Subscribe Us

केसीको समर्थन कि प्रधानन्यायाधीशको विरोध ?

काठमाडौं । अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसीको समर्थनमा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शनमा गरिएको छ । प्रदर्शनकारीहरुले सर्वोच्च अदालतका विरुद्ध चर्का नारा लगाउनुका साथै गोविन्द केसी मलाई पनि पक्राउ गर, जिकेसीलाई कष्ट, माफियालाई अनिष्ट, सर्वोच्चलाई सम्मान, भ्रष्टलाई दण्ड लगायतका प्लेकार्ड बोकेर विहान ८ बजेदेखि नै माइतीघर मण्डलामा प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।
प्रदर्शनमा नयाँ शक्ति नेपालको संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र साझा विवेकशिल पार्टीका रविन्द्र मिश्र लगायतले पनि विरोधको समर्थन गरेका छन् । त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् । डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को अगुवाइमा आज बिहान ८ बजेदेखि प्रदर्शन भएको हो । डा केसीलाई सोमबार राति ८ बजे अनसनस्थलबाट नै प्रहरी पक्राउ गरेको थियो । केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गर्दै पराजुलीको राजीनामा समेत माग गरेका छन् । 
चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनशन बसेका डा गोविन्द केसी सोमबार दिउँसो ३ बजेदेखि फेरि अनशनमा बसेका हुन् । सर्वोच्च अदालतले बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई पुनर्बहालीको आदेश दिएपछि डा केसी पुनः अनशनमा बस्ने निर्णयमा पुगेका थिए । डा केसीले ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरूविरूद्ध लड्नुको अब विकल्प छैन’ भनेका छन् । 
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा शशी शर्मालाई डिनबाट बर्खास्त गरेका थिए । त्यसविरूद्ध डा शर्मा अदालत गएका थिए । आइतबार प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्वहाली गर्न आदेश दिएको थियो । पत्रकार सम्मेलन गरेर केसीले पराजुली माफिया भएको आरोप लगाएका थिए । 

Post a Comment

0 Comments