचिव मलेगोलाई अख्तियारबाट क्लिन चिट दिलाई तर  अहिले उसैबाट असहयोग हुन थालेका अनुभव आफू निकटलाई सुनाएका थिए । 

पोखरामा आफू निकटसँग भएको भलाकुसारी प्रधान कार्यालयमा चर्चा हुन थालेपछि आईजी अर्याल अहिले झन तनाबमा छन् । सो कुरा गृह सचिव मलेगोको कानमा पुगेको खण्डमा झन सम्बन्धमा दरार उत्पन्न हुने सम्भाबना बढेपछि आईजी अर्याल तनाबमा परेका हुन् । 

अन्य दैनिकी काममा समेत सचिव मलेगोले बाधा अड्चन खडा गर्दै आएको गुनासो समेत आईजी अर्यालले पोखरामा गरेका थिए । गत बर्ष आयोगले नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति थुपारेका आरोपमा छानबिन थालिएको थियो । जुन छानबिनको दायराबाट सचिव मलेगोलाई अख्तियारले क्लिन चिट दिदै उनको फाईल तामेलीमा राखेको स्रोतको दाबी छ ।  

अख्तियारले तत्कालिन समयमा अनुसन्धानको घेरामा रहेका सचिव मलेगोसहित सबै कर्मचारीको बैँक खाता तथा लकर रोक्का गरी अनुसन्धान अगाडी बढाएको थियो । सचिव मलेगोलाई क्लिन चिट दिएपनि अन्य कर्मचारी माथि भने छानबिन भई रहेको अख्तियार स्रोतको दाबी छ । 

अख्तियारले गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, भूमिसुधार सचिव मोहनकृष्ण सापकोटा, प्रधानमन्त्री कार्यालयका सचिव महेश दाहाल, पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुनीलबहादुर मल्ल, पुनर्निर्माण प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारी, सशस्त्रका एआइजी कृष्णकुमार तामाङ लगायत बहालवाला कर्मचारीको बैँक खाता तथा लकर रोक्का राखी अनुसन्धान गरेको थियो । अख्तियारको छानबिनको दायरामा आएका उच्च पदस्थ ६३ कर्मचारी मध्ये आजसम्म कनै कर्मचारी बिरुद्ध मुद्दा दर्ता भने गर्न सकेको छैन ।  

Post a Comment

0 Comments