Subscribe Us

डिडिसीमा पोस्टबहादुरको यस्तो छ दादागिरी,
यसरी पास गराए छोराबुहारी देखी साला सम्मलाई

काठमाडौं । दुग्ध विकास संस्थानले कर्मचारी स्थायी पदपूर्तिका लागि तीन वर्षअघि लिएको लिखित परीक्षाको नतिजा दुई साताअघि प्रकाशित  परिवारका सदस्यलाई जागिर ख्वाउने रणनीतिमा गरिएको छ । अझ अचम्मको कुरा त के छ भने लिखित परीक्षाको उत्तरपुस्तिका जसले जाँच्यो उसैका छोराबुहारी र सालोको नाम निस्किएको छ । नियमअनुसार आफ्ना परिवार परीक्षामा सहभागी भएमा कुनै पनि व्यक्ति परीक्षामा बस्न मिल्दैन ।

संस्थाले डेरी सहायक पदमा रिक्त १९ दरबन्दीमा विज्ञापन खुलाई ५ असार २०७० मा लिखित परीक्षा लिइएको थियो । त्यसको नतिजा दुई साताअघि १६ भदौमा प्रकाशित गरेको थियो । १९ जनाका लागि लिएको परीक्षामा सहभागी १ हजार ७३१ जनामध्ये ४३ जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ ।तर, त्यसमा लिखित  परीक्षाको कापी जाँच गर्ने जिम्मापाएका प्रशासन अधिकृत पोस्टबहादुर थापाले आफ्नै छोरा युवराज थापा बुहारी र साला रामहरि सिलवालको नाम अन्तर्वार्ताका लागि निकालिदिएका छन् । 

महाप्रबन्धक गंगा तिमल्सेनासँगको मिलोमतोमा नतिजा तयार गरेका थापाले संस्थानको तलब खाएर तिमल्सेनाको घरमा काम गर्ने मन्दिरा बुढाथोकी र तिमल्सेनाका भतिजा पर्ने कृष्णचन्द्र तिमिल्सिनालाई समेत लिखितमा उत्तीर्ण गराइदिएका छन् । त्यति मात्रै होइन, तिमिल्सिनाले छिमेकी सरिता महर्जन, सविता महर्जन, रजनी महर्जन र विक्रम महर्जनको पनि नाम निकाल्न लगाएका छन् । जनजाती कोटामा महर्जनको मात्रै नाम निकाल्न लगाएका तिमिल्सेनाले आर्थिक चलखेल गरेको कर्मचारीको आरोप छ । 

गोगंबु घर भएका प्रशासन अधिकृत थापा कांग्रेसनिकट कर्मचारी हुन् । तर, एमाले कोटामा नियुक्त भएका महाप्रबन्धक तिमिल्सेना अहिले थापानिकट भएका छन् । पार्टी फरक भए पनि दुई जना छिमेकी हुन् । हरेक काममा आर्थिक चलखेल गर्ने थापालाई पछिल्लो समय तिमिल्सिनाले दह्रो साथ दिएका छन् । उति बेला परीक्षा हुँदा लोकसेवाले कापी परीक्षण गर्ने बताए पनि प्रशासन अधिकृत थापाले सबै कापी आफ्नै घरमा लगि परीक्षण गरेको कर्मचारीको दाबी छ ।

 उनीहरूले परीक्षामा आर्थिक चलखेल गरी व्यापक धाँधली भएको आरोप लगाएपछि त्यसलाई मत्थर पार्न थापा र तिमल्सेनाले आन्तरिक बढुवा प्रक्रिया सुरु गराएका छन् । उनीहरूले खुला र आन्तरिक बढुवाको नतिजासमेत सँगै प्रकाशित गर्ने तयारी गरेको बुझिएको छ । त्यसो त महाप्रबन्धक तिमिल्सेनामाथि अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा परेका व्यक्ति हुन् ।

Post a Comment

0 Comments