Subscribe Us

गौचन हत्याराको टार्गेटमा प्रहरी

काठमाडौं । निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना भिन्नै टोली अनुसन्धानमा जुटेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर, महानगरीय आयुक्तको कार्यालय र डिआईजी गणेश केसीको कमाण्डमा गठित छानबिन समितीले आ–आफ्नै तरीकाबाट अनुसन्धान सुरू गरेका छन् ।

आधा दर्जन प्रहरी युनिट सक्रिय भएपनि घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै प्रहरी युनिटले सकेको छैन । गत साता राजधानीको मुटु मानिने नयाँ बानेश्वरमा आपराधिक समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो । कोखामा तीन गोली लागेका गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको थियो ।

गौचनलाई काठमाडौंका कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । एक महिना अगाडी गौचनको डिजाईनमा दश अरबको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए । उक्त पैसा ठेक्का दिलाउने निकाय देखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । 

भागबण्डामा नपरेका एक कथित ठेकदारले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिना देखि गौचनलाई तीन करोडको अफर गरेका थिए । तर गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरीएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् । 

लोप्साङ विगत दश बर्ष देखि बस्नेतको विश्वास पात्र हुन् । लोप्साङले घटनाको जिम्मा मात्र होईन अन्य ठेकदार, होटल मालिक र अन्य क्षेत्रमा कार्यारत प्रतिष्ठित व्यापारीलाई समेत ‘अब तेरो पालो’ भन्दै पैसाको अफर गर्न थालेका छन् । यसका पर्दा पछाडीको खेलाडी भनेको मनोज पुन र बस्नेत हुन् । गौचनको हत्या पश्चात दुई दर्जन भन्दा बढी व्यापारीसँग यो समूहले पैसा उठाएको स्रोतको दाबी छ । 

बुटवलमा आधा दर्जन हत्या आरोपमा फरार रहेका मनोज पुन र प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि फरार भई भारत भासिएका बस्नेतको समूह एक भई थप आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको बिषय बनेको छ । 

यसअघि काभ्रेली समूहका दावा लामा माथिको गोली प्रहारको घटनामा पनि लोप्साङ राईले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ । मनोज पुनको समूहले यस अघि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । 

दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैंटे) प्रहरी ईन्काउन्टरमा मारिएपछि राजधानीका मै हुँ भन्ने गुण्डा नाईके र तिनका सदस्य गुमनाम छन् । राजधानीका चल्तीका डन अहिले ज्यान जोगाउन बिभिन्न राजनीतिक दलमा सक्रिय कार्यकर्ता तथा नेता हुन पुगेका छन् । 

तर घैटे ईन्काउन्टर पश्चात प्रहरीलाई सुट गरी घैटे ईन्काउन्टरको बदला लिने योजना चुहावट भएपछि फरार भई भारत पुगेका बस्नेतले अहिले राजधानीलाई अण्डरवल्ड डनको शैलीमा गुण्डागर्दी सुरू गरेका छन् । योजनाबद्ध तरीकाबाट गुण्डा दावा लामा र व्यवसायी शरद गौचन माथि गोली प्रहार गर्न सफल बस्नेतको तेस्रो टार्गेट भनेको घैंटे ईन्कान्उटर अप्रेशनमा सामेल प्रहरी अधिकृत रहेको उनी निकट स्रोत बताउँछ । स्रोत भन्छ, ‘तत्काल पुन र बस्नेतको सामराज्य भत्काउन प्रहरी सफल नभए छिर्टै अर्को घटना हुन सक्छ ।’

Post a Comment

0 Comments