Subscribe Us

ट्रायल सेन्टर ठेक्का प्रकरण,
अरुण चौधरीलाई ठेक्का दिन यिनकोे यस्तो छ योजना

 
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ, सुजुकी नेपालका मालिक अरुण चौधरी र उनका एजेन्ट राजेन्द्र क्षेत्रीले जसरी पनि ट्रायल सेन्टरको ठेक्का हात पार्न अनेकौं रणनीति बनाउन थालेका छन् ।
ड्राइभिङ लाइसेन्सका लागि सरकारी ट्रायल सेन्टरमा नपुग भएपछि नीजि क्षेत्रका कम्पनीलाई बोलपत्र आह्वान गरिएको थियो ।

 तर, उक्त, बोलपत्रअनुसार अरुण चौधरीलाई नै ठेक्का दिनका लागि अनेकौं हर्कत हुन थालेका छन् । चार ठाउँमा यातायातको लाइसेन्स वितरणका लागि परिक्षा कार्यालय राखिएपनि ठेक्का चौधरीलाई एकै ठाउँ दिलाउनका लागि राजेन्द्र क्षेत्रीको डिजाइनमा महानिर्देशक श्रेष्ठले तिकडम लगाएर बोलपत्र खोलेका थिए । चार कम्पनीले शिलबन्दी बोलपत्र हालेपनि चौधरीलाई नै दिनका लागि श्रेष्ठको जोडबल कायमै रहेको छ । 

तीन÷चार ठाउँ कार्यालय राख्ने यातायात व्यवस्थाले किन एक ठाउँमा मात्रै ट्रायल सेन्टर तय गर्ने रणनीति बनाइरहेको छ ? 

अरुण चौधरीले मात्रै पाउनेगरी कानुनमा बाझिएको व्यवस्था र सर्तहरू तयार गरी बोलपत्र आह्वान गरिएको खुलेको थियो । यहि विषयमा विवाद भएपछि अहिलेसम्म चौधरीले ठेक्का पाएका छैनन् । बोलपत्र नै कानुनविपरित मात्रै नभएर बाझिएका सर्तहरू राखेर आह्वान गरिएको थियो जुन चौधरीका लागि उपयुक्त बनाउने श्रेष्ठको खेल थियो । 

प्रयोगात्मक परिक्षा व्यवस्थित गर्ने निर्देशिका २०६९ अनुसारको नियमले बोलपत्र आह्वान गरेपनि सोही सर्तको नौं नम्बर बुँदामा चौधरीका लागि मात्रै उपयोगी हुनेगरी ६ हजार वर्गमिटरको जग्गाको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ । विभागका महानिर्देशक, श्रम तथा यातायात मन्त्रालयका सचिवलाई आर्थिक प्रलोभनमा उक्त बोलपत्र तयार पारिएको स्रोतको दाबी छ । 

बार्षिक करोडौं आम्दानी हुने उक्त ठेक्का चौधरीले हात पार्नका लागि उनका एजेन्ट राजेन्द्र क्षेत्रीले विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलगायतको सेटिङ मिलाएका थिए । ‘चार ठाउँमा कार्यालय हुँदा ट्रायल सेन्टरमात्रै एक ठाउँमा किन राख्ने प्रबन्ध मिलाइयो ?’, स्रोतको प्रश्न छ । उक्त ठेक्का १० वर्षका लागि हुने भएपछि करोडौं आम्दानी हुने देखिन्छ । 

त्यसका लागि चौधरीको शक्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणासम्म पनि प्रलोभन लिएर क्षेत्री पुगिसकेका छन् । ३ अर्ब ६० करोडभन्दा बढि आम्दानी हुने उक्त ठेक्का मिलाउनका अहिले अन्य ठाउँमा पनि ट्रायल सेन्टर खुलाउने हावादारी कुरा गर्दै महानिर्देशक श्रेष्ठ हिँड्न थालेका छन् । लाइसेन्स परिक्षाका लागि यातायात व्यवस्था कार्यालयले चावहिल, भक्तपुर र कलंकीमा शाखा कार्यालय खोलेको छ । यातायात व्यवस्था कार्यालय वागमती भने भिड नियन्त्रण गर्न नसकिने भएका कारण तीन÷चार ठाउँमा नै ट्रायल सेन्टर खोल्नुपर्ने अडानमा उभिएको थियो । तर, महानिर्देशक श्रेष्ठले त्यसो गर्न मानिरहेका छैनन् । 

यातायात कार्यालयले उक्त विवाद सुल्झाउनका लागि मुल्यांकन समिति पनि तयार पारेको थियो । मुल्यांकन समितिले प्राविधिक काम सकेर अन्य ठाउँमा पनि ट्रायल सेन्टर खोल्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी सकेको छ । तर, श्रेष्ठ जसरी पनि चौधरीको हातमा नै उक्त ठेक्का हात लगाउनका लागि कम्मर कसेर लागि परेका छन् । चौधरीको प्रभाव यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङसम्म पनि पुगिसकेको छ । मन्त्री रमेश लेखकलाई दबाब दिनका लागि बुढानिलकण्ठको प्रभाव पार्नका लागि क्षेत्री सक्रिय भई देउवासम्म पुगेका हुन् ।

Post a Comment

0 Comments