Subscribe Us

सबैलाई मिलाएर निर्वाचनमा जानुको विकल्प छैनः कोइराला


नेपाली कांग्रेस व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल हो । नेपालको २००७ सालदेखि हालसम्म भएका राजनीतिक घटनाक्रममा नेपाली कांग्रेसले ठूलो भूमिका खेल्दै आएको छ । वि.सं. २००३ सालको विराटनगर जुटमिल आन्दोलन होस् या २००७ सालको प्रजातान्त्रिक आन्दोलन होस् त्यसमा कोइराला परिवारको ठूलो भूमिका रहेको छ । वि.सं. २०१५ सालमा जनताबाट प्रत्यक्ष निर्वाचितको हैसियतले विश्वेश्वरप्रसाद कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । नेपाली कांग्रेस भन्नेवित्तिकै कोइराला परिवारको नाम जोडिँदै आएको छ । विपि कोइरालादेखि, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै हाल डा. शशांक कोइराला नेपाली कांग्रेसको महामन्त्री बनेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारको योगदानलाई कसैले नकारात्मक दृष्टिले सोच्न सक्दैन । १२ वर्ष माओवादीको शशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्नदेखि मुलुकमा गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान छ भने संविधान निर्माणमा सुशील कोइरालाको । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पाँच पटक जिम्मेवारी सम्हाल्नुभएका गिरिजाप्रसाद कोइरालाकी पुत्री पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी प्रभावशाली नेत्री सुजाता कोइरालासँग जनप्रहारले गरेको कुराकानीको सम्पादित अंशः

० अहिले के मा व्यस्त हुनुहुन्छ ?
म विरामी भएका कारण अहिले घरमा नै आराम गरेर बस्दैछु ।

० पछिल्लो समयमा राजनीतिक दलका नेता तथा कार्यकताहरुसँग कुराकानी भैरहेको छ ?
भैरहेको छ । भेटघाट पनि भैरहेको छ । पछिल्लो समयको राजनीतिक परिस्थितिको बारेमा मिडियाबाट र साथीहरूमार्फत जानकारी लिईरहेकी छु । अब हामीले चुनावमा जानुको विकल्प छैन् चुनाव भयो भने मात्र प्रजातन्त्रको रक्षा हुनसक्छ । गिरिजाबाबुले भन्नुहुन्थ्यो पहिले स्थानिय चुनाव हुनुपर्छ भनेर जरो कमजोर भयोभने माथि बलियो हुँदैन । जरो बलियो भयो भने मात्र आँफैमाथि बलियो हुन्छ । यहि कुरालाई सम्झिनुपर्छ । नेपाली कांग्रेस जिल्लामा बलियो छ । सबै एक भएर अघि बढ्नुपर्छ । यसरी गएपछि हाम्रो बहुमत आउँछ । हामी त विपीको पालादेखि नै एकता र मेलमिलापको सिद्धान्तको पक्षपाति हौं । यसको विकल्प अरु केहि छैन । सबै दललाई मिलाएर अघि लैजानुपर्छ ।

० सबै दल मिलेर चुनावमा जानको लागि त वातावरण पनि त बन्नु प¥यो होइन र ?
चुनावको लागि अरु दलले पनि सहमति गर्नुपर्छ । सहमति भएन भने प्रजातन्त्र कमजोर हुन्छ । हामीले धेरै कुरा गुमाउँछौँ । मैले हाम्रा धेरै उपलब्धीहरू गुम्ने खतरा देखिराखेको छु । दलहरूका आआफ्नै प्रतिष्पर्धा छन् । बिचार फरक छन् । एउटै पार्टीको बीचमा पनि बिचार फरक छन् । दलहरूको बीचमा हुने नै भए, तर अहिले सबैथोकलाई छोडेर स्थानीय निकायको चुनाव गर्नुपर्छ । देश अहिले अप्ठयारो परिस्थितीमा छ ।

० मधेशवादी दललाई चुनावमा लान सकिन्छ ?
सबैलाई मिलाएर अघि जानुपर्छ । यसरी जाँदाखेरी फाईदा हुन्छ । हामीले विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त गरेका उपलब्धीहरु जोगाउनको लागि सबैलाई मिलाउनु आवश्यक छ र चुनावमा लान सकिन्छ ।

० मधेसवादी दलले संविधान संशोधन बिना चुनाव हुनै सक्दैन भनेको छ, तपाई यसको पक्षमा वा विपक्षमा ?
संविधानको हेराफेरी वा संशोधन देशको हित र आवश्यकता हेरेर मात्र गर्नुपर्छ । देशलाई अहित हुनेगरी हामीले संशोधन गर्नुहुँदैन । मलाई विश्वास छ मधेशवादी दलहरूले पनि देशको अहित गर्न चाँहदैनन् । उनीहरु पनि लोकतन्त्रवादीहरु हुन् । देशलाई नै टुक्रा पार्ने र भोलि बिहान देशलाई क्षति हुने कुरामा सम्झौता गर्नुहुँदैन ।

० मधेशवादी दलहरूले, भाषा, नागरिकता, सिमांकन र राष्ट्रियसभामा प्रतिनिधित्वको कुरालाई लिएर जनमत बिभाजित छ, यसलाई कसरी सहमति जुटाएर जान सकिन्छ त ?
पहिले स्थानीय निकायको चुनाव गर्नुपर्छ । त्यसपछि हामी सबै बसेर जेजे गर्नुपर्छ त्यो गर्नतर्फ लाग्नुपर्छ ।

० उसो भए संशोधन नभएर मधेशवादी दलहरू पनि चुनावमा जानुपर्छ भन्ने तपाईको भनाई हो ?
अवश्य पनि हो चुनावमा हामी गएनौ भने मुलुकमा ठुलो संकटमा फँस्छ । उनीहरुलाई समेटेर अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।

० एमालेलगायत दलहरू आन्दोलनमा छन् उनीहरुले संशोधन विधेयक कुनैपनि हालतमा पारित हुन दिदैनौँ भनिरहेका छन् त ?
होइन, त्यतिमात्र होइन । पाँच नम्बर प्रदेशका जनताको आक्रोशलाई पनि हेर्नुपर्छ । भुल्न हुँदैन । भोली बिराटनगरमा, अर्को ठाउँमा जाँदा उही त हो नि । संशोधन भन्दा पहिला निर्वाचनमा जाउँ ।

० अब संशोधन विधेयक संसदमा पेश भैसक्यो त ?
अहिले त फरक स्थिति आयो । तर पनि सबैले मिल्नुको विकल्प छैन । सबैलाई फेशसेभिङ गर्नुपर्छ । मलाई याद छ, त्यति बेला मधेशमा आन्दोलन थियो । देश नै नरहने स्थिति थियो गिरिजाबाबुले नचाँहदा नचाहँदै पनि पहिलो संविधानसभाको निर्वाचनको निर्णय गर्नुभयो । बाध्यता थियो अहिलेपनि त्यसैगरी अगाडि बढौँ ।

० एमालेले संशोधन फिर्ता गर, चुनावको मिति घोषणा गर भनेको छ ? यसमा तपाईको के धारणा छ ?
एमालेले एउटा कुरा भन्ने हामीले नमान्ने । अर्को पटक हामीले भन्ने एमालले नमान्ने भयो भने देश कहाँ जान्छ । त्यसैले गिभ एण्ड टेकमा अगाडि बढ्नुपर्छ ।

० तपाई संशोधनको पक्षमा हो कि विपक्षमा ?
म पक्ष वा विपक्षमा भन्दापनि मुलुक टुक्राउने पक्षमा म छैन । मुलुकलाई जसरी अगाडि लैजान सकिन्छ त्यसै गरी अगाडि बढौँ ।

० पाँच नम्बर प्रदेशको सिमा हेरफेर सम्बन्धको बारेमा के भन्नुहुन्छ ?
म अहिले राम्रोसँग ठिक भएकी छैन । सोच्दैछु । त्यहाँका जनताहरूले मानेका छैनन् । जनताको मतले जे भन्छ त्यतातिर ध्यान दिनुपर्छ ।

० संशोधन प्रस्तावले देशलाई निकास दिनेमा तपाई कत्तिको ढुक्क हुनुहुन्छ ?
नेपाली कांग्रेस जहिलेपनि सहमति, सहकार्य र एकताको पक्षमा छ । सबै मिलेर अघि जानुपर्छ । सहमतिको नाममा देशलाई क्षति पुर्याउने काम गर्नुहुँदैन । गिरिजाबाबुले जहिले भन्नुहुन्थ्यो कि तल्लो निकायमा रहेका जनताले रुचाएका नेता कार्यकर्तालाई माथि ल्याउने काम गर्नुहुन्थ्यो, कुनै
निर्णय गर्दा धेरै कुरामा बिचार पुर्याएर काम गर्नुहुन्थ्यो र त धेरै कुरामा उहाँ सफल हुनुभयो ।

० नेताहरूले जसरी कार्यकतासँग अन्तरक्रिया गर्नुपथ्र्यो त्यसो गर्न सक्नुभएन भन्न खोज्नु भएको हो ?
पक्कै पनि हो । त्यो गर्न सकिएको छैन । जिल्लाका नेताकार्यकर्ता मात्रै नभएर अरु दलका नेता कार्यकर्तासँगपनि सम्बन्ध राम्रो बनाउनुपर्छ । राष्ट्र रहे जनता रहन्छन् ।

० अन्त्यमा के भन्नुहुन्छ ?
सबै राजनीतिक दललाई मिलाएर तीन तहको निर्वाचन गरेमात्र मुलुक अगाडि बढ्छ त्यसैले संसदको ठूलो पार्टीका हैसियतले नेपाली कांग्रेसले अभिभावकको रुपमा रहेर सबै दललाई मिलाएर अगाडि बढ्नुपर्छ ।

Post a Comment

0 Comments