Subscribe Us

विष्टद्धारा गुण्डागर्दी शैलीमा क्यासिनो कब्जा

काठमाडौं :
काठमाडौंको एभरेष्ट होटलमा सञ्चालन गरिएको एभरेष्ट क्यासिनोलाई एक समूहले गुण्डागर्दी शैलीमा कब्जामा लिएको छ । क्यासिनोका प्रमुख सञ्चालकहरूलाई विभिन्न डर, धम्की र दुव्र्यहार गर्दै उक्त समूहले क्यासिनो कब्जा गरेको हो । 
एभरेष्ट क्यासिनोलाई एभलोन इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको छ ।  उक्त कम्पनीका प्रमूख वीरेन्द्र महर्जन हुन् । कम्पनीले उक्त क्यासिनो सञ्चालनका लागि एक समूहलाई गत जेठ २ गते करारमा दिएको थियो । करारमा लिने समूहमा चक्रबहादुर शाही, तिलक शाही, भद्रसिंह धामी, तप्तबहादुर विष्ट, सुवास राणालगायत व्यक्ति थिए । उक्त समूहले कम्पनीका सदस्यलाई विभिन्न प्रलोभनमा पारी मासिक २५ लाख रूपैयाँ भाडा तिर्ने गरी क्यासिनो सञ्चालन गर्ने करार सम्झौता गरेका थिए । 
तर, करार सम्झौतायता सो समूहले मासिक भाडा बुझाएको त छैन नै उल्टै कम्पनीका प्रमुख महर्जनलगायतलाई दुव्र्यहार गर्दै क्यासिनो आफ्नो कब्जामा लिएको छ । करार सम्झौता गरे पनि सो समूहले पालना गर्नुपर्ने कुनै आचरण नदेखाएपछि कम्पनीले साउन २९ गते सूचना जारी गरी सो समूहसँग करार भंग गरेको थियो । 
सूचनामा भनिएको छ, ‘करारमा प्रथम पक्ष वीरेन्द्र महर्जन एभलोन इन्टरनेशनलको तर्फबाट, द्वितीय पक्ष चक्रबहादुर शाहबीचमा भएको उक्त सम्झौताअनुसार व्यवस्थापन सञ्चालन गर्दा थप दायित्व बढाउन नपाउने र करारको दफा ७ अनुसार सञ्चालन गर्दा सम्पूर्ण दायित्वहरू बहन गर्नुपर्ने भनिएता पनि उक्त कुनै पनि कार्य नगरेको, प्रथम पक्षलाई बेवास्ता गरी व्यवस्थापन सञ्चालन गरेको हुँदा हाल उच्च अदालतमा चलेको मुद्दालाई समेत मध्यनजर गर्दै साथै होटल एभरेष्ट इन्टरनेशनल प्रालि मिति २ नोभेम्बर २०१३ को करार बमोजिम पनि स्वयम् एभलोन इन्टरनेशनल प्रालिले नै व्यवस्थापन सञ्चालन गर्नुपर्ने बाध्यता सृजना भएको आजैका मिति २०७४÷४÷२९ बाट मिति २०७४÷२÷२ मा भएको करार भंग (शून्य) गरिएको जानकारी गराइन्छ ।’
त्यसपछि कम्पनी आफैले क्यासिनो सञ्चालन गर्न खोज्दा सो समूहले क्यासिनोका केही मजदूरहरू प्रयोग गरी उल्टै कम्पनीका प्रमूखहरूलाई दुव्र्यवहार गरेका थिए । क्यासिनोको माओवादी मजदूर संगठनकी रञ्जना अधिकारीलगायत व्यक्तिसँग मिलेर सो समूहले सञ्चालकहरूलाई क्यासिनो प्रवेशमा नै निषेध गरेको हो । ‘हाम्रै क्यासिनोमा हामीलाई दुव्यर्वहार गर्ने काम भयो । मजदूरहरूलाई क्यासिनो बन्द गर्न खोजेको भ्रम पारिएको छ । हामीलाई डरधम्की दिइएको छ,’ कम्पनीका एक सदस्यले भने । 
पुनः अर्को पटक क्यासिनो प्रवेश गर्न खोज्दा मजदूरहरू प्रयोग गरेर सो समूहले आफूहरूमाथि हातपात गर्ने प्रयास गरेको उनले बताए । सो घटनापछि प्रहरी कार्यालय नयाँबानेश्वरमा जाहेरी दिँदा समूहका तिलक शाही पक्राउ परी १ दिन थुनामा बसेका थिए । प्रहरीले शाहीलाई थप कारबाही गर्नका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको थियो । तर, प्रहरी परिसर नै नपुगी शाही गायव भएको स्रोतले बतायो । 
करार भंग गरेपछि पनि सो समूहले क्यासिनो नछाडेपछि कम्पनीका प्रमूख महर्जनले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतको संयुक्त इजलाशले करार भंग भएको निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । न्यायाधीशद्वय दुर्गादत्त भट्ट र मेघनाथ भट्टराईको इजलाशले सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यट विभागलाई गत साउन २५ गते सो आदेश दिएको थियो । तर, सरोकार निकायले कुनै पहल नगर्दा अदालतको आदेशलाई पनि अटेरी गर्दै सो समूहले हालसम्म क्यासिनोमा हालिमुहाली गर्दै आएको छ । 
क्यासिनो हस्तान्तरण गर्न कम्पनीले आग्रह गरे पनि समूहका तप्तबहादुर विष्टलगायतले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी जयबहादुर चन्द आफ्नो मान्छे भएको भन्दै आफूलाई कसैले छुन नसक्ने धम्की दिँदै आएका छन् । एआईजी चन्दको नाम बेच्दै आएका विष्टले प्रहरी प्रशासन तथा अन्य सरोकारवालाको मौनता फाइदा उठाउँदै सोझासिधा व्यवसायीहरूप्रति गुण्डागर्दी रवैया अपनाउँदै आएका हुन् । 
क्यासिनो क्षेत्रमा लामो समयदेखि संलग्न विष्ट र तिलक शाही विवादास्पद तथा आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । विष्ट यसअघि होटल अन्नपूर्णमा सञ्चालन गरिएको अन्ना क्यासिनोका जीएम रहेका थिए । विभिन्न व्यक्तिलाई ठगेको, क्यासिनोमा नेपालीलाई प्रवेश गराएकोलगायत काण्डमा विष्टलाई प्रहरीले पक्राउ गरी थुन्दै, छोड्दै आएको थियो । शाही पनि त्यही पृष्ठभूमिका व्यक्ति हुन् । 
हाल आफ्नो पूर्वछविअनुसार नै विष्टलगायतले गुण्डागर्दी गर्दै क्यासिनो कब्जा गरेको कम्पनीका एक सञ्चालकले बताए । क्यासिनोका मजदूरलाई भ्रममा पारी, प्रहरी प्रशासनलगायतको मौनताको फाइदा उठाउँदै सो समूहले खुलेआम गुण्डागर्दी प्रदर्शन गर्दै आएको छ ।

Post a Comment

0 Comments