Subscribe Us

देउवाको सेखी झार्ने खड्का तयारी,
पार्टीमा भाइटल रोल नपाएसम्म सभापतिलाई दबाब दिने

काठमाडौं । सरकारको बेथितिलाई औँला भाँची गिराउन उद्दत देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान मिचेकै दुई महिना भइसक्यो । 

प्रधानमन्त्री ओलीको सेखी झार्न संसद्मा कोकोहोला मच्चाउने देउवाको सेखी झार्ने फरक भेला पनि सुरु भइसकेको छ । महाधिवेशनमा सभापति जितेपछि के–के न पाएँ भनेर बुढानिलकण्ठमा सधैँजसो रात्रिभोज दिने देउवालाई उनकै पार्टीका नेता खुमबहादुर खड्काले सेखी झार्ने भएका छन् ।

महाधिवेशनका बेला दिएको वचन कार्यान्वयन नगरेको भन्दै खुमबहादुर खड्का सभापति देउवासँग आक्रोशित बनेका मात्र छैनन्, उनलाई गलाउने रणनीतिमा उत्रेका छन् । आफूनिकट नेताहरूको भेला गरेर नेता खड्काले पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन र आफ्नो पक्षमा माहोल बनाउन सभापति देउवालाई दबाब नै दिनुपर्ने बताए । 

‘उसलाई सभापति बनाउन मैले कति सहयोग गरेँ, अहिले मलाई मनोनीत गर्न उसका नौनाडी गलेका छन्, किन गलिरहेको छ ?’, खड्काले भेलामा उपस्थित भएकालाई सम्बोधन गरेको स्रोतले उद्धृत गर्दै भन्यो, ‘उसलाई नगलाई पार्टीका नियुक्तिहरू केही पनि नहुने भयो । के छ तपाईंहरूको राय ?’ललितपुरको, जावलाखेलस्थित कराते क्लबमा राखिएको सो गोप्य भेलामा कांग्रेसभित्र खुमबहादुर पक्षीय भनेर चिनिएका केन्द्रीय सदस्य, सांसद र कतिपय जिल्ला सभापतिको समेत सहभागिता रहेको थियो ।

सभापतिले अहिलेसम्म गरेका केन्द्रीय सदस्यको मनोनयन पक्षपातपूर्ण रहेको र महाधिवेशनमा गुन लगाएका आफ्ना नेता खड्कालाई पछिल्ला दिनमा बेवास्ता गरेको आक्रोश अभिव्यक्त गरेका थिए । आफू निकटहरूको आक्रोशको तह राम्ररी बुझेका नेता खड्काले पनि सभापति देउवाले पार्टीलाई एकपक्षीय रूपमा अघि बढाउन खोजेको बताए । 

महाधिवेशनमा भोट चाहिँदा खुमबहादुरको पछि लाग्ने, अहिले जितेपछि वास्ता नगर्ने देउवाको चरित्रलाई उदांगो पारिने भेलामा सहभागी एक नेताले बताए । ‘हिजोका दिनमा खुमबहादुर विना देउवाले जित्दैन थिए, त्यस बेला चाहियो अहिले सभापति भएपछि वास्ता नगर्नुको कारण के हो ?’, स्रोतले भन्यो । 

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, शंकर भण्डारी, अजय चौरसियालगायत नेता सहभागी भेलाले जस्तो निर्णय गरे पनि सभापति देउवा भने भ्रष्टाचारको मुद्दामा जेल परेका नेता खड्कालाई उपसभापति मनोनय नगर्ने योजनामा छन् । त्यति मात्र नभएर धर्म निरपेक्षता स्वीकार गरेर संविधान जारी गरिसकेको पार्टीमा हिन्दू राज्यको अभियानमा सक्रियता देखाएका खुमबहादुरलाई भाइटल रोलमा ल्याउन देउवालाई फलाम चपाउनुसरह हुने भएकाले मनोनीत उपसभापति, महामन्त्रीहरूको नाम तय नभएको हो । तर, कुनै पनि हालतमा भाइटल रोलमा पुग्नुपर्ने पूर्वसहमतिका आधारमा कांग्रेसअघि बढ्ने जनाउँदै खड्काले त्यसो नगरे देउवाको भण्डाफोर गर्ने नीति पनि अँगालेका छन् । 

खड्काको भेलामा सभापति देउवाको गृहजिल्ला डँडेलधुरा जिल्ला सभापति कर्ण मल्ल, दाङ जिल्ला सभापति कृति खड्का, रौतहट जिल्ला सभापति कृष्ण यादव, मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, सांसद तप्तबहादुर विष्ट, सुशीला चौधरी, दीपक खड्का, दीपक खनाल, राजु खनाल, बुद्धिराम भण्डारी, पूर्वमन्त्री शिवराज जोशी, दुर्योधनसिंह चौधरी, रवीन्द्र श्रेष्ठ, गुल्मीका पूर्वसभापति एवं सांसद चन्द्र केसी, रामजीवन सिंह, भोला थापामगर, रमेशजंग रायमाझी, कुमार रेग्मी, प्रेम लामा, महासमिती सदस्य मीनकृष्ण महर्जन, अमित शेरचन, रमेश पाण्डे, वीरबहादुर लामा र भूमा पाण्डेको उपस्थिति थियो ।

खड्काले अबको कांग्रेसको अभियान हिन्दू राज्य स्थापना गर्ने रहने र त्यो आफु भाइटल रोलमा पुगेपछि हुने बताउँदै आएका छन् । खड्काले खाली रहेको उपसभापति पद खोजेका छन् । ‘कांग्रेसमा धेरै वर्ष लगानी भएको छ, पहिला कोइरालाको प्रभाइभेट लिमिटेड जस्तो अब पनि शेरबहादुरको प्राइभेट लिमिटेड बनाउन दिनुहुँदैन ।’, स्रोतले भन्यो, ‘कांग्रेसको योजनादेखि सवै कुरामा हस्तक्षेपकारी काम हुनेछ ।’

भारतको भ्रमणपछि नेपालमा आएर आफू निकटका नेता र युवालाई भेला गरी खड्काले हिन्दू राज्य स्थापनाका लागि तयार हुन पनि भनेका छन् । हिन्दू राज्यको लडाइका लागि केही नेता मरे पनि केही फरक नपर्ने तर मुलुकमा पश्चिमाको रजगज हुनबाट रोक्नुपर्ने अडानमा उभिएका खुमबहादुरका लागि काली बाबा, कमलनयानाचार्यलगायतको पनि समर्थन रहेको छ भने भारतीय संस्थापनले पनि अभियान तीव्र बनाउन उनलाई सघाउने भएको छ ।

Post a Comment

0 Comments